+
+
Shares
बहस :

समाजवाद छाड्दै गरेको कांग्रेस, समाजवादलाई गिज्याइरहेका विष्णु सापकोटा

रास्वपाको महाधिवेशन सकिएको, अनि कांग्रेसको नियमित महाधिवेशन जारी रहेकै बेला समाजवादको बहस फेरि एकपल्ट सतहमा छ । झलक सुवेदीको यो लेखले किन नेपालका सन्दर्भमा यो अझै प्रासंगिक छ भन्नेबारे लामो बहस गरेको छ:

झलक सुवेदी झलक सुवेदी
२०८३ असोज २० गते ११:४६

१)

केही दिन पहिले मित्र विष्णु सापकोटाले न्युयोर्कबाट लेखेको कान्तिपुरमा प्रकाशित आफ्नो लेख मार्फत यताका समाजवादीहरूलाई हियाएर ललकारेका छन् । दाहिने हातको चोर र बूढीऔंला तन्काएर समाजवादीहरूलाई लोपारेका छन् । उताबाट यता हेरेको चित्र भन्दै विचारधाराहरूमाथि उनले गरेको आक्रमणले नेपाली समाजको वैचारिक बहस र त्यसले लिनुपर्ने बाटोलाई भ्रष्टीकरण गर्ने प्रयास गरेको छ ।

सापकोटाको लेखाइले समाजवाद र समाजवादीहरूमाथि आक्रमण मात्र गरेको छैन बरु प्रचलित विचारहरूलाई निषेध गर्दै प्रकारान्तरले निहिलिष्ट फासिजमको पक्षधरता बोकेको छ । आलेखले नेपालका पुराना राजनीतिक दल र त्यसको नेतृत्वको आलोचना र बदख्वाईं गर्ने निहुँमा नेपाली समाज रूपान्तरणका पछिल्ला असी, सय वर्षका सम्पूर्ण प्रयासहरूलाई समेत निषेध गर्ने प्रयास गरेको छ । यी जे–जति परिवर्तन भएका छन् तिनको वैचारिक जग र त्यसका लागि भएका आम सामाजिक परिचालनको ऐतिहासिकतालाई नै खिल्ली उडाउने प्रयास गरेको छ ।

 प्रश्न कसको समाजवाद ठीक र बेठीक, पूँजीवाद र समाजवाद कुन ठीक भन्ने होइन बरु विचारधारात्मक बहसलाई पपुलिष्ट अल्पदृष्टिको छायाँबाट कसरी बाहिर निकाल्ने भन्ने पनि हो । सापकोटाको आलेखमा व्यक्त विचार काठमाडौंमा जारी नेपाली कांग्रेसको महाधिवेशनसँग पनि सरोकार राख्छ । यो आलेखमा विष्णु सापकोटाको ‘अघोरी पूँजीवाद’ किन गलत छ र मार्क्सवाद या समाजवादका सन्दर्भहरू कसरी सान्दर्भिक छन् भन्ने विषय उठाइने छ ।

२)

यो चर्चा वाल स्ट्रिटको छेउमा बसेर पूँजीवादको गीता गाइरहेका विष्णु सापकोटासँगको बहसका लागि लेखिएको हो । पहिला सापकोटाका केही तर्कहरूमा प्रवेश गरौं (हुनत विष्णुजीले आफ्नो लेखबारे बहसमा सामेल हुनसक्ने सानो वृत्तलाई एउटा पूर्वाग्रहपूर्ण ‘साइकी’बाट प्रेरित भन्दै सबै प्रश्नहरू अस्वीकार गरेका छन्) । म विष्णुजीको निरन्तर बहसमा सामेल हुने, आफ्नो मनमा लागेका कुरा निर्धक्क भन्ने शैलीको प्रशंसक हुँ । उनले नेपालमा स्थापना हुँदै गरेको फासीवादी चरित्रको सत्ताका पक्षमा निर्धक्क वैचारिक सहयोग गर्न थालेपछि भने उनका प्रति मेरा पूर्व धारणा परिवर्तन भएका छन् ।

