News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ शृङ्खलामा ओमानलाई ११३ रनले हराएर लगातार दोस्रो जित निकालेको छ।
- नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनायो, जसमा रोहित पौडेलले ६१ र करण केसीले ४० रन जोडे।
- ओमान ४० ओभरमा १५० रनमा अलआउट भयो, जहाँ नन्दन यादव र कप्तान सन्दीप लामिछानेले समान ३ विकेट लिए।
२७ असोज, काठमाडौं । बलरहरूले शानदार प्रदर्शन गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको शृङ्खलामा लगातार दोस्रो जित हासिल गरेको छ ।
मंगलबार अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा भएको खेलमा नेपालले ओमानमाथि ११३ रनको जित हासिल गरेको हो । नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमा अलआउट भयो ।
ओमानका लागि कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए । यद्यपी नेपालले त्यसअघि नै जितको आधार तय गरिसकेको थियो ।
ओमान १२औं ओभरमा ४१-६ को अवस्थामा पुगिसकेको थियो । त्यहाँबाट विनायकले जय ओडेरासँग मिलेर ८३ रनको साझेदारी गरेका थिए । ओडेरा २५ रन बनाएर आउट भए ।
जय आउट हुँदा ओमान १२८-७ को अवस्थामा थियो । त्यहाँबाट थप २२ रन जोड्दा विनायक, शाह फेसल र हस्नेन शाह आउट भए ।
नेपालका लागि नन्दन यादवले ६ ओभरमा १२ रन दिएर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ९ ओभरमा २८ रन दिएर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको थियो ।
रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए । ६७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । करण केसीले अन्त्यतिर १६ बलमा ४० रनको आक्रामक पारी खेले ।
करण केसीले ४९औं ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गरे भने अन्तिम ओभरमा शाह फेसललाई पनि एक छक्का प्रहार गरेका थिए ।
अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पान्डेले समान ३७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।
ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले २-२ विकेट लिए भने हस्नेन शाहले १ विकेट लिए ।
यो जितपछि लिग २ अंकतालिकामा छैटौं स्थानमा रहेको नेपालको ३४ खेलबाट २८ अंक भएको छ । ओमान ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ ।
नेपालले अब अर्को खेलमा आगामी शनिबार क्यानडासँग खेल्नेछ ।
प्रतिक्रिया 4