२० असोज, सुनसरी । अमेरिकाको नर्थ क्यारोलिनास्थित एपेक्स नेचर पार्क स्टेडियममा आरटीपी दशैं खसी कप फुटबल प्रतियोगिता सुरु भएको छ।
अमेरिकामा लामो समयदेखि बस्दै आएका नेपाली समुदायको पहलमा दशैं–तिहारको पूर्वसन्ध्यामा प्रतियोगिता आयोजना गरिएको हो । एपेक्स नेचर पार्क स्टेडियममा प्रत्येक सप्ताहान्त खेल हुने गरी प्रतियोगिता एक महिनासम्म सञ्चालन हुने आयोजक समितिका सदस्य टंक सेलिङले बताए ।
अमेरिकामा रहेका नेपाली समुदायबीच एकता, आपसी भाइचारा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले आरटीपी दशैं खशी कप विगत १० वर्षदेखि आयोजना हुँदै आएको सेलिङले बताए ।
‘मातृभूमिभन्दा धेरै टाढाको मुलुक अमेरिकामा विभिन्न कारण र परिस्थितिले बसोबास गर्दै आए पनि मन त नेपाली नै हो,’ सेलिङले भने, ‘चाडपर्व नजिकिँदा आफन्त, परिवार र छरछिमेकीको मात्रै याद आउँदैन। हामी र हाम्रा बाउबाजेले मानिल्याएका नेपाली संस्कृतिमा आधारित दशैं, तिहार, चासोक तङनाम, साउने संक्रान्ति, माघे संक्रान्ति, ल्होसार, साकेला, म्हपूजा जस्ता सांस्कृतिक चाडपर्वलाई यहाँ बसेको पछिल्लो पुस्तामा पनि हस्तान्तरण गर्दै जानुपर्छ भन्ने उद्देश्यले यो दशैं खशी कपलाई एउटा माध्यम बनाएका हौं।’
प्रतियोगिताले नेपाली डायस्पोराबीच आपसी सम्पर्क, सहकार्य र सम्बन्ध विस्तार गर्नुका साथै नेपाली पहिचान, संस्कृति र समुदायप्रतिको अपनत्वलाई थप मजबुत बनाउन भूमिका खेलिरहेको टिम चियाबारीका कप्तान मोहन सापकोटाले बताए।
प्रतियोगितामा १० टोली सहभागी छन्। सेप्टेम्बर १८ देखि सुरु भएको प्रतियोगितामा चियाबारी एफसी, दुर्गा एफसी, माछापुच्छ्रे एफसी र राइनो एफसी सेमिफाइनलमा पुगेका छन्। फाइनल खेल अक्टोबर १० मा हुनेछ।
उपाधि विजेता टोलीले ३० किलोको खशीसहित मेडल प्राप्त गर्नेछ।
आयोजक समितिका सदस्य विकास सापकोटाले अमेरिकामा रहेर पनि नेपाली चाडपर्व, संस्कृति र परम्परालाई निरन्तरता दिँदै नेपाली समुदायबीच आपसी सम्बन्ध र भाइचारा थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
उनका अनुसार यस वर्षको आरटीपी दशैं कप आयोजना गर्न सेलिङ र सापकोटासहित जीवन न्यौपाने, दीप रिशाल, सौरवराज बिष्ट र सन्तोष गौतम आयोजक सदस्यका रूपमा रहेका छन्।
प्रतियोगिताका खेलाडी भूपाल कोइरालाले आरटीपी दशैं कप सबै नेपालीको साझा कार्यक्रमका रूपमा विकास हुँदै गएको बताए। यसको निरन्तरता र साझा मञ्च निर्माण गर्न प्रतियोगिता सफल भएको उनको भनाइ छ।
अमेरिकामा बसोबास गर्ने नेपाली दोस्रो पुस्तासहित नयाँ पुस्तालाई नेपाली संस्कृति, चाडपर्व र समुदायसँग जोड्ने माध्यमका रूपमा आरटीपी दशैं कपले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको आयोजक सदस्यहरूले बताएका छन्।
प्रतिक्रिया 4