News Summary
Generated by OK AI. Editorially reviewed.- कटारी नगरपालिकाले दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगितामा दुवैतर्फको उपाधि जितेको छ।
- सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा सम्पन्न फाइनलमा कटारीले महिलातर्फ फिक्कललाई १–० र पुरुषतर्फ २–१ ले हरायो।
- महिलातर्फ बुढानीलकण्ठ र पुरुषतर्फ गोलबजार नगरपालिकाले तेस्रो स्थान हासिल गर्दै जनही १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।
- कटारीकी सानामिका मगर महिलातर्फ र फिक्कलका शिशिर ढकाल पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भए।
२६ असोज, काठमाडौं । कटारी नगरपालिकाले दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगिताको दुवैतर्फको उपाधि जितेको छ ।
सोमबार सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा सम्पन्न फाइनलमा कटारीले आयोजक फिक्कल गाउँपालिकाको महिला र पुरुष टोलीलाई पराजित गर्दै दोहोरो उपाधि जितेको हो । महिलातर्फ कटारीले फिक्कललाई १–० ले हराउँदा पुरुषतर्फ २–१ को जित निकाल्यो ।
उपाधिसँगै कटारीले दुवैतर्फको च्याम्पियन ट्रफीसहित जनही ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो । उपविजेता फिक्कलले दुवैतर्फ जनही २० हजार रुपैयाँमा चित्त बुझायो ।
महिलातर्फ बुढानीलकण्ठ नगरपालिकाले टोखा नगरपालिकालाई १–० ले हराउँदै तेस्रो स्थान हासिल गर्यो । पुरुषतर्फ भने बुढानीलकण्ठलाई अतिरिक्त समयमा फलका आधारमा ३–० ले पराजित गर्दै गोलबजार नगरपालिका तेस्रो बन्यो ।
निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । तेस्रो भएका दुवै टोलीले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
प्रतियोगितामा कटारीकी सानामिका मगर महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भइन् । पुरुषतर्फ उपविजेता फिक्कलका शिशिर ढकाल उत्कृष्ट खेलाडी बने । दुवैलाई ट्रफी प्रदान गरियो ।
प्रतियोगिताको समापन समारोहमा नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटा, फिक्कल गाउँपालिका अध्यक्ष तथा सङ्घकी बोर्ड सदस्य पार्वती सुनुवार, सङ्घका महासचिव गोविन्द घिमिरे, गाउँपालिका उपाध्यक्ष राजु बराल, प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर राजनमगर, मधेस प्रदेश खेलकुद परिषद्का बोर्ड सदस्य निशेषकुमार श्रेष्ठ, स्वर्गीय शिखर ढकालका पिता खगेन्द्र ढकाललगायतले विजेता तथा उपविजेता टोलीका खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे ।
समापन समारोहमा गाउँपालिका अध्यक्ष सुनुवारले प्रतियोगितामा सहभागी सबै टोलीलाई धन्यवाद दिँदै आगामी वर्षमा पनि प्रतियोगितालाई निरन्तरता दिने विश्वास व्यक्त गरिन् ।
प्रतिक्रिया 4