+
+
Shares

कांग्रेसकी पूर्वसचेतक ईश्वरीदेवीले सहमहामन्त्रीमा उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १२:३८

१८ असोज, काठमाडौं। नेपाली कांग्रेस संसदीय दलकी पूर्वसचेतक तथा राज्य व्यवस्था तथा सुशासन समितिकी पूर्वसभापति ईश्वरीदेवी न्यौपानेले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।

नेपाली कांग्रेसको संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन तथा संसदीय राजनीतिमा लामो समयदेखि सक्रिय आएकीकी न्यौपानेले पार्टीलाई थप सशक्त, लोकप्रिय र जनतासँग जोडिएको संगठनका रूपमा विकास गर्ने प्रतिबद्धतासहित सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यका रूपमा तीन पटक जिम्मेवारी सम्हालिसकेकी न्यौपाने पार्टीभित्रको संगठनात्मक जिम्मेवारीसँगै संसदीय भूमिकामा समेत महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएकी नेतृ हुन् । उम्मेदवारी घोषणा गर्दै न्यौपानेले नेपाली कांग्रेसलाई अझ लोकप्रिय, सुदृढ र जनताको भरोसाको पार्टीका रूपमा स्थापित गर्न आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएकी छन् ।

‘नेपाली कांग्रेसलाई लोकप्रिय पार्टी निर्माण गर्ने, संगठनलाई अझ मजबुत बनाउने र देशकै नम्बर एक पार्टीका रूपमा स्थापित गर्ने अभियानमा मेरो महत्वपूर्ण भूमिका रहनेछ, त्यसकारण मलाई मतदान गरेर यो अवसर प्रदान गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूमा हार्दिक अपिल गर्दछु’, न्यौपानेले भनिन् ।

पार्टीको संगठनलाई गाउँदेखि केन्द्रसम्म थप व्यवस्थित र प्रभावकारी बनाउँदै नयाँ पुस्तालाई कांग्रेसको मूलधारमा जोड्नुपर्ने आवश्यकता रहेको न्यौपानेले बताइन् । पार्टीभित्रको एकता, संगठनको सुदृढीकरण, कार्यकर्ताको सम्मान तथा जनतासँगको सम्बन्धलाई थप बलियो बनाउँदै कांग्रेसलाई आगामी दिनमा थप प्रभावकारी राजनीतिक शक्तिका रूपमा स्थापित गर्न आफ्नो उम्मेदवारी केन्द्रित रहेको उनको भनाइ छ ।

लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय न्यौपानेको उम्मेदवारीलाई १५औं महाधिवेशनमा महिला नेतृत्वको सशक्त प्रतिनिधित्वका रूपमा हेरिएको छ । पार्टीको केन्द्रीय नेतृत्वमा महिलाको सहभागिता र भूमिकालाई थप प्रभावकारी बनाउने विषयलाई पनि उनले प्राथमिकतामा राखेकी छन् ।

आइतबारदेखि सुरू महाधिवेशनमा सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्दै न्यौपानेले आफ्नो राजनीतिक अनुभव, संगठन निर्माणमा हासिल गरेको अनुभव र पार्टीप्रतिको निरन्तर योगदानलाई आगामी कार्यकालमा अझ प्रभावकारी रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?