+
+
Shares

कांग्रेस १५ औं महाधिवेशन : बन्दैछ पुस्तान्तरणको मञ्च

१५औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा त्यसको प्रत्यक्ष प्रभाव देखिएको छ । विगतमा नेतृत्वको वरिपरि सीमित हुने गरेको युवा सहभागिता यसपटक प्रतिनिधि तह हुँदै नेतृत्वको दाबेदारीसम्म पुगेको छ ।

केशव सावद केशव सावद
२०८३ असोज १८ गते २२:०९

१८ असोज, काठमाडौं । कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ पछिल्लो समय नेपाली राजनीतिमा पुस्तान्तरण र नेतृत्व परिवर्तनको बहसलाई तीव्र भइरहेका बेला सुरु भएको महाधिवेशनलाई पुस्तान्तरणको मञ्चका रूपमा हेरिएको छ ।

काठमाडौंको खुलामञ्चमा आइतबार उद्घाटन भएको १५औं महाधिवेशन विगतका महाधिवेशनभन्दा फरक देखिएको छ । विशेषतः युवा पुस्ताको उल्लेख्य उपस्थितिले यसपटकको महाधिवेशनलाई कांग्रेसको नेतृत्व संरचनामा पुस्तान्तरणको फड्को मार्ने महाधिवेशनका रूपमा लिइएको छ ।

कांग्रेसले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका क्रममा प्रतिनिधि छनोट गर्दा नै महाधिवेशनबाट युवा पुस्ता केन्द्रीय नेतृत्वमा पुर्‍याउने आधार तयार गरेको थियो । कांग्रेसले विशेष महाधिवेशनमार्फत विधान संशोधन गर्दै वडादेखि केन्द्रसम्मका पार्टी संरचनामा युवा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको थियो ।

१५औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा त्यसको प्रत्यक्ष प्रभाव देखिएको छ । विगतमा नेतृत्वको वरिपरि सीमित हुने गरेको युवा सहभागिता यसपटक प्रतिनिधि तह हुँदै नेतृत्वको दाबेदारीसम्म पुगेको छ ।

कांग्रेसले ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गरेका कारण यसपल्ट देशभरबाट महाधिवेशन प्रतिनिधि बनेर आउने युवाको संख्या बढेको छ ।

गत भदौमा भएको जेनजी आन्दोलनले उठाएको पुस्तान्तरणको प्रश्नको जवाफ कांग्रेसले महाधिवेशन प्रतिनिधिहरूको अनुहारमार्फत देखाएको छ ।

विगतमा लामो समयदेखि पार्टी राजनीतिमा रहेका नेताहरूको वर्चस्व रहने महाधिवेशन प्रतिनिधिको पंक्तिमा यसपटक विद्यार्थी राजनीति, सामाजिक क्षेत्र र जेनजी पुस्ताबाट आएका प्रतिनिधिहरू देखिएका छन् ।

कांग्रेसले प्रत्येक प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट श्रमिक, पेशागत क्षेत्र वा विषय विज्ञबाट दुई जना र ३५ वर्षमुनिका युवाबाट एक महिलासहित तीन जना अनिवार्य महाधिवेशन प्रतिनिधि चयन गर्नुपर्ने व्यवस्था गरेको थियो ।

यसअघि कांग्रेसको विधानमा यस्तो व्यवस्था थिएन । जसका कारण महाधिवेशनहरूमा युवा पुस्ताको प्रतिनिधि सीमित हुने गर्दथ्यो । त्यो अवस्थालाई विशेष महाधिवेशनले खुलाएको पुस्तान्तरणको नतिजाले यसपालि विस्थापित गरिदिएको छ ।

लामो राजनीतिक इतिहास र पुरानो पुस्ताका नेताहरूको प्रभाव रहेको कांग्रेसका लागि १५औं महाधिवेशन नेतृत्व चयनको नियमित प्रक्रियामात्र नभएर नयाँ पुस्ताको अपेक्षालाई पार्टीमा समेट्ने अवसर बनेको छ ।

उपसभापति विश्वप्रकाश शर्माले पनि १५ औं महाधिवेशनलाई पार्टीको नयाँ यात्राको सुरुवात भएको बताएका छन् ।

महाधिवेशनको उद्घाटन सत्र सम्बोधनका क्रममा उनले महाधिवेशनपछि कांग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि आउने बताए ।

विशेष महाधिवेशनपछि सभापति गगन थापाको नेतृत्वमा कांग्रेस नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै उनले महाधिवेशनमा लोकतान्त्रिक आन्दोलनका अग्रजदेखि सहिद परिवार र जेनेजी पुस्तासम्मको सहभागिता रहेको बताए ।

करिब ३५ हजार प्रतिनिधिमध्ये ठूलो संख्या युवा रहेको भन्दै उपसभापति शर्माले यसलाई कांग्रेसको नयाँ ऊर्जाका रूपमा व्याख्या गरे । ‘यो यात्राको सुरुवात हो । महाधिवेशनपछि बलियो कांग्रेससहित अगाडि आउने छौं,’ उनले भने ।

ययुवा महाधिवेशन प्रतिनिधिहरूले पनि महाधिवेशनबाट सबल, सक्षम र जनताले चाहेको जस्तो कांग्रेस बन्ने अपेक्षा गरेका छन् । ‘अबको महाधिवेशनले हामीले आश गरेअनुसार सबल, सक्षम र जनताले चाहेको जस्तो कांग्रेस, अग्रज पुस्तादेखि जनेजी पुस्तालाई समेट्ने कांग्रेस बन्ने आशा छ,’ झापाकी महाधिवेशन प्रतिनिधि रुबी सिटौलाले भनिन् ।

अर्की युवा महाधिवेशन प्रतिनिधि एलिजा ढकालले १५ औं महाधिवेशनलाई युवाले ‘अनरसिप’ लिन सक्ने महाधिवेशनका रुपमा व्याख्या गरिन् ।

‘अघिल्लो पटक फलालो दाइ, फलानो दिदी भनेर आउँथ्यौं । तर, अहिले यो मेरो पार्टी हो, म यो पार्टीको कार्यकर्ता हो र यो पार्टी यस्तो हुनुपर्छ भनेर म जिम्मा लिन सक्छु भन्ने लागेको हो,’ उनले भनिन्, ‘युवाले अनरसिप लिन सक्ने नेपाली कांग्रेसको महाधिवेशन हुँदैछ ।’

महाधिवेशन प्रतिनिधि रहेका ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन महाधिवेशनपछि कांग्रेस मूलधारमा फर्किने बताउँछन् ।

‘१५औं महाधिवेशनको संघारसम्म आइपुग्दा अलिकति द्विधाले ठाउँ जमाएको छ । तर, महाधिवेशन सफल रुपले सम्पन्न हुन्छ,’ उनले भने, ‘त्यसपछि यो मेन स्ट्रिममा आइपुग्छ ।’

महाधिवेशनपछि कांग्रेस मूलधारमा आउँदा पार्टीभित्र अहिले देखिएको विवाद पनि मिल्ने मेयर महर्जनको अपेक्षा छ । ‘मेन स्ट्रिममा आउँदै गर्दा अहिले दाजुभाइको हो कि होइन कि जस्तो अलिकति झगडा छ, त्यो पनि मिल्छ,’ उनले भने ।

भक्तपुरका युवा महाधिवेशन प्रतिनिधि मोहन गजुरेलका अनुसार यो महाधिवेशनले पुस्तान्तरणका लागि निकै ठूलो ढोका खोलेको छ । ‘विधानमै नयाँ पुस्तका लागि स्पेस दिएको छ । यो कांग्रेस रुपान्तरणढका लागि निकै ठूलो टर्निङ प्वाइन्ट हो’ उनले भने ।

सिन्धुलीका महाधिवेशन प्रतिनिधि मुकेश घिमिरे पनि महाधिवेशनबाट उत्साही देखिन्छन् । उनी महाधिवेशनले रुपान्तरणको मुद्दालाई निरन्तरता दिनेमा विशवस्त सुनिन्छन् ।

‘महाधिवशेनस्थल हेर्दै गर्दा उत्साहले भरिएको छ । नेपाली कांग्रेस जुन रुपान्तरणको मुद्दा बोकेर १५ औं महाधिवेशनसम्म आइपुगेको छ । यसले त्यो मुद्दालाई निरन्तरता दिने छ,’ उनले भने, ‘आफूभित्र पनि र नेपालको राष्ट्रिय राजनीतिमा पनि सकारात्मक रुपान्तरणका लागि ठूलो पहल गर्ने छ भन्ने मेरो विश्वास छ ।’

सोमबारदेखि बन्दसत्र

कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सोमबार बिहानदेखि बन्दसत्र सुरु हुने भएको छ । केन्द्रीय सदस्य रमेश धमलाले बिहान सवा ९ बजे बन्दसत्र सुरु हुने जानकारी दिएका छन् ।

उनले बन्दसत्रमा सभापति थापाको प्रतिवेदन पेश गर्ने कार्यतालिका छ । प्रतिवेदनपछि बनदसत्रमा विधान संशोधनका लागि छलफल हुने जानकारी दिए । ‘बिहान सवा ९ बजे बन्दसत्र सुरु हुने छ । सभापतिज्यूको प्रतिवेदन पेश हुनेछ,’ उनले भने, ‘त्यसपछि विधान पेश गरेर छलफल गर्ने छौं ।’

मनोयन पनि सोमबार नै

कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सोमबार नै केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । उद्घाटन समारोहको अन्तिममा नेता धमलाले दिउँसो १ बजेबाट ६ बजेसम्म मनोयन दर्ताका लागि समय तय गरिएको बताए ।

यसअघि केन्द्रीय निर्वाचन समितिले १६ असोजमा विज्ञप्ति जारी गरेर आकांक्षीहरूलाई सोमबार २ बजेदेखि ६ बजेसम्म राष्ट्रिय सभा गृहमा मनोनयन पत्र दाखिला गर्न भनेको थियो । निर्वाचन समितिका सदस्य सचिव राजु कुटावलले निर्वाचन कार्यक्रमपछि तय गरिने बताएका छन् ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?