News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यकामा सुरु गरिएको सबै ब्रान्डको एलपी ग्यासको संयुक्त बिक्री वितरण बुधबारसम्म मात्रै हुने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।
- संघ अध्यक्ष दिवान चन्दले बिहीबारदेखि पुरानै व्यवस्था अनुसार डिलरमार्फत नियमित ग्यास बिक्री वितरण सुरु हुने बताए ।
- संघले बजारमा ग्यासको अभाव नरहेको दाबी गर्दै उपभोक्तालाई नजिकको डिलरबाट ग्यास खरिद गर्न अनुरोध गरेको छ ।
२७ असोज, काठमाडौं । दसैंका बेला उपभोक्ताको सहजताका लागि भन्दै काठमाडौं उपत्यकामा सुरु गरिएको सबै ब्रान्डका एलपी ग्यासको संयुक्त बिक्री वितरण उद्योगीहरूले नगर्ने घोषणा गरेका छन् ।
उद्योगीहरूले आइतबारदेखि काठमाडौं उपत्यकाका उपभोक्तालाई जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने स्थानबाट ग्यास लिन पाउने व्यवस्था गरेका थिए ।
आइतबार ६ बिक्री केन्द्रबाट मात्रै ग्यास बिक्री गरेका उद्योगीले सोमबार थप ५ ठाउँ तोकेर ११ ठाउँ पुर्याएका थिए । उनीहरूले सुरुमा ३१ असोजसम्म व्यवस्था गरेको बताए पनि भोलिपल्ट फेरि ३० गतेसम्म मात्रै बिक्री गर्ने भन्दै सूचना जारी गरे ।
तर, आज मंगलबार फेरि नेपाल एलपी ग्यास उद्योग संघले भोलि बुधबारसम्म मात्रै ग्यास साटफेर तथा बिक्री गरिने बताएको छ ।
बिहीबारदेखि भने पुरानै व्यवस्था अनुसार नियमित रूपमा डिलर मार्फत नै ग्यास बिक्री वितरण सुरु हुने संघको भनाइ छ ।
बिहीबार र शुक्रबार डिलर मार्फत नियमित ग्यास आपूर्ति गर्नुपर्ने बाध्यता रहेकाले संयुक्त रूपमा बिक्री वितरण गर्दै आएको व्यवस्था भोलि बुधबारसम्म मात्र लागु हुने संघ अध्यक्ष दिवान चन्दले बताएका छन् ।
संघले बजारमा ग्यासको सहज आपूर्ति भइरहेको र अभाव नरहेको दाबी गरेको छ ।
नेपाल आयल निगम मार्फत भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात सहज भइरहेको संघको भनाइ छ ।
उपभोक्तालाई पर्न गएको असुविधा मध्यनजर गर्दै अब नियमित रूपमा डिलर मार्फत नै ग्यास बिक्री सुरु गरिने भएकाले आफ्नो नजिकको डिलरमा गई ग्यास खरिद गर्न संघले आम उपभोक्ता तथा सरोकारवालालाई अनुरोध गरेको छ ।
संघले ११ केन्द्रबाट ग्यास साटफेर तथा बिक्री गर्ने भएपछि सबै केन्द्रमा उपभोक्ताको लामो लाइन लागिरहेको छ । नजिकको डिलरबाट ग्यास बिक्री नगरेर विभिन्न ठाउँबाट ग्यास बिक्री गर्दा उपभोक्ताले थप सास्ती खेपिरहनुपरेको छ ।

प्रतिक्रिया 4