+

क्यारोलिनामा सम्पन्न आरटीपी दशैं कपको उपाधि दुर्गा एफसीलाई

२०८३ असोज  २६ गते १९:५७ २०८३ असोज २६ गते १९:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको नर्थ क्यारोलिनास्थित एपेक्स नेचर पार्कमा भएको आरटीपी दशैं कप फुटबलको उपाधि दुर्गा एफसीले जितेको छ।
  • आइतबार राति सम्पन्न फाइनलमा दुर्गा एफसीले माछापुच्छ्रे एफसीलाई ४–१ गोलले पराजित गरेको छ।
  • विजेता दुर्गा एफसीले खसीसहित ट्रफी र मेडल पाएको छ।

२६ असोज, काठमाडौं । अमेरिकाको नर्थ क्यारोलिनास्थित एपेक्स नेचर पार्कमा एक महिनादेखि सञ्चालन भएको आरटीपी दशैं कप फुटबल प्रतियोगिताको उपाधि दुर्गा एफसीले जितेको छ।

आइतबार राति सम्पन्न फाइनलमा दुर्गा एफसीले माछापुच्छ्रे एफसीलाई ४–१ गोलले पराजित गर्दै उपाधि जितेको हो। दुर्गाको जितमा भुवनसिंह कार्की, समन धौबडेल, राज खड्का र अविनास राजभण्डारीले गोल गरे। माछापुच्छ्रेका रविन रेग्मीले एक गोल फर्काए।

उपाधि जितेको दुर्गा एफसीले खसीसहित ट्रफी र मेडल प्राप्त गरेको छ। विजेता टोलीलाई एपेक्स नगरपालिकाका नगर परिषद् सदस्य अर्नो जेगर्मन र शेन रिसले ट्रफी तथा मेडल प्रदान गरेका थिए।

नेपाली समुदायबीच एकता, आपसी भाइचारा र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक सदस्य टंक सेलिङले बताए। उनका अनुसार यस वर्षको प्रतियोगिता सेप्टेम्बर १८ देखि सुरु भएको थियो। आरटीपी दशैं कप विगत १० वर्षदेखि दशैंको पूर्वसन्ध्यामा निरन्तर आयोजना हुँदै आएको छ।

अमेरिकामा रहेर पनि नेपाली चाडपर्व, संस्कृति र परम्परालाई निरन्तरता दिँदै समुदायबीचको सम्बन्ध बलियो बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक सदस्य विकास सापकोटाले बताए।

यस वर्षको प्रतियोगिता सम्पन्न गर्न सेलिङ र सापकोटासहित जीवन न्यौपाने, दीप रिशाल, सौरवराज बिष्ट र सन्तोष गौतम आयोजक सदस्यका रूपमा सक्रिय थिए।

दुर्गा एफसीका कप्तान सुनिल केसीले प्रतियोगिताले नेपाली डायस्पोराबीच सम्पर्क, सहकार्य र सम्बन्ध विस्तार गर्नुका साथै नेपाली पहिचान, संस्कृति र समुदायप्रतिको अपनत्व बलियो बनाउन भूमिका खेलेको बताए।

आरटीपी दशैं कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय