+
+
Shares

प्राध्यापक देख्नै पाउँदैनन् विशेषज्ञ बन्न आएका डाक्टर

फ्याकल्टी देखाएर सिट लिने तर विद्यार्थीलाई पढाउने प्राध्यापक नै नराख्ने हो भने विशेषज्ञ चिकित्सक कसरी उत्पादन हुन्छन् ?

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ असोज २२ गते २०:१७

२२ असोज, काठमाडौं । विशेषज्ञ डाक्टर बन्ने लक्ष्य बोकेर मेडिकल कलेजमा भर्ना भएका आवासीय चिकित्सक अहिले ‘प्राध्यापक कहाँ छन्’ भनेर खोजिरहेका छन् ।

वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पीजी पहिलो वर्षमा अध्ययनरत आवासीय चिकित्सकहरूले कलेजले सिट पाउन देखाएको फ्याकल्टी र आफूहरूले प्रत्यक्ष रूपमा देखेको फ्याकल्टीमा ठूलो अन्तर रहेको आरोप लगाएका छन् ।

उनीहरूका अनुसार कलेजको फ्याकल्टी सूचीमा प्राध्यापक, सहप्राध्यापकको नाम छन् । तर तीमध्ये कतिपयलाई विद्यार्थीले अहिलेसम्म देखेकै छैनन् । यही समस्यासहित पीजी पहिलो वर्षका आवासीय चिकित्सक तीन सातादेखि आन्दोलनमा छन् ।

उनीहरू सबैको एउटै प्रश्न छ– फ्याकल्टी देखाएर सिट लिने तर विद्यार्थीलाई पढाउने प्राध्यापक नै नराख्ने हो भने विशेषज्ञ चिकित्सक कसरी उत्पादन हुन्छन् ?

प्रसूति तथा स्त्री रोग विभागमा पहिलो वर्षमा अध्ययनरत आयुषा सोहेलले शिक्षकसँग भेटघाट नै नभएको बताएकी छिन् । उनका अनुसार विभागमा दुई जना प्राध्यापक भए पनि विद्यार्थीसँग नियमित भेटघाट हुँदैन ।

‘विभागमा दुई जना प्रोफेसर हुनुहुन्छ । उहाँहरूसँग हाम्रो भेटघाट भनेको १५ दिनमा एक पटक हुन्छ,’ उनले भनिन्, ‘उहाँहरूमध्ये एक जना मेरो थेसिसको गाइड पनि हुनुहुन्छ । थेसिसका विषयमा छलफलसमेत गर्न पाएको छैन ।’

उनका अनुसार विशेषज्ञ तहको अध्ययनमा आवश्यक पर्ने क्लिनिकल एक्सपोजरसमेत हुँदैन ।

‘कसैको पनि मार्गनिर्देशन हुँदैन । सिक्ने अवसर पनि छैन । तेस्रो वर्षमा पुग्दा पनि शल्यक्रिया गर्न पाइँदैन । पहिलो वर्षमा पढ्नेले ट्रली तानेर मात्रै बस्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘यस्तो वातावरणमा पीजी गरेर मैले के सिक्छु र ।’

त्यसैगरी, प्याथोलोजी विभागमा पनि यस्तै समस्या छ । एक आवासीय चिकित्सकका अनुसार प्याथोलोजी विभागमा पूर्णकालीन एक जना मात्रै प्राध्यापक छन् । अर्का प्राध्यापक पार्टटाइम रहेको भए पनि आफूहरूले अहिलेसम्म नदेखेको उनको दाबी छ । पीजी विद्यार्थीलाई पढाउन र सिकाउन आवश्यक पर्ने फ्याकल्टीको व्यवस्थापन कलेजले गर्नुपर्ने हो ।

‘उहाँलाई हामी कसैले पनि देखेका छैनौँ,’ ती चिकिसत्क भन्छन्, ‘हामीले पढ्ने वातावरण नै पाएनौँ । यसको व्यवस्थापन अब सरकारले गरिदिनुपर्‍यो ।’

बालरोगतर्फ पहिलो वर्षमा अध्ययनरत डा. सरोजकुमार शाहको अनुभव पनि उस्तै छ ।

उनका अनुसार कलेजको सूचीमा रहेका शिक्षकलाई विद्यार्थीले देखेका छैनन् । ‘लिस्टमा भएका जति पनि प्राध्यापक छन्, उनीहरूलाई हामीले देखेका छैनौँ,’ उनले भने, ‘फ्याकल्टीबिना राम्रोसँग सिक्न सकिँदैन ।’

