+
+
Shares

मकालु र गोदावरीबाट उत्पादित वाइनमा भेटियो लेदो

वाइनका बोतलभित्र आँखाले प्रस्ट देखिने लेदो भेटिएपछि टोलीले बिक्री वितरणमा रोक लगाउँदै गोदाम सिल गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १९:४५

२० असोज, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग सहित संयुक्त अनुगमन टोलीले काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ स्थित शुभ ओजस सप्लायर्समा ठूलो परिमाणमा शंकास्पद र गुणस्तरहीन वाइन फेला पारेको छ ।

वाइनका बोतलभित्र आँखाले प्रस्ट देखिने लेदो भेटिएपछि टोलीले बिक्री वितरणमा रोक लगाउँदै गोदाम सिल गरेको छ ।

अनुगमन क्रममा दुई फरक स्थानबाट उत्पादित वाइनमा अखाद्य (लेदो जस्तो) वस्तु फेला परेको हो ।

सप्लायर्सको स्टोरमा भण्डारण गरी राखिएको अवस्थामा संखुवासभाको मकालु वाइन इन्डस्ट्रिजबाट उत्पादित ६ सय ५० मिलिलिटरका २ हजार २ सय ३२ बोतल र ४ लिटरका ६६ प्याकेट वाइनमा आँखाले देखिने गरी लेदो फेला परेको थियो ।

त्यसैगरी ललितपुर झरुवारासी (गोदावरी) बाट उत्पादित ६ सय ५० मिलिलिटरकै थप ४ सय २० बोतल वाइनमा पनि सोही प्रकृतिको लेदो देखिएको विभागले जनाएको छ ।

गुणस्तरमा गम्भीर शंका उत्पन्न भएपछि अनुगमन टोलीले स्थानीय जनप्रतिनिधि र सप्लायर्सका धनीको रोहबरमा सम्पूर्ण शंकास्पद वाइनको स्टकलाई नियम अनुसार रोक्का राखेको छ ।

हाल उक्त वाइन बिक्री गर्न नपाउने गरी धनीकै जिम्मामा छाडिएको छ भने थप प्रयोगशाला परीक्षणका लागि वाइनको नमुना संकलन गरिएको छ ।

विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम उक्त कारबाही प्रक्रिया अघि बढाइएको हो ।

बजारमा अखाद्य वस्तु बिक्री वितरण रोक्ने उद्देश्यले असोज १८ र १९ गते उपत्यकाका विभिन्न स्थानमा संयुक्त अनुगमन गरिएको थियो ।

उक्त संयुक्त अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौं, डिभिजन कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौं, चन्द्रागिरि नगरपालिका र प्रहरी वृत्त थानकोटका प्रतिनिधिको सहभागिता थियो ।

नतिजा परीक्षणपछि दोषी देखिए कानुन बमोजिम थप कारबाही हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?