News Summary
Generated by OK AI. Editorially reviewed.- बैंकिङ समूहको सूचक डेढ महिनामा ९.१२ प्रतिशत बढेर १,५४३ अंकमा पुगेको