 

शाहका अनुसार कलेजले सम्बन्धित विषयमा सिक्न विद्यार्थीलाई अन्य अस्पतालमा पठाउने पनि गरेको छैन । ‘सिक्नका लागि कलेजले अन्य स्थानमा पठाउँदैन । अब भन्नुहोस्, हामी कसरी सक्षम चिकित्सक बन्छौँ ?,’ उनी प्रश्न गर्छन् ।

इन्टरनल मेडिसिनतर्फ पहिलो वर्षमा अध्ययनरत एक आवासीय चिकित्सकका अनुसार उनीहरू पाँच जना विद्यार्थी छन् । तर विभागका लागि देखाइएको फ्याकल्टीमध्ये आफूहरूले धेरैलाई नदेखेको उनको दाबी छ।

‘हाम्रो फ्याकल्टीमा पूर्ण रूपमा जम्मा तीन जना प्राध्यापक हुनुहुन्छ । यी फ्याकल्टीमा पढाउने शिक्षक कहाँ हुनुहुन्छ, हामीलाई थाहा छैन,’ शाहले अनलाइनखबरसँग भने, ‘आयोगले कसरी पाँच सिट इन्टरनल मेडिसिनमा दियो ? यसमा छानबिन हुनुपर्छ ।’

उनले कलेजको सूचीमा रोशन कुर्मी, सीपी वर्मा, मोजारत इजार र अभिषेक सिंहको नाम रहेको बताए । तर तीमध्ये कुनै पनि प्राध्यापकलाई नदेखेको उनको दाबी छ ।

एनेस्थेसिया विभागका पीजी पहिलो वर्षका एक आवासीय चिकित्सकका अनुसार विभागमा एक जना सहप्राध्यापक मात्रै छन् ।

एनेस्थेसिया उच्च जोखिमयुक्त चिकित्सा विधि हो । बिरामीलाई बेहोस बनाउनेदेखि जटिल शल्यक्रियाका क्रममा जीवनरक्षक व्यवस्थापनसम्मका काममा विशेषज्ञको प्रत्यक्ष निगरानी आवश्यक हुन्छ । तर आफूहरूले सुपरभिजन नपाएको ती चिकित्सकको गुनासो छ ।

‘एनेस्थेसिया विधामा गम्भीर बिरामी र उच्च जोखिमको उपचार प्रक्रिया सिक्नुपर्ने हुन्छ । प्राध्यापकको सुपरभिजन आवश्यक पर्छ । हामी सुरक्षित रूपमा बिरामीको उपचार गर्न चाहन्छौँ । उचित फ्याकल्टी चाहन्छौँ,’ उनी भन्छन्, ‘प्राध्यापकको सुपरभिजनबिना कसरी राम्रो चिकित्सक उत्पादन हुनसक्छ ?’

यस्तै, एमडीजीपी अध्ययनरत एक आवासीय चिकित्सकले विभागमा जनरल ओपीडी नै नभएको दाबी गर्छन् ।

ती चिकित्सकका अनुसार विभागमा सहप्राध्यापक डा. सुनिता गुप्ताको नाम रहे पनि आफूहरूले उनलाई अहिलेसम्म नदेखेको दाबी छ । ‘हाम्रो विभागमा जनरल ओपीडी छैन । विभागमा सहप्राध्यापक डा. सुनिता गुप्ता हुनुहुन्छ भनिएको छ,’ ती चिकित्सकको गुनासो छ, ‘उहाँको नाममा विद्यार्थी भर्ना गरिन्छ । तर हुनुहुन्न । पढ्ने वातावरण छैन ।’

उनका अनुसार विद्यार्थी भर्ना गर्दा फ्याकल्टीको नाम देखाइए पनि अध्ययनका क्रममा त्यही फ्याकल्टीको प्रत्यक्ष शैक्षिक भूमिका देखिँदैन ।

पीजी अध्ययनमा विद्यार्थीले कक्षा कोठाको पढाइ मात्र गर्ने होइन, सम्बन्धित विभागमा बिरामी हेर्ने, केस डिस्कस गर्ने, जटिल अवस्थाको व्यवस्थापन सिक्ने, शल्यक्रिया तथा अन्य प्रक्रिया गर्ने र वरिष्ठ चिकित्सकको सुपरभिजनमा काम गर्ने अभ्यास गर्नुपर्छ । तर आन्दोलनरत चिकित्सकका अनुसार अहिले नियमित विभागीय पोस्टिङसमेत पूर्ण रूपमा रोकिएको छ ।

