+
+
Shares

नेपाली मौलिकताको प्रवर्द्धन गर्न फिल्म फेस्टिभल महत्त्वपूर्ण : डंगोल

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १३ देखि १५ गतेसम्म काठमाडौं फिल्म फेस्टिबल आयोजना गर्ने भएको छ ।
  • कार्यवाहक प्रमुख सुनिता डंगोलले फेस्टिबललाई भाषा, साहित्य, खानपान र पोशाकलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने प्रभावकारी मञ्च बताइन् ।
  • डंगोलले नेपाली मौलिकता, संस्कृति, सम्पदा र काठमाडौंका मठमन्दिर तथा रानीपोखरीसँग जोडिएका कथालाई फिल्ममार्फत विश्वसामु प्रस्तुत गर्नुपर्ने बताइन् ।

२३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंसहित देशभरका भाषा, साहित्य, खानपान र पोशाकलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन ‘काठमाडौं फिल्म फेस्टिबल’ प्रभावकारी मञ्च हुनसक्ने बताएकी छिन् ।

शुक्रबार फिल्म फेस्टिबलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले यस्तो बताएकी हुन् । डंगोलले फिल्म नेपाली मौलिकता, संस्कृति र सम्पदालाई विश्वमाझ चिनाउने प्रभावकारी माध्यम भएको बताइन् ।

‘यहाँको खाना हामीले अन्तर्राष्ट्रिय जगतमा कसरी देखाउँछौँ त ? फिल्म एउटा यस्तो माध्यम हो जसले हाम्रो खाना अरुलाई पनि खान मन लाग्ने बनाउन सक्छ । हाम्रो पोसाकको पहिचान फिल्मबाट दिन सकिन्छ । हाम्रो भाषा, हाम्रो साहित्य सबै कुराको प्रवर्द्धन गर्ने एउटा सशक्त माध्यम हो फिल्म । त्यसकारण हामीले यो फेस्टिबल आयोजना गर्न लागेका हौं,’ उनले भनिन् ।

उनले नेपाली खानपान, पोसाक, भाषा र साहित्यको प्रवर्द्धनमा फिल्मले महत्वपूर्ण भुमिका खेल्नसक्ने समेत बताइन्  । उनले काठमाडौंका मठमन्दिर, रानीपोखरीलगायत सम्पदा र स्थानसँग जोडिएका कथालाई विश्वसामु प्रस्तुत गर्नेगरी नेपाली संस्कृतिमा आधारित चलचित्र निर्माण हुनुपर्नेमा समेत जोड दिइन् ।

‘यो फिल्म फेस्टिबलबाट हामीले काठमाडौं मात्र नभएर देशभरकेो कथा बोकेका फिल्म प्रदर्शन गर्नेछौँ । अझ काठमाडौं त कथा नै कथा बोकेको शहर हो । काठमाडौंमा एक पाइला सर्ने बित्तिमै मन्दिर भेट्छौँ, मन्दिरको आफ्नै कथा हुन्छ,’ उनले भनिन्, ‘अलिकति पर जाँदा रानी पोखरीको आफ्नै कथा छ । त्यसकारण हामी नदेखिएका र नसुनिएका कुराहरु विश्वलाई देखाउन र सुनाउनको लागि यो फेस्टिबलको आयोजना गर्न लागेका हौं ।’

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअन्तर्गत अगामी कात्तिक १३ देखि १५ गतेसम्म काठमाडौं फिल्म फेस्टिबल आयोजना गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?