+
+
Shares

भारतसँग आर्थिक सहकार्यको ठूलो सम्भावना छ : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतसँग आर्थिक सहकार्य विस्तारको ठूलो सम्भावना रहेको उल्लेख गर्दै प्रमुख अन्तर्राष्ट्रिय पारवहन तथा ढुवानी मार्गको विकासमा नयाँदिल्लीसँग साझेदारी गर्न रुस इच्छुक रहेको बताएका छन्।  

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १८:२६

१६ असोज, मस्को (रासस/एएनआई) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतसँग आर्थिक सहकार्य विस्तारको ठूलो सम्भावना रहेको उल्लेख गर्दै प्रमुख अन्तर्राष्ट्रिय पारवहन तथा ढुवानी मार्गको विकासमा नयाँदिल्लीसँग साझेदारी गर्न रुस इच्छुक रहेको बताएका छन्।

विश्वव्यापी यातायात मार्गको विकाससम्बन्धी कार्यक्रममा बिहीबार बोल्दै उनले भारतसँगको सहकार्य रसद व्यवस्थापनमा मात्र सीमित नरहेको उल्लेख गरे । चीन र दक्षिण कोरियाका व्यावसायिक जहाजसँग सहकार्य अघि बढाइसकेको जानकारी दिँदै उनले यस्ता अन्तर्राष्ट्रिय करिडोर संयुक्त रूपमा प्रयोग गर्न भारतसँग पनि छलफल भइरहेको बताए।

अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात करिडोर (आइएनएसटीसी) को विकासमा रुस ऋण स्रोत उपलब्ध गराउन तयार रहेको तर इरानले आफ्नोतर्फको काम पूरा गर्नुपर्ने उनले बताए। उक्त करिडोरको केही हिस्सा अजरबैजान हुँदै जाने भएकाले राष्ट्रपति इल्हाम अलियेभसँग सम्पर्क भइरहेको र अजरबैजान सहमत रहेको पनि उनले स्पष्ट पारे।

यसैबीच पुटिनले युक्रेन द्वन्द्व अन्त्यका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरिरहेको प्रयासको प्रशंसा गरेका छन्।  मोदीले पारस्परिक रूपमा स्वीकार्य र शान्तिपूर्ण समाधान खोज्न निरन्तर जोड दिइरहेको उल्लेख गर्दै उनले द्वन्द्व सकेसम्म चाँडो अन्त्य गर्ने भारतीय प्रधानमन्त्रीको इच्छाका लागि आफूहरू आभारी रहेको बताए।

यसअघि अगस्टको सुरुमा रुसी उपप्रधानमन्त्री मारात खुसनुलिनले बोस्फोरस र हर्मुज जलघाँटीसँग सम्बन्धित पारवहन जोखिम कम गर्न हिन्द महासागरमा प्रत्यक्ष रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्नुपर्ने बताएका थिए। उनले तुर्कमेनिस्तान, इरान, अफगानिस्तान र पाकिस्तान हुँदै भारतसम्म पुग्ने वैकल्पिक मार्गको प्रस्ताव गरेका थिए।

अमेरिका, इजरायल र इरानबीचको सशस्त्र वैमनस्यपछि हर्मुज जलघाँटीमा बढेको समुद्री अवरोधका कारण वैकल्पिक व्यापार मार्गको चर्चा बढेको हो । उक्त जलघाँटीबाट विश्वव्यापी तेल व्यापारको करिब २५ प्रतिशत तथा एलएनजी ढुवानीको करिब २० प्रतिशत हिस्सा हुने भएकाले यसको पारवहन व्यवस्था अन्तर्राष्ट्रिय व्यापारका लागि महत्त्वपूर्ण मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?