पीजीका विभिन्न संकायका ५२ जना आवासीय चिकित्सक सो कलेजमा आफूहरूले केही सिक्न नपाएको भन्दै अन्य मेडिकल कलेजमा पढ्ने वातावरण मिलाउन ३१ भदौदेखि आन्दोलनमा छन् । नक्कली प्राध्यापक देखाएर सिट लिएको मेडिकल कलेजमा पढेर चिकित्सक बन्न नसक्ने भन्दै उनीहरूले बिरामीको चाप र प्राध्यापक भएको मेडिकल कलेजमा व्यवस्था मिलाउन चिकित्सा शिक्षा आयोगलाई पत्र काटेका छन् ।

नक्कली प्राध्यापक देखाएर पीजी सिट लिएको आरोप

देशभर सरकारी र निजी गरी २७ वटा मेडिकल कलेज सञ्चालनमा छन् । चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजको सिट निर्धारण गर्दै आएको छ । एमबीबीएसमा अधिकतम १३० वटासम्म सिट निर्धारण गरेको छ । स्नातकोत्तर तह (पीजी) मा फ्याकल्टी, बिरामीको संख्या लगायतका मापदण्ड हेरेर सिट निर्धारण गरिन्छ ।

तर, आयोगकै मापदण्ड पूरा गरेको देखाउन मेडिकल कलेजहरूले कागजमा प्राध्यापक देखाउने गरेको आरोप लागेको छ । गत वर्ष मेडिकल कलेजमा अध्ययनरत चिकित्सकहरूले गरेको अध्ययनमा १६ वटा मेडिकल कलेजमा करिब ४०० प्राध्यापक कागजमा मात्रै रहेको दाबी गरेका छन् ।

उक्त अध्ययनमा संलग्न एक चिकित्सकका अनुसार आयोग अनुगमनमा जाँदा कलेजले देखाउने फ्याकल्टी र वास्तविक अवस्थामा कलेजमा कार्यरत फ्याकल्टीबीच ठूलो अन्तर भेटिएको छ ।

‘सबै निजी मेडिकल कलेजको अध्ययन गरेका थियौँ । आयोग अनुगमनमा गएको समयमा कलेजले देखाएको फ्याकल्टीमध्ये धेरै चिकित्सक थिएनन्,’ उनले भने, ‘यस्तो संख्या ४०० हाराहारीमा थियो । प्रत्येक कलेजको सूची बनाएर आयोगलाई बुझाएका थियौं । तर आयोगका पदाधिकारी नै चुपचाप बसे ।’

अहिले नेपाल मेडिकल काउन्सिलले समेत मेडिकल कलेजहरूमा आएका विदेशी चिकित्सकहरूको प्रमाणपत्र फर्जी भेटिएको भन्दै अनुसन्धान सुरु गरेको जनाएको छ । विदेशी चिकित्सकले पेस गरेका १४ जनाको प्रमाणपत्र फर्जी फेला परेपछि काउन्सिलले दर्ता प्रक्रिया नै स्थगित गरेको छ ।

काउन्सिलका सदस्य तथा विदेशी चिकित्सकको छानबिन समितिका संयोजक डा. छबि पन्थीले विदेशबाट दर्ता भएको फ्याकल्टीको बारेमा छानबिन भइरहेको बताए ।

‘१२ मुलुकका फ्याकल्टी छन् । २८३ जना विदेशी चिकित्सकको फाइल अध्ययन गरिरहेको छौं,’ डा. पन्थीले अनलाइनखबरसँग भने, ‘सम्बन्धित देशको मेडिकल काउन्सिलले सोधेका छौं । तर अधिंकाश देशको जवाफ आइसकेको छैन ।’

यस विषयमा अहिले शिक्षा मन्त्रालयले अध्ययन सुरु गरेको छ । मन्त्रालयका अनुसार देशभरका मेडिकल कलेजमा कार्यरत फ्याकल्टीहरूको विवरणमाथि सूक्ष्म निगरानी सुरु भएको छ । संलग्नता प्रमाणित भए मेडिकल काउन्सिलको लाइन्सेस निलम्बनदेखि खारेजीसम्मको प्रक्रिया अगाडि बढाउने मन्त्रालयले जनाएको छ ।

अहिले विद्यार्थीबाट प्राप्त सूचना, फोटो, भिडियो र अन्य प्रमाणसमेत अध्ययन भइरहेको छ । ‘कक्षामा वास्तविक फ्याल्टी चाहिन्छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘खडेबाबा प्रयोग गरेर मेडिकल कलेजको सिट वा मान्यता प्रभावित गर्ने अभ्यास प्रमाणित भए संलग्न सबैलाई जवाफदेही बनाइने छ ।’

‘फ्याकल्टी लाइन लगाएर उभ्याउँदैमा गुणस्तर कायम हुँदैन’

पीजीको एउटा विभागमा सामान्यतः ५ देखि ७ जनासम्म फ्याकल्टी आवश्यक पर्छ । तर विशेषज्ञ चिकित्सकलाई नियमित रूपमा प्राध्यापकका रूपमा राख्दा कलेजले ठूलो रकम पारिश्रमिकमा खर्च गर्नुपर्ने हुन्छ ।

चिकित्सा शिक्षा आयोगका एक पदाधिकारीका अनुसार कतिपय चिकित्सकले मेडिकल कलेजमा निश्चित समय पढाएर वा कोर्स पूरा गराएर अन्यत्र नियमित काम गर्ने गरेका छन् । यस्तो अभ्यासले चिकित्सा शिक्षाको गुणस्तरमा असर पार्छ ।

‘फ्याकल्टी भनेपछि पढाउने संस्थामै बसेर जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । तर कतिपय ठाउँमा कोर्स सकाएपछि चिकित्सक अन्यत्र काम गर्ने र मेडिकल कलेजले पनि आवश्यकता पूरा गर्न त्यस्ता फ्याकल्टीको नाम प्रयोग गर्ने अवस्था देखिन्छ,’ ती अधिकारीले अनलाइनखबरसँग भने ।

चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मेडिकल कलेजले आफ्नो क्षमता र उपलब्ध फ्याकल्टीका आधारमा मात्रै विद्यार्थी भर्ना गर्नुपर्ने बताउँछन् । मेडिकल कलेजमा पर्याप्त फ्याकल्टी नभए गुणस्तरीय चिकित्सा शिक्षा सम्भव नहुने भन्दै उनले क्षमता नभए विद्यार्थी भर्ना नै रोक्नुपर्ने बताए ।

‘पढाइको गुणस्तर कायम गर्न शिक्षक महत्वपूर्ण पक्ष हो । शिक्षक नै नभई गुणस्तरीय शिक्षा दिन सकिँदैन,’ उनले भने, ‘कलेजको जति क्षमता छ, त्यति नै विद्यार्थी पढाउने हो । क्षमता छैन भने विद्यार्थी पढाउनु हुँदैन ।’

मेडिकल कलेजका विद्यार्थीले फ्याकल्टी नभएको, कतिपय शिक्षकले नाम मात्रै सुनेको तर प्रत्यक्ष नदेखेको जस्ता गुनासो गर्नु गम्भीर विषय भएको उनी बताउँछन् ।

‘विद्यार्थीले नै हामीले पढ्न पाएनौं, शिक्षक भएनन् भनेर गुनासो गरेका छन् भने त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो,’ गिरीले भने, ‘विद्यार्थी चिकित्सा शिक्षाको सबैभन्दा महत्वपूर्ण स्टेकहोल्डर हो । उनीहरूको गुनासोलाई सम्बन्धित निकायले गम्भीर रूपमा सम्बोधन गर्नुपर्छ ।’

डा. गिरीका अनुसार आयोग निरीक्षण गर्न जाँदा मेडिकल कलेजले लाइनमा राखेर फ्याकल्टी उपस्थित गराउने गरेका छन् । तर वर्षभरि नै शिक्षकको उपस्थिति र पठनपाठनमा भने संलग्नता हुँदैन ।

‘इन्स्पेक्सनको बेला फ्याकल्टी लाइन लगाएर उभ्याउँदैमा गुणस्तर कायम हुँदैन,’ डा. गिरी भन्छन्, ‘फ्याकल्टी वर्षभरि नै उपस्थित भएर पठनपाठनमा संलग्न हुनुपर्छ । अहिले डिजिटल प्रविधि विकास भइसकेको छ । शिक्षकले कक्षा लिए/नलिएको निरन्तर अनुगमन गर्नुपर्छ ।’

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?