२१ असोज, काठमाडौं । संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीशको स्वेच्छाचारिता भएको भन्दै न्यायाधीश हरि फुयालले बस्न अस्वीकार गरेका छन् । फुयालको अडानका कारण सर्वोच्च अदालतको संवैधानिक इजलास बुधबार बस्न सकेन ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले यसअघि संवैधानिक इजलासमा न्यायाधीश फुयाललाई राखेका थिएनन् । तर बुधबारको इजलासमा उनलाई राख्ने भएपछि न्यायाधीश फुयालले प्रधानन्यायाधीशलाई भेटेर बस्न अस्वीकार गरेका छन् । ‘विगतमा किन राखिएन र आज मेरो के आवश्यकता पर्यो भन्दै,’ न्यायाधीश फुयालले प्रधानन्यायाधीशलाई प्रश्न गरेका छन् ।
न्यायाधीश फुयाल बस्न नमानेपछि अन्य न्यायाधीशहरू पनि बस्न तयार भएनन् । त्यसैले बुधबारको संवैधानिक इजलास बस्न सकेन । संवैधानिक इजलासमा प्रधानन्यायाधीश सहित ५ जना न्यायाधीश हुन्छन् ।
इजलास गठनमा वरिष्ठताक्रम वा गोला प्रथाको वैज्ञानिक विधि हुनुपर्ने उनको अडान छ । प्रधानन्यायाधीशको मनखुसी रुपमा रुपमा संवैधानिक इजलास गठन गर्न नहुने उनको धारणा छ ।
सर्वोच्च अदालतभित्र न्यायाधीशहरूको इजलास गठन र जिम्मेवारी बाँडफाँटलाई लिएर पछिल्लो समय असन्तुष्टि देखिँदै आएको छ । यसअघि पनि संवैधानिक इजलासमा न्यायाधीशहरूको राय बाझिएका घटना सार्वजनिक भएका छन् ।
प्रतिक्रिया 4