+
+
Shares

गिरिजाबाबु र शेरबहादुरजी मिल्न तीन वर्ष लाग्यो, परिस्थिति कस्तो हुन्छ अझै भन्न सकिन्नँ : निधि

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १३:१६

२२ असोज, काठमाडौं । नेपाली कांग्रेस देउवा समूहका नेता बिमलेन्द्र निधिले विशेष महाधिवेशनले कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा बाँडिदिएको भन्दै अब ‘नयाँ घर’ निर्माणको दिशामा अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता निधिले पार्टी विभाजनको मुख्य जिम्मेवार विशेष महाधिवेशन बोलाउने पक्ष नै रहेको आरोप समेत लगाए ।

कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेशन जारी भइरहेको समयमा जनकपुरमा आयोजित कार्यक्रममा नेता निधिले लोकतन्त्र भनेको केवल सिद्धान्त मात्र नभएर प्रक्रिया र पद्धति पनि भएको स्मरण समेत गराए । साथै, बहुमतले मात्रै पार्टी नचल्ने तर्क उनको थियो ।

‘जसले विशेष महाधिवेशन बोलायो, उसैले पार्टी फुटाएको हो । हामीले शुरुदेखि नै प्रक्रियाको कुरा उठाउँदै आएका थियौँ तर त्यसलाई बेवास्ता गरियो । पुराना पुस्ताका नेताहरूले अझै पनि आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्, त्यसैले हामीले अझै मिहेनेतका साथ नयाँ कार्यदिशा तय गर्नुपर्छ,’ निधिले भने ।

निर्वाचन आयोगमा पेश गरिएको तथ्यांकलाई आधार मान्दै आफूहरूसँग ४६ प्रतिशतको बलियो आधार रहेको दाबी समेत उनले गरे  । ६ प्रतिशतको मतलाई अवमूल्यन गरेर गरिएका निर्णयहरू अमान्य हुने उनको जिकिर छ ।

विशेष महाधिवेशन र त्यसपछि विकसित घटनाक्रमहरूले पार्टीलाई जोड्न नसक्ने भन्दै उनले अब नयाँ ढंगले पार्टी संगठनलाई अघि बढाउनुपर्नेमा जोड उनको थियो ।

‘हामीले आफ्नो घरलाई अझ मजबुत बनाउनुपर्छ, गिरिजाबाबु र शेरबहादुरजी मिल्न तीन वर्ष लागेजस्तै परिस्थिति कहिले कस्तो हुन्छ भन्न सकिन्न, तर अहिले हामीले आफ्नो संगठन निर्माणलाई नै प्राथमिकता दिनुपर्छ,’ निधिले भनेका छन् ।

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निधीले कार्यकर्ताहरूलाई वार्ड तहबाटै नयाँ ऊर्जाका साथ खटिन निर्देशन पनि दिए । युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिँदै उनले आफ्नो आलोचना गर्नेहरूलाई जवाफ दिँदै आफू वैचारिक रूपमा अझै सक्रिय रहेको र पार्टी पुनर्निर्माणका लागि प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?