२० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा समावेशीसहित ८० क्लस्टरबाट नयाँ कार्यसमिति चुनिने भएको छ ।
सोमबारको बन्दसत्रबाट पास भएको संशोधित विधानमा सभापति, पदाधिकारी र केन्द्रीय सदस्यसम्मका ८० श्रेणी (क्लस्टर) छन् । खुला, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, खसआर्य, प्रदेश, प्रवास, युवा आदि छुट्टाछुट्टै समूहमा श्रेणीबाट कांग्रेस केन्द्रीय सदस्यहरू चुनिने छन् ।
नयाँ कार्यसमिति चयनका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ । मनोनयन दर्तापछिका सबै प्रक्रिया सम्पन्न भएपछि २२ असोज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका छ ।
कांग्रेसको संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक जना महिला अनिवार्य गरिएको छ ।
त्यस्तै, महामन्त्री ३ जना रहने छन् । जसमा दुई जना खुला र एक जना महिला कोटाबाट चुनिनेछन् ।
त्यस्तै सहमहामन्त्रीमा १५ जना रहने छन् । खुलाबाट दुई जना सहमहामन्त्री चुनिनेछन् । आदिवासी जनजाती, दलित, मधेशी, खसआर्य, थारु, मुस्लिम, पिछडिएको क्षेत्र र अल्पसंख्यक/अपांगता कोटाबाट एक–एकजना सहमहामन्त्री चुनिनेछन् ।
कोषाध्यक्ष केन्द्रीय सदस्य मध्येबाट एक जना मनोनीत हुनेछन् । प्रवक्ता र सहप्रवक्ता पनि एक/एक जना हुनेछन् ।
केन्द्रीय सदस्यहरूमा खुला प्रतिस्पर्धाबाट ४५ जना चुनिने छन् । महिला खुलाबाट १५ जना हुनेछन् । आदिवासी जनजाति महिलाबाट ८ जना, आदिवासी जनजाति खुलाबाट १२ जना, दलित महिलाबाट ५ जना, मधेशी दलितबाट १ जना, दलित खुलाबाट ८ जना केन्द्रीय सदस्य चुनिनेछन् ।
यसैगरी मधेशी महिला र खसआर्य महिलाबाट ८/८ जना तथा खस आर्य खुलाबाट १० जना केन्द्रीय सदस्य हुनेछन् ।
थारु महिलाबाट २ जना, थारू खुलाबाट ४ जना, मस्लिम मुहिलाबाट २ जना, मुस्लिम खुलाबाट ३ जना केन्द्रीय सदस्य हुनेछन् ।
पिछडिएको क्षेत्र महिला, पिछडिएको क्षेत्र खुला, अल्पसंख्यक, अपांगता कोटाबाट एक–एक जना केन्द्रीय सदस्य चुनिने छन् ।
प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द्व प्रभावित परिवारबाट पनि एक–एक केन्द्रीय सदस्य बन्नेछन् ।
साथै, सातै प्रदेशबाट ३५ वर्ष मुनिका युवा महिला र खुलाबाट पनि केन्द्रीय सदस्य चयन हुनेछन् । काठमाडौं उपत्यकाबाट महिला र खुलाबाट एक–एक केन्द्रीय सदस्य बन्नेछन् ।
नेपाली जनसम्पर्क समिति युरोप क्षेत्र, ओसियाना–अमेरिका क्षेत्र, नेपाली जनसम्पर्क समिति मध्यपूर्व क्षेत्र, एसिया प्यासिफक क्षेत्र, नेपाली जनसम्पर्क समिति भारतबाट केन्द्रीय सदस्यका लागि कोटा छुट्याइएको छ । पेशागत विषयगत क्षेत्र र श्रमिकका लागि पनि महिला खुलामा पनि केन्द्रीय सदस्य चयन हुनेछन् ।
केन्द्रीय कार्यसमितिले पछि ६६ जना मनोनीत गर्ने विधानमा व्यवस्था छ ।
हेर्नुहोस् निर्वाचन हुने पद, समूह र संख्या :

प्रतिक्रिया 4