+
+
Shares

कटारीमा टिपर व्यवसायीको प्रदर्शन, मदन भण्डारी राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १०:५६

२२ असोज, उदयपुर । कटारी क्षेत्रमा टिपर सञ्चालनमा रोक लगाइएको विरोधमा व्यवसायीहरूले प्रदर्शन गरेका छन् । उनीहरूले मदन भण्डारी राजमार्गअन्तर्गत कटारी सडकखण्डमा टिपर तेर्स्याएर सडक अवरुद्ध गरेका हुन् ।

सिमेन्टको खानीबाट चुनढुंगा ढुवानी गर्ने टिपर सञ्चालनलाई लिएर स्थानीयवासी र व्यवसायीबीच विवाद बढ्दै गएपछि व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीयको विरोधका कारण चुनढुंगा उत्खनन तथा ढुवानी प्रभावित भएपछि आफूहरूको व्यवसाय संकटमा परेको व्यवसायीहरूको भनाइ छ । उनीहरूले कानुनी र व्यवस्थित रूपमा टिपर सञ्चालन गर्न दिनुपर्ने, चुनढुंगा ढुवानी रोक्न नहुने तथा आफ्नो रोजगारी र लगानीको संरक्षण गर्नुपर्ने माग राखेका छन् ।

यसअघि पनि कटारी नगरपालिका–४ स्थित सिम्ले बजार क्षेत्रमा टिपर व्यवसायीहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । उनीहरूले टिपर सडकमा तेर्स्याएर सिद्धिचरण लोकमार्गसमेत अवरुद्ध गरेका थिए । प्रहरीले हस्तक्षेप गरी केही समयपछि सडक खुलाएको थियो ।

यता स्थानीयवासीले भने बस्ती हुँदै भारी टिपर सञ्चालन गर्दा सडक, वातावरण र स्थानीय जनजीवनमा असर परेको भन्दै वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने माग गर्दै आएका छन् ।

कटारी नगरपालिका–७ मर्जेतपुर क्षेत्रका स्थानीयले चुनढुंगा ढुवानीका लागि मरुवा–नैनखाडी–आहालेतर्फको सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्नुपर्ने माग अघि सारेका छन् ।

टिपर व्यवसायीको प्रदर्शन र स्थानीयको विरोधका कारण कटारीमा चुनढुंगा ढुवानीको विषय थप विवादित बनेको छ । व्यवसायीले सडक अवरुद्ध गरेपछि कटारी बजार प्रवेश गर्ने सडकसमेत प्रभावित भएको छ । यात्रु तथा अन्य सवारीसाधन आवतजावतमा समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?