+
+
Shares

कर्णालीमा चाडपर्व सुरक्षा : सडकदेखि फरार कैदी तथा लुटिएका हतियारसम्म निगरानी

विशेष सुरक्षा योजनाअन्तर्गत ५ हजार ३१४ जनशक्ति परिचालन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

हेमन्त केसी हेमन्त केसी
२०८३ असोज २१ गते २०:०५

२१ असोज, सुर्खेत । कर्णाली प्रदेशमा दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै प्रहरीले विशेष सुरक्षा योजना लागु गर्ने तयारी गरेको छ । प्रदेश प्रहरी कार्यालयले असोज २५ देखि कात्तिक ३० गतेसम्म यो योजना लागु हुने जनाएको छ ।

विशेष सुरक्षा योजनाअन्तर्गत ५ हजार ३१४ जनशक्ति परिचालन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घटस्थापनादेखि छठ पर्वसम्मको अवधिमा हुनसक्ने आपराधिक गतिविधि, सवारी दुर्घटना, चोरी–डकैती, जुवातास, कालोबजारी तथा अवैध गतिविधि नियन्त्रणसँगै यात्रु तथा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्नेगरी सुरक्षा योजना बनाइएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सन्तोषसिंह राठौरले बताए ।

एक हजार ४६२ स्थानमा प्रहरी ड्युटी

प्रदेशका १० वटै जिल्लाबाट विभिन्न प्रकृतिका गरी जम्मा एक हजार ४६२ वटा ड्युटीमा प्रहरी परिचालन गरिनेछ । सुरक्षा योजनाअन्तर्गत मोबाइल गस्ती २८, मोटरसाइकल गस्ती ९८, परिचालन ६०, पैदल गस्ती १४४ तथा लामो र छोटो दूरीका २०४ वटा गस्ती सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

यस्तै, १७६ स्थानमा पिकेट, नियमित, विशेष तथा आकस्मिक चेकिङ ६७ स्थानमा र ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङ ४७ स्थानमा सञ्चालन गरिनेछ । महत्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि ३८ स्थानमा प्रहरी खटाइनेछ ।

यात्रु तथा नागरिक सहायता कक्ष अन्तर्राष्ट्रिय सीमासहित ३७ स्थानमा स्थापना गरिनेछ । त्यसैगरी २४ स्थानमा माइकिङ तथा प्रचारप्रसार, बैंक तथा वित्तीय संस्था सुरक्षा र बजार अनुगमनका लागि ३१ स्थानमा प्रहरी परिचालन हुनेछ ।

विशिष्ट व्यक्तिको सुरक्षाका लागि १० वटा ड्युटी तोकिएको छ भने अन्य विभिन्न प्रकृतिका ४९४ ड्युटीसमेत सञ्चालन गरिनेछ ।

चोरीदेखि जुवाताससम्म निगरानी

सुरक्षा योजनाअन्तर्गत धार्मिक, सांस्कृतिक सम्पदा तथा पर्यटकीय स्थल, सरकारी कार्यालय र महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा मजबुत बनाइनेछ । बैंक तथा वित्तीय संस्था, सुनचाँदी तथा गरगहना पसल र अन्य आर्थिक कारोबार हुने स्थानमा सुरक्षा व्यवस्था कडा पारिने प्रहरीले जनाएको छ ।

चाडपर्वका समयमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको कृत्रिम अभाव हुन नदिन बजार अनुगमनलाई प्रभावकारी बनाइने प्रहरीले जनाएको छ । कालोबजारी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणसँगै सहज आपूर्तिको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय गरिने एसएसपी राठौरले बताए ।

त्यस्तै, हातहतियार, पटका, आतिशबाजी तथा अन्य विस्फोटक पदार्थको अवैध आयात, ओसारपसार र प्रयोग नियन्त्रण गरिनेछ । जुवातास, डाइस, लङ्गुरबुर्जा, कौडा तथा अनलाइन सट्टेबाजी नियन्त्रणलाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ ।

पाकेटमारी, चोरी, लुटपाट र ठगी नियन्त्रणका लागि भीडभाड हुने स्थान, बजार, धार्मिक स्थल तथा सार्वजनिक यातायातमा निगरानी बढाइनेछ ।

सडक सुरक्षादेखि सुशासनसम्म

चाडपर्वका समयमा सार्वजनिक यातायातको चाप बढ्ने भएकाले सहज आवागमन तथा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँगको समन्वयमा संयुक्त चेकिङ सञ्चालन गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

क्षमताभन्दा बढी यात्रु तथा मालसामान राख्ने, बढी भाडा असुल्ने र यात्रुमाथि दुर्व्यवहार गर्ने सार्वजनिक सवारी साधनमाथि निगरानी गरिने प्रहरीले जनाएको छ ।

सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रु ठगिन नदिने तथा यात्राका क्रममा सामान वा झोला छुटेर हराएमा खोजतलासमा सहजीकरण गर्न यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ ।

चाडपर्वका समयमा हुन सक्ने झैँझगडा तथा अन्य विवाद रोकथामका लागि पनि प्रहरी परिचालन बढाइनेछ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुन सक्ने दुर्व्यवहार र आपराधिक गतिविधि नियन्त्रणमा समेत विशेष निगरानी गरिनेछ ।

फरार कैदी र लुटिएका हतियारमा पनि निगरानी

सुरक्षा योजनामा पछिल्लो समयका संवेदनशील सुरक्षा चुनौतीलाई समेत समेटिएको छ । आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका तथा फरार रहेका कैदीबन्दीको खोजी तथा पक्राउलाई प्राथमिकता दिइने प्रहरीले जनाएको छ ।

यस्तै, आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हातहतियार तथा गोलीगठ्ठाको खोजी, बरामद तथा संलग्न व्यक्तिको पक्राउ गरी त्यसको सम्भावित दुरुपयोग रोक्ने योजना प्रहरीको छ ।

धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न विशेष निगरानी र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । सुरक्षा सतर्कतासम्बन्धी सन्देश तथा जिङ्गलमार्फत सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरिने प्रवक्ता राठौरले बताए ।

सुरक्षा आवश्यकताअनुसार रिजर्भ प्रहरी कार्यालयबाट थप प्रहरी टोलीसमेत परिचालन गर्ने व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?