+
+
Shares

इरफान खानको बारेमा कमैलाई थाहा भएका १० रोचक तथ्य

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १२:४३

निसन्देह इरफान खान बलिउडका सबैभन्दा बहुमुखी कलाकारहरूमध्ये एक हुन् । अनौठो अनुहार, कुनै फिल्मी पृष्ठभूमि नभएको र सुरुमा सफलताको कथा नभए पनि उनले बलिउडको शीर्ष स्थानसम्मको यात्रा तय गरे । र, त्यहाँ रहिरहे ।

इरफानलाई अक्सर यस्ता अभिनेता पनि मानिन्छ, जसले जगदेखि नै इँटमाथि इँट थपेर आफ्नै पहिचान बनाए । 29 अप्रिल २०२० मा ५३ वर्षको उमेरमा उनको निधन भइसकेको छ ।

उनको जीवनसँग जोडिएका ‍कमैलाई थाहा भएका तथ्यहरू छन् ।

१. उनको वास्तविक नाम

उनी जयपुरको टोंक गाउँमा शाही सम्बन्ध भएको एक सम्भ्रान्त परिवारमा जन्मेका थिए । उनका दुई भाइबहिनी छन् । बुबा एक धनी जमिन्दार थिए । उनका बा आफ्नो छोरो पारिवारिक टायर व्यवसायमा लागोस् भन्ने चाहन्थे । तर, उनी त्यसतर्फ लागेनन् । उनको परिवारको नाम साहबजादे इरफान अली खान हो ।

२. नाममा एउटा थपेको ‘आर’

धेरैलाई थाहा नहुन सक्छ कि इरफानले वास्तवमा आफ्नो नाममा एउटा थप ‘आर’ थपेका थिए । उनले यो काम आफ्नै निर्णयका आधारमा गरेका थिए । खासमा उनलाई नाममा थप ‘आर’ ले दिने उच्चारण मन पर्थ्यो । इरफानलाई आफ्नो लामो नाम मन नपर्ने भएकाले उनले नामका शब्दहरू हटाउँदै लगे । त्यो क्रममा नै इरफान रहन गएको हो ।

३. संयोगले बनेको अभिनेता

उनी क्रिकेटर बन्न चाहन्थे । तर उनका आमाबुबालाई त्यो कुरा स्वीकार्य थिएन । भाग्यवश उनले नेसनल स्कुल अफ ड्रामा (एनएसडी) मा अध्ययनका लागि छात्रवृत्ति पाए । त्यतिबेला उनी जयपुरमा स्नातकोत्तर गर्दै थिए । एनएसडीमा भर्ना पाउनका लागि उनले आफूसँग नाटकको अनुभव भएको भन्दै झुट बोलेका थिए ।

४. ‘सलाम बम्बे’ मा रोजाइ

अर्को एउटा रोचक तथ्य भनेको मीरा नायरले ‘सलाम बम्बे’ मा एउटा भूमिकाका लागि उनलाई छानेका थिए । त्यसबेला उनि एनएसडीमा अन्तिम वर्षका विद्यार्थी थिए । तर, दुर्भाग्यवश उनको अग्लो उचाइका कारण सुटिङका क्रममा उनको भूमिका घटाइएको थियो ।

५. छाड्नै लागेको अभिनय

सन् १९९४ देखि १९९८ सम्म टेलिभिजनमा निरन्तर काम गर्दा इरफान एक समय यति दिक्क भएका थिए कि उनले अभिनय छाड्ने सोच बनाएका थिए । यदि आसिफ कपाडियाको चलचित्र द वारियर नभएको भए इरफानले सायद अभिनय छाडेर गुमनाम हुने थिए । तर, उनले सोचे जसरी यो क्षेत्रबाट उनी भाग्न सकेनन् ।

६. बलिउडका अग्लामध्येका एक अभिनेता

उनी हेर्दा त्यति अग्लो नदेखिए पनि ६ फिट १ इन्चका थिए । यही कारण कतिपयले उनलाई बलिउडका सबैभन्दा अग्ला अभिनेताहरूमध्ये एक मान्ने गर्छन् । उनको उचाइ अमिताभ बच्चनसरह नै थियो ।

७. हलिउड सुपरहिट इन्टरस्टेलर अस्वीकार

उनलाई हलिउडको ब्लकबस्टर फिल्म इन्टरस्टेलरमा एउटा ठूलो भूमिकाको अफर गरिएको थियो । तर लगातार ४ महिना अमेरिकामा बस्नुपर्ने भएकाले उनले त्यसलाई अस्वीकार गरिदिए । यो फिल्म नगर्नुको अर्को कारण उनको बचनका पक्का बानी हो । त्यतिबेला उनले द लञ्चबक्स र डी डेमा प्रतिबद्ध भइसकेका थिए ।

८. जुलिया रोबर्ट्सको प्रशंसा

हलिउड अभिनेत्री जुलिया रोबर्ट्सले ओस्कर समारोह भइरहेको कोड्याक थिएटरबाहिर रोकिएर स्लमडग मिलियनेयरमा इरफानको भूमिकाको प्रशंसा गरेकी थिइन् । त्यसका लागि जुलिया केही बेर बाहिर रोकिएकी थिइन् । अर्कोतिर इरफानलाई विश्वस्तरमा चिनाउने फिल्म पनि स्लमडग मिलियनेयर नै हो ।

९. पुस्तक र स्क्रिप्ट पढ्ने बानी

उनी असाध्यै धेरै पढ्थे । आफ्ना भूमिकाहरूलाई अझ राम्ररी कसरी निभाउने भनेर बुझ्न उनी हप्तामा लगभग एउटा नयाँ हलिउड स्क्रिप्ट पढ्थे । उनी आफ्ना स्क्रिप्टप्रति यति गम्भीर थिए कि उनकी पत्नी तथा लेखिका सुतपा सिकदारले उनी अभिनीत एउटा शोका केही एपिसोडहरू लगभग एक दर्जन पटक पुनःलेखन गर्नुपरेको थियो ।

१०. लस एन्जलस विमानस्थलमा दुई पटक रोक

आतंकवादी गतिविधिमा संलग्न व्यक्तिसँग नाम मिलेको भन्दै इरफानलाई लस एन्जलस विमानस्थलमा दुई पटक रोकिएको थियो । पछि भने विमानस्थलका कर्मचारीहरूले त्यस्तो गर्न छाडेको उनले बताउने गरेका थिए । इरफानले द अमेजिङ स्पाइडरम्यान, लाइफ अफ पाई र जुरासिक वर्ल्डसहित ५ भन्दा बढी हलिउड फिल्महरूमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?