+
+
Shares

जनमतले आज नयाँ कार्यसमितिको टुंगो लगाउँदै

२६ पदाधिकारीसहित ९९ जना उम्मेदवारका लागि भएको निर्वाचनको मतगणना शनिबार राति ९ बजेदेखि सुरु भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते ७:००

१८ असोज, वीरगञ्ज । जनमत पार्टीको नयाँ केन्द्रीय कार्यसमिति आज निश्चित हुने भएको छ । पर्साको वीरगञ्जमा शनिबारदेखि सुरु भएको पार्टीको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानमार्फत् नयाँ कार्यसमिति चयन हुन लागेको हो ।

२६ पदाधिकारीसहित ९९ जना उम्मेदवारका लागि मतदान भएको थियो । पार्टी पर्साका अध्यक्ष तथा महाधिवेशन व्यवस्थापन समितिका संयोजक ओमप्रकाश सर्राफका अनुसार शनिबार राति ९ बजेदेखि मतगणना सुरु भएको थियो ।

अध्यक्ष पदमा डा. सिके राउतको मात्र उम्मेदवारी परेको छ । त्यसैले उनी निर्विरोध निर्वाचित हुने निश्चित भए पनि पार्टीको विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने प्रावधान भएकाले राउतको पक्षमा पनि मतदान भएको छ ।

त्यस्तै, सात उपाध्यक्ष पदका लागि ११ जना, महासचिवमा तीन जना, उपमहासचिवमा दुई जना र सात सचिव पदका लागि नौ जनाबीच प्रतिस्पर्धा भएको छ ।

कार्यकारिणी सदस्यका लागि ७३ जनाले उम्मेदवारी दिएका छन् ।

महाधिवेशनमा कुल १ हजार १५५ प्रतिनिधिले मतदानमा भाग लिएका थिए ।

महाधिवेशनको उदघाटन समारोह पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफको अध्यक्षतामा भएको थियो । शहीद परिवारका तर्फबाट राधा यादवलाई प्रमुख अतिथि बनाइएको थियो ।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुली, नेपाली कम्युनिस्ट पार्टीका मातृकाप्रसाद यादव, उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ, नेपाल समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी तथा पत्रकार ऋषि धमलालगायतले शुभकामना मन्तव्य दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?