+
+
Shares

व्यवसायबाट राजनीतिमा होमिएका किरण कांग्रेस केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

किरण त्यतिबेला राजनीतिमा अलि बढी आकर्षित भए, जतिबेला उनका बाबुले राजनीति गर्न सक्न छाडे । किरण अहिले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते ५:२०

२० असोज, पोखरा । पोखराका सूर्यबहादुर केसी पुराना व्यवसायी थिए । जसको नेतृत्वमा दक्षिण एसियामै पहिलो पटक चाउचाउ उत्पादन भएको थियो, रारा चाउचाउ । सूर्यबहादुरले निर्माण व्यवसायदेखि जलविद्युत आयोजनादेखि विभिन्न उत्पादनको क्षेत्रमा लगानीमात्रै गरेनन्, उनी पोखराको प्रधानपञ्च हुँदै संविधान सभा सदस्यसम्म भए ।

जब सूर्यबहादुर राजनीतिमा थिए, उनका छोरा किरण केसी भने पढाइमा अब्बल हुँदै व्यवसायलाई नै हाँकिरहेका थिए । सूर्यबहादुरका तीन छोरा प्रकाश, किरण र रोशनले बाबुले थालेको फरक फरक व्यावसायिक क्षेत्रको नेतृत्व गरे ।

किरणले व्यवस्थापन तथा व्यवसायमा प्राज्ञिक शिक्षा हासिल गरे । लण्डनको बोस्टन कलेजबाट ब्याचलर इन बिजनेस एड्मिनिस्ट्रेशन र भारतको गुजरातस्थित क्यालोक्स टीचर्स युनिभर्सिटीबाट मास्टर इन बिजनेस एड्मिनिस्ट्रेशन पूरा गरेका किरण अहिले व्यावसायिक नेतृत्व लिँदै राजनीतिमा पनि होमिएका छन् । किरण त्यतिबेला राजनीतिमा अलि बढी आकर्षित भए, जतिबेला उनका बाबुले राजनीति गर्न सक्न छाडे ।

२०७७ सालमा बाबु सूर्यबहादुरको निधन भएपछि किरणले अठोट गरे, व्यवसायसँगै म पनि अब राजनीतिमा होमिन्छु । उच्च शिक्षा हाँसिल गरेर व्यावसायिक नेतृत्व गरिरहेका केसीलाई किरणलाई २०७४ सालको स्थानीय तह र त्यसपछिका चुनावमा पनि राजनीतिमा आउन धेरैले आग्रह गरेका थिए ।

गत स्थानीय तहदेखि जेनजी आन्दोलनपछि भएको प्रतिनिधि सभाको चुनावमा पनि उनी सिफारिस भएका थिए । धेरैले केसीलाई बलियो उम्मेदवारका रुपमा हेरेका थिए तर सरल र मिजासिलो स्वभावका किरणले टिकटका लागि मरिहत्ते गरेनन्, न त आफू उम्मेदवार हुनका लागि धेरै जोडबल नै गरे ।

राप्रपाबाट पोखराको प्रधानपञ्च, संविधान सभा सदस्य हुँदै २०७४ सालमा कांग्रेस प्रवेश गरेका सूर्यबहादुरको विरासत पछ्याउँदै किरण पनि कांग्रेसकै राजनीतिमा होमिएका थिए । पुरातन शक्तिसँग नजिक रहेका सूर्यबहादुरका छोरा किरण जेनजी आन्दोलनपछि गगन थापा नेतृत्वले गरेको विशेष महाधिवेशनको पक्षमा उभिए । उनी कांग्रेसभित्र रुपान्तरण र परिवर्तन हुनुपर्छ भन्ने चाहन्थे र त्यही पक्षमा उभिए ।

‘देशमा नवयुवाहरुले आन्दोलन गरे, परिवर्तनको माग गरे । पुराना पुस्ताको अनुभवलेमात्रै पुग्दैन भनेर प्रतिनिधित्व खोजे । पार्टी रुपान्तरणको एजेण्ठा उठाए । देशमा जेनजी आन्दोलन पनि भयो र त्यसले देशलाई नै एउटा दिशामा मोडिदियो,’ किरणले भने, ‘अब झन् निष्ठाको राजनीतिको खाँचो छ । जनताप्रति उत्तरदायी र जिम्मेवार राजनीतिको खाँचो छ । त्यही खाँचो इमान्दारिता पूर्वक पूरा गर्न म पनि राजनीतिमा होमिएँ ।’

१५ औं महाधिवेशनमा केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

किरण लोकप्रिय मतका साथ कास्कीबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भए । उनले एकै पटक ठूलो पद र नेतृत्व खोजेनन् । प्रतिनिधिबाट लोकप्रिय मतले केन्द्रीय सदस्य हुँदै अबको राजनीतिमा आफ्नो हिस्सेदारी पनि बढाउने योजनासहित किरण १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिएका छन् ।

राजनीतिक यात्राको पछाडि मुख्यतया देशको दीर्घकालीन समृद्धि, उद्योग–व्यवसायमैत्री वातावरणको निर्माण र युवा पुस्ताका लागि स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने भावना प्रमुख रूपमा जोडेको केसी बताउँछन् ।

केसीले लामो समयसम्म उद्यम, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय रहँदा समाजका वास्तविक समस्या, नागरिकका पीर–मर्का र राज्यका नीतिगत कमजोरीहरूलाई नजिकबाट नियाले । ‘व्यवसायले वस्तु तथा सेवा मात्र उत्पादन गर्दैन, यसले रोजगारी सिर्जना गर्छ, नागरिकको आयस्तर बढाउँछ, राज्यलाई कर राजस्व उपलब्ध गराउँछ र समग्र अर्थतन्त्रलाई चलायमान बनाउँछ,’ किरण भन्छन्, ‘लगानीको वातावरण र सरकारी नीतिगत समस्याहरूलाई केवल बाहिर बसेर आलोचना गर्नुभन्दा नीतिगत तहमा प्रत्यक्ष सहभागी भएर समाधान गर्नुपर्छ भन्ने सोचका साथ नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएको हुँ ।’

केसी ग्रुप अफ कम्पनिजको निर्देशकको रूपमा समग्र व्यावसायिक समूहलाई एकै छाता मुनि ल्याएर केसीले व्यवस्थापन गरिरहेका छन् । वित्तीय क्षेत्रतर्फ सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडमा निर्देशक रहेका किरण माछापुच्छ्रे बैंक लिमिटेड र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडमा प्रवर्तक छन् ।

निर्माण तथा हस्पिटालिटी क्षेत्रमा नेपालको ‘क’ वर्गको निर्माण कम्पनीको रूपमा केसी कन्स्ट्रक्सन फर्म  र केसी कन्स्ट्रक्सन प्रालि तथा जयभद्रकाली डेभलपर्स कम्पनी प्रालिमा निर्देशक रहेका केसीले अहिले जलविद्युत क्षेत्रमा नेतृत्व गरिरहेका छन् ।

सूर्योत्थान लक्जरियस अपार्टमेन्ट, पोखरा होम्स प्रालि र जयभद्रकाली होटेलियर्स प्रालिमा पनि उनी निर्देशक छन् । शिक्षा तथा फिटनेस क्षेत्रतर्फ पोखराको काजीपोखरीस्थित कालिका मल्टिपल क्याम्पसको अध्यक्ष र पोखरा स्कुल अफ टुरिजम एन्ड हस्पिटालिटी म्यानेजमेन्टसँग पनि उनी जोडिएका छन् ।

जलविद्युत विकासको क्षेत्रमा किरण केसी र केसी ग्रुपको लगानी र नेतृत्व अग्रपंक्तिमा छ । केसी ग्रुपले अहिले जलविद्युतको क्षेत्रमा छलाङ नै मारिरहेको छ ।

सिक्लस हाइड्रोपावर लिमिटेड (१३ मेगावाट) मा २०७२ देखि निर्देशक र २०८२ देखि अध्यक्षको रूपमा कार्यरत किरणले एम्पिक एनर्जी प्रालि (१३२ मेगावाट), अपर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रालि (१०२ मेगावाट) र सुभानकित हाइड्रोपावर प्रालि (८ मेगावाट) मा अहिले नेतृत्व गरिरहेका छन् । साना ठूला १० वटाभन्दा बढी जलविद्युत आयोजनाको नेतृत्व अहिले किरणले गरिरहेका छन् ।

व्यावसायिक क्षेत्रमा सफलताबाट पछाडि हट्नु नपरेका केसीले अब राजनीतिक परीक्षामा उत्रिएको बताउँछन् । ‘हामी व्यवसाय गर्नेहरु टिममा विश्वास गर्छौं, समूहको जोडबललाई प्रोत्साहन गर्छौं र व्यावसायिकतामा हातेमालो गर्छौं,’ किरणले भने, ‘व्यवसायको अनुभव, अहिलेको राजनीतिक परिवर्तनलाई आत्मसात र पारिवारिक विरासतलाई शिरोपर गरेर अब राजनीतिमा होमिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?