विष्णुजीको जस्तो दर्शनशास्त्र मेरो रुचि र अध्ययनको क्षेत्र होइन । म कुनै पूँजीवादको केन्द्रमा अथवा लन्डन, न्युयोर्क र पेरिस कहिल्यै पुगेको पनि छैन । पेरीफेरीका सीमान्त समाजको उपज हुँ । म अर्थ–राजनीतिको छिपछिपे ज्ञान लिएर समकालीन समाजलाई प्रभावित गर्ने पृष्ठभूमि या त्यसको ऐतिहासिकता बारे चासो राख्छु । मैले अर्थशास्त्रमा एमए उत्तीर्ण गरेको पनि त्यही पोखराको पीएन क्याम्पस हो त्यो पनि रातदिन राजनीति गरेर व्यवस्थापन गरिएको कामचलाउ पढाइबाट । त्यसैले आईबी लिग पुगेका विष्णुजीले मेरो ज्ञान र प्रश्नलाई तैंले के जान्याछस् भन्ने भावमा खारेज गर्नुभयो भने पनि मलाई कुनै दु:खमनाउ हुनेछैन ।

आजको नेपाली समाजको विकास र अविकासका आन्तरिक र बाह्य आयाम छन् र तिनमा मुख्य भूमिका चैं आन्तरिक कारणहरूले खेल्छन् । बाह्य कारणहरू सहायक हुन् तर तिनको सहायकपन कहिलेकाहीं महत्वपूर्ण रहन्छ ।

तैपनि म समाज विश्लेषण पद्धतिको एउटा धारा मार्क्सवादी समाजशास्त्रीय पद्धति पछ्याउँछु । कार्यकारण सम्बन्धहरू विनाको कुनै घटना हुन्छ भन्ने आदर्शवादी कुरामा विश्वास गर्दिनँ ।

आजको नेपाली समाजको विकास र अविकासका आन्तरिक र बाह्य आयाम छन् र तिनमा मुख्य भूमिका चैं आन्तरिक कारणहरूले खेल्छन् । बाह्य कारणहरू सहायक हुन् तर तिनको सहायकपन कहिलेकाहीं महत्वपूर्ण रहन्छ । अन्यथा विश्वमा व्यापारिक पूँजीवादको जमानादेखि विस्तारित भएको उपनिवेशवाद, दासहरूको व्यापार, सयौं कबिलाई जातिको संस्कृति र राष्ट्रियता मात्र होइन जातिकै उन्मूलन भएको ती जातिहरू खराब भएर, तिनले विज्ञान र प्रविधि बेलैमा नसिकेर, पूँजी निर्माण गर्नभन्दा अरूलाई गाली गरेर बस्ने अल्छेहरू भएकाले भएको भन्ने अर्थ लाग्ने विष्णुजीका तर्कहरूप्रति सहमत हुन सक्दिनँ ।

उन्नाइसौं शताब्दीको अन्त्यदेखि बीसौं शताब्दीको आधाउधीसम्मको चरणमा साम्राज्यवादले मच्चाएको राइँदाइँ, विश्वयुद्ध, उपनिवेशका जनताले चलाएको मुक्तियुद्ध, लाखौंको बलिदान र स्वाधीन राष्ट्र निर्माणका लागि भएका प्रयासहरूलाई समेत काम नलाग्ने कुरा भनेर पन्छाउन सक्दिनँ । समाजमा विभेद विद्यमान छ, त्यसले देशभित्रको भिन्न वर्ग तथा समुदाय र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि शक्ति हुने र नहुनेका बीचमा स्रोत, साधन, ज्ञान र अवसर प्राप्तिमा संरचनागत विभेद छ भन्ने मान्छु । नेपाल जस्ता देशको स्वतन्त्र र आत्मनिर्भर औद्योगिकीकरण नहुनुमा विश्व पूँजीवादका केन्द्रहरू जिम्मेवार छन् भन्ने मान्छु । शक्तिशाली अर्थतन्त्र भएका देशले आफ्नो देशको पूँजी निर्यात गर्न र मुनाफा कमाउन साना देशहरूमाथि लादिएको नवउपनिवेशवादी नीतिहरू केही होइनन् भन्न सक्दिनँ ।

समाजको विद्यमान असमानता, सीमित व्यक्तिहरूमा केन्द्रित भएको पूँजी, आम मानिसको गरिबी र अभावपूर्ण जीवनका बारेमा प्रश्न गरेर आर्थिक नीतिहरू बनाउन माग गर्नुलाई ‘आफूले पूँजी निर्माण गर्न नसक्ने कायर र लम्पटहरूले अरूले कमाएर खाएको देखिनसकेर कुरा काटेको’ भन्ने भाष्य मलाई हास्यास्पद लाग्छ । सदियौंदेखिको संरचनात्मक विभेदमा परेको समुदायले आफ्ना देशका सीमाभित्र उपलब्ध साधन तथा स्रोत र राज्यशक्तिमाथिको अधिकारका लागि गरिरहेको दाबी तथा संघर्षलाई न्यायपूर्ण आन्दोलनका रूपमा स्वीकार गर्छु । मैले बुझेको समाजवाद पनि यही हो ।

यसो नगर्दा या विष्णुजीको दाबीलाई स्वीकार गर्दा उत्तर औपनिवेशिक विमर्शलाई खारेज गर्नुपर्ने हुन्छ । यसले विश्वमा बजार र प्राकृतिक स्रोतमाथि नियन्त्रणका लागि थोपरिएका युद्धहरू पूँजीवादका अस्तित्वका अनिवार्य शर्तहरू हुन् भन्ने कुरालाई अस्वीकार गर्र्दै कमजोर देश र जनतामाथि थोपरिएका युद्धलाई समेत जस्टिफाई गर्न पुगिन्छ । इजरायलले गाजामा गरिरहेको नरसंहारलाई न्यायोचित ठहर्‍याइन्छ । विश्व पूँजीवादको केन्द्रमा रहेको वैभव औपनिवेशिक शोषणमा आधारित छ, पूँजीवादको असमान चरित्रको विकासमा आधारित छ तथा केन्द्र र वृत्तका असमान सम्बन्धहरूले निर्धारण गरेका अर्थ–राजनीतिका पारिस्थितिक प्रणालीमा आधारित छ भन्ने कुरालाई अस्वीकार गरेर एउटा मात्र कुरालाई समर्थन गर्न पुगिन्छ : विश्वका सबै स्रोत र साधन सक्नेले नियन्त्रण गर्न पाउनुपर्छ कसैले प्रतिरोध गर्नुहुँदैन । अर्थात् वीर भोग्या वसुन्धरा !

३)

यस्तो विचार बोकेपछि, कुनै पनि देशको सीमाभित्रको समाज होस् या विश्वका साना ठूला देशमा विभाजित समाज, विद्यमान असमानताको कारण अहिले पनि सैन्यबल र विश्वव्यापी सञ्जाल बनाएका निश्चित विश्व व्यवस्थालाई सहयोग गर्ने वित्तीय तथा अन्य रणनीतिक संस्थाहरूको दबाबका भरमा निर्मित भएको हो भन्ने कुरालाई अस्वीकार गरिन सक्छ । काला जातिहरूले गरेको स्वतन्त्रता संघर्ष, दासहरूले गरेका विद्रोह र सबैको आत्मसम्मानको अधिकारका पक्षमा गरिने, सहभागितामूलक राज्यप्रणालीका पक्षमा गरिने आन्दोलन या लैंगिक अधिकार, समान मानवताको पक्षमा दलितहरूले गर्ने आन्दोलन र नागरिक हकका पक्षमा गरिने अधिकारका कुरालाई अस्वीकार गरिन्छ । ‘ज्ञान, विज्ञान र प्रविधिको विकास जसले पहिला गर्न सक्यो उसले अरूलाई जित्यो र कमायो त के बिरायो ? उतिबेला तैंले किन गरिनस्; सक्ने भए गरेर खाँदो होस् अहिले रिस गरेर हुन्छ’ भन्ने धारणालाई प्रोत्साहित गरिन्छ । यस्तो विचार आवरणमा उदारवादी देखिए पनि सारमा फासीवादको पक्षपोषक होे । जसरी मानव समाजले सामूहिक ज्ञानबाट आर्जन गरेको प्रविधिको व्यवस्थापन गरेर ‘सुपर रिच’ बनेको एलन मस्क फासीवादको प्रचारक बनिरहेको छ ।

विश्व पूँजीवादको केन्द्रमा बसेर समाजवादलाई लाञ्छित गरिरहेको विष्णुजीको लेखले यही गरेको छ । लेखले प्रकारान्तरले पूँजीको फासीवादी चरित्रको समर्थन गर्छ । न्यायपूर्ण र समान अस्तित्वको विश्व असम्भव छ भन्ने कुरा फैलाउँदै गरिब र कमजोर देशका नागरिक र सरकारहरूलाई पूँजीवादी विश्व केन्द्रको दासत्व स्वीकार गर्नु हाम्रो नियति हो भन्ने मनोवैज्ञानिक भाव (उनकै भाषामा ‘साइकी’) निर्माण गराउँछ । नेपालका वामपन्थीहरूले भेनेजुएलालाई महान् भनेका होइनन्, भेनेजुएलामा आफूहरू जस्तै विचार बोक्ने शक्तिका प्रति ऐक्यबद्धता जनाएका हुन् र अमेरिका जस्ता शक्तिशाली देशहरूले कमजोर देशको सार्वभौमसत्ता माथि गरिरहेको आक्रमण रोकिनुपर्छ भनेर विरोध गरेका हुन् ।

विष्णुजीको लेखको भावार्थले त नेपालमा भोलि भारत या चीन अथवा अमेरिकाले हस्तक्षेप गरे भने पनि विरोध गर्नुहुन्न भन्ने लाग्छ । विष्णुजी इजरायलले गाजामा गरिरहेको नरसंहारलाई पनि स्वाभाविक रूपमा स्वीकार गर्नुपर्ने भनेर तर्क गर्न खोजे जस्ता पो देखिन्छन् ! उनी स्वयं पूँजीवादको केन्द्रमा (अस्थायी फेनोमेना नै किन नहोस्) गरिबहरूको पक्षमा राज्यले भूमिका खेल्नुपर्छ, जलवायु परिवर्तन मानव जातिको अस्तित्वको लागि खतराको रूपमा आएकोले त्यसका कारणहरू नियन्त्रण गर्नुपर्छ र यसका लागि अत्यधिक प्रकृति दोहनमा आधारित मुनाफामा टिकेको पूँजीवादी उत्पादन प्रणाली नै दोषी हो भन्ने भाष्यलाई स्थापित गर्न चाहिरहेका वामपन्थी विचारहरूलाई ट्रम्पको जस्तै निषेध गर्न चाहन्छन् । आजको विश्व व्यवस्था, यी असमानता र जलवायु विनाशको पुनरुत्पादन गरेर टिकेको छ । यसको विकल्पमा आवाज उठाउनु र त्यस्तो विचार बोकेर राजनीतिक गतिविधि गर्नु विश्व नबुझेको, पूँजीवाद नबुझेको, काम गरेर खानका दु:खले जोगी भएको भनेर लाञ्छित र अपमानित गर्नु कुनै पनि मानेमा प्राज्ञिक बहस हुन सक्दैन ।

४)

किन मानिसहरू समाजवाद भनिरहेका हुन् ? किन पूँजीवादी वैभवको केन्द्रमा र्‍याडिकल वामपन्थी र समाजवादीहरू पनि नवयुवा पुस्तामा लोकप्रिय भएका हुन् ? न्युयोर्क, पेरिस र बर्लिनमा वामपन्थी युवाको राजनीतिक हस्तक्षेप किन शक्तिशाली बन्दै गएको हो ? पुराना दल या विचार या व्यक्ति मात्र होइन जेन जेड पुस्तामा पनि समाजवाद या वामपन्थी विचारधारा किन लोकप्रिय बन्न पुगेको ? यी प्रश्नहरू खारेज गर्न सकिने होइनन् । यिनले सम्बन्धित देशको अर्थ–राजनीतिक प्रणालीमा मात्र होइन विचारधारा र संस्कृतिमा रहेको भिन्न धारातिर संकेत गर्छन् ।

पूँजीवाद लगभग पाँच सय वर्षयता युरोपबाट विकास भएको आर्थिक प्रणाली हो । त्यसयता यसले निरन्तर प्रगति गरिरहेको र टिकिरहेको छ । एउटा सामाजिक प्रणालीका रूपमा यसको यो उमेर हेरेर कुनै लामो र दीर्घजीवी प्रकृतिको भन्न मिल्दैन । यसको विरोधमा जति आन्दोलन र प्रहार भएका छन् त्यति–त्यति यसले आफ्नो रूप पक्षमा केही न केही सुधार गरेर आफूलाई बचाउने प्रयास पनि गरिरहेकै छ । स्क्यान्डेनेभियन समाजवाद बुर्जुवा र उदारवादी नै हो । यसको आधारभूत चरित्र पूँजीवादी हो तर सामाजिक रूपमा सबैलाई बाँच्न दिने जिम्मेवारी राज्यले बहन गरेको अर्थात् सक्नेबाट कर लिएर नसक्नेलाई पनि उठाउँदै लगेको व्यवस्था हो । तर हो चैं पूँजीवाद नै । यो अमेरिकी मोडलको पूँजीवाद भन्दा असल हो । समाजवादी र वामपन्थीहरू अमेरिकालाई भन्दा स्क्यान्डेनेभियन समाजवादी प्रणालीलाई नजिकको मान्छन् ।

यहाँनिर विष्णुजीका तर्कतिर पहिला प्रवेश गरौं । नेपालको समग्र मार्क्सवादी वैचारिक बहस र कम्युनिष्ट राजनीतिको केन्द्रमा पूँजीवाद रहेको साँचो हो । पूँजीवाद विष्णुजीले भनेको जस्तो अरूकै विषय, अरू देशको सन्दर्भ र पादटिप्पणीको विषय कहिल्यै बनाइएको थिएन । पूँजीवाद जहिलेसुकै र जहाँसुकै मुर्दावाद भनिएको पनि छैन । पूँजीवादले आफ्नो क्रान्तिकारी चरित्र गुमाइसकेर साम्राज्यवादमा फेरिएपछि र हाम्रो जस्तो देशको पूँजी मूलत: दलाल पूँजीमा परिवर्तन भएपछि त्यसको त्यही हदसम्म विरोध गरिएको हो । कम्युनिष्टहरूले सत्ता चलाउनु अघिदेखि नै नेपालको पूँजीको चरित्र दलाल पूँजीमा परिवर्तन भइसकेको थियो । कम्युनिष्टहरूको सारा बहसको केन्द्रमा यत्ति थियो : नेपालको पूँजी विश्व पूँजीको सेपमा, खासगरी भारतीय पूँजीको सेपमा परेकाले त्यसलाई मुक्त गरेर राष्ट्रिय पूँजीको विकास नगरी देशको विकास र उत्पादन शक्तिको फुक्का हुने वातावरण बन्दैन । यो काम दलाल पूँजीसँग लसपसमा रहेको उदारवादले गर्न नसक्ने भयो । त्यसैले यो काम कम्युनिष्टले गर्नुपर्छ । यो बहस नै नयाँ जनवादको बहसको केन्द्रमा थियो । पूँजीको विकास राज्यले गर्ने कि निजी क्षेत्रले गर्ने, दुइटाका बीच कति कति अंश लगाउने भन्ने विषयमा भिन्न मतहरू अवश्य थिए । पूँजीवादको विकास गरेर मात्र समाजवादमा जाने आधार तयार हुन्छ भन्ने नै नेपालका कम्युनिष्टहरूले सिकेको विषय थियो ।

यस्तो पूँजीवादको विकास पछि पूँजीपति वर्गले अत्यधिक धन केन्द्रित गर्ने र श्रम गर्नेहरूले जहिले पनि पुगेस् पुगेस्को अवस्था व्यहोर्नुपर्ने नहोस् भन्ने विषय उनीहरूको राजनीतिक कार्यदिशाको मुख्य भाग थियो । ओली, प्रचण्ड या झलनाथले के कस्तो अभ्यास गरे, एमाले वा माओवादी सत्तामा हुँदा लिएको नीतिले राष्ट्रिय पूँजी विकास गर्न कति सहयोग गरेको थियो भन्ने प्रश्न अवश्य पनि बहसको विषय हो ।

राजनीतिलाई सामाजिक प्रजातन्त्रको बाटो लिन रास्वपाले गरेको संकल्प पनि पुरानो राजनीतिको हाँगो समात्न खोजेको सन्देश हो ।

तर नेपालका समाजवादीले पूँजी बुझेका थिएनन् भन्ने विष्णुजीको आक्षेप अज्ञानता या ज्ञानको अत्यधिक दम्भ र निषेधको मनोविज्ञानमा आधारित छ भन्नुपर्ने हुन्छ ।

प्रचण्ड र ओलीका कमजोरीका लागि समाजवादी विचारधारालाई खारेज गर्ने हो भने त विश्वबाट उदारवाद उहिल्यै समाप्त भइसक्नुपर्ने । पछिल्लो समय पनि अमेरिकी राष्ट्रपति ट्रम्प या भारतीय प्रधानमन्त्री मोदीले उदारवादकै नाममा गरिरहेको शासन कति फासिस्ट चरित्रको छ भन्ने कुरा मैले विष्णुजीलाई बताइरहनु नपर्ला ।

नेपालमा गत फागुनको निर्वाचनले पुरानो विचारधारात्मक राजनीतिको अध्यायलाई सधैंका लागि पछाडि छाडेको, कम्युनिष्ट या वामपन्थी राजनीति त सकिएको र कहिल्यै नउठ्ने भएको भन्ने उनको भाष्यलाई उनी आफैंले कांग्रेसको महाधिवेशनका विषयमा गरेको आशाले खण्डित गर्छ । पछिल्लो समय युवा पुस्ताका जागरुक व्यक्तिहरूसँग मेरो जति पनि अन्तरक्रिया भएको छ त्यसले मार्क्सवाद र समाजवादका प्रतिको आकर्षण फेरि जागृत हुँदै गरेको अनुभव गरेको छु । हालैका दिनमा भारतमा जाग्दै गरेको युवा आन्दोलनले पनि विचारधाराहरूलाई नै पुनर्पुष्टि गरिरहेको छ ।

राजनीतिलाई सामाजिक प्रजातन्त्रको बाटो लिन रास्वपाले गरेको संकल्प पनि पुरानो राजनीतिको हाँगो समात्न खोजेको सन्देश हो । कांग्रेसले खुल्लमखुल्ला अफेयर चलाएको नवउदारवादसँग हो समाजवादसँग होइन । बरु नवउदारवादलाई प्रेम गर्ने, ऊसँग बालबच्चा पनि जन्माउने तर घर नभित्र्याउने र घरमा चैं समाजवादी पत्नीसँग जीवन बिताउने गरेको हो । अब उसले घरमा सँगै बसिरहेका समाजवादी पत्नीसँग पारपाचुके गरेर रखैल बनाइएको नवउदारवादसँग सिधा घरजम गर्छ कि अर्को बाटो लिन्छ भन्ने प्रश्नको उत्तर भने यो महाधिवेशनबाट लिनुपर्नेछ । गगन थापाले अघि सारेको सामाजिक प्रजातन्त्रको कार्यक्रमले अझै पनि उदारवादसँगको सम्बन्धमा पर्दा हाल्न मात्र चाहेको जस्तो देखिन्छ । यहाँ पनि गगन थापाहरू समाजवादको परिभाषा शेरबहादुर र गिरिजाप्रसादको अनुहारमा खोज्दा भौंतारिएको जस्तो लाग्छ । उनीहरूले बीपीलाई राम्ररी अध्ययन गरेको भए देउवा, गिरिजाको समाजवादलाई सुधार गर्नमा ध्यान दिन्थे बिदा गर्नमा होइन ।

वञ्चितीकरणमा परेका, अवसरहरू नपाएका र संरचनात्मक थिचोमिचोका कारणले पछि परेकाहरूलाई अरू सरहको हैसियत दिन विद्यमान संरचनामा रहेका जे–जे बाधा छन् तिनलाई हटाउनु सामाजिक न्यायको कुरा हो ।

फागुनको चुनाव र गत वर्ष भदौ २४ को घटनाले पुराना विचारधारालाई होइन पुरानो नेतृत्वलाई, कांग्रेसलाई होइन देउवालाई, एमालेलाई होइन ओलीलाई र नेकपालाई होइन प्रचण्डलाई निषेध गरेको हो । नेपालमा मार्क्सवाद र समाजवाद कसैको दयामायाले, गरिबहरूप्रति उपकार गर्न, कसैको धन खोसेर सदावर्त लगाउन ल्याइएका विचार होइनन् । जसरी विष्णुजीले हार्वर्डमा सिकेको ज्ञान पश्चिमाहरूको मात्र पेवा होइन त्यसरी नै उदारवाद, समाजवाद र मार्क्सवाद पनि पश्चिममा पहिले उत्पत्ति भएकाले उनीहरूको पेवा हुन सक्दैनन् । नेपालको अर्थ–राजनीतिक चरित्र परिवर्तन गर्न कस्तो उपाय अवलम्बन गर्नु ठीक हो भनेर यहाँको राजनीतिक वर्गले चिन्तन गरेर यी विचार अपनाएको हो । स्वाभाविक छ यी विचारधारा वर्ग निरपेक्ष छैनन् । त्यसलाई अँगाल्नेहरूमा पनि वर्ग हितको चेतना छ । विष्णुजीले भनेको जस्तो पहिले पूँजी निर्माण गरेर देखाउ अनि समाजवादी भन्न पाउँछौ भन्नु आम मानिसहरूको मानमर्दन मात्र हो जसले अरूको कारखानामा, अरूको खेतीपातीमा या अरूकै अड्डा कार्यालयमा ज्यालादारी श्रम गर्छन् । उनीहरू समाजवादी हुन नपाउने, समाजवादको पक्षमा बोल्न नपाउने जस्तो धारणा राख्नु तँ अघिल्लो जुनीमा गरिब थिइस् धर्मकर्म गरिनस् र गरिब भएर जन्मिस्; यो जुनीमा मेरो सेवा गर अर्को जुनीमा धनी बनेर आउलास् भन्नु जस्तै विभेदकारी कर्मकाण्डीय ज्ञानको अर्को रूप मात्र हो ।

वञ्चितीकरणमा परेका, अवसरहरू नपाएका र संरचनात्मक थिचोमिचोका कारणले पछि परेकाहरूलाई अरू सरहको हैसियत दिन विद्यमान संरचनामा रहेका जे–जे बाधा छन् तिनलाई हटाउनु सामाजिक न्यायको कुरा हो । यी काम सुधारका आधारमा गर्न त सकिन्छ तर यस्तो सामाजिक न्याय आवश्यक छ भन्ने स्वीकार गर्नु पनि विचारधाराकै कुरा हो । कसैले पनि यस्तो न्याय नलडिकन संघर्ष नगरिकन, पूँजीपति वर्गसँग नखोसिकन पाएको छैन । यसरी नै अर्थतन्त्रमा रहेका संरचनात्मक अवरोधहरू छिचोलेर देशलाई स्वतन्त्र र स्वाधीन अर्थतन्त्र भएको मुलुकका रूपमा अघि बढाउने काम पनि विचारधाराका अभावमा सम्भव छैन ।

पुनर्जागरणकालदेखि आजसम्मको युग विचारधारात्मक संघर्षको हो र यसको केन्द्रमा पूँजीवाद रहेको छ । स्वयं पूँजीवादको मानवीयकरण गरिरहेको युरोपेली समाजवाद पनि विचारधारात्मक संघर्षकै परिणाम हो पूँजीपति वर्गले स्वेच्छाले र मायाले दिएको कुरा होइन । नेपाल पनि यी विचारधारात्मक संघर्षबाट बाहिर छैन । विष्णुजीले जति सत्तोसराप गरे पनि नेपालमा मार्क्सवादी विचारधारा, समाजवाद (मार्क्सेली या बुर्जुवा) र उदारवादका बीच संघर्ष जारी रहनेछ । स्वयं बालेन्द्र शाह र उनको सरकारलाई विचारधारा बाहिरको भन्नु यथार्थभन्दा परको कुरा हो । यो पपुलिष्ट त हो नै शहरका गरिबहरूलाई बेघर बनाएर लघार्दै गरेको, विश्वविद्यालयमा विद्यार्थी र प्राध्यापकलाई संगठन गर्नबाट रोकिरहेको र पत्रपत्रिकाहरूलाई लोककल्याणकारी विज्ञापन रोकिरहेको या पत्रपत्रिकाका कार्यालय र विपक्षी दलको नेताको घरको गेटमा गाडी तेर्स्याएर तर्साइरहेको बालेन्द्र सरकार एकाधिकारवादी पूँजीपति वर्गको नेपाली प्रतिनिधि दलाल पूँजीपति वर्गको हित रक्षा गर्ने फासीवादी विचारको प्रतिनिधि हो । यति भन्न हिच्किचाउनुपर्र्दैन । उसको मूल्यांकन गर्न पाँच वर्ष पर्खिनु पनि पर्दैन । बीचैमा सुधारियो भने यो निष्कर्षमा पनि संशोधन गरौंला !

विष्णुजी, असहमत हुन सहमत हुँदै तपाईंका विचारहरू निरन्तर आइरहुन् भन्ने अपेक्षा राख्दछु ।

लेखक
झलक सुवेदी

झलक सुवेदी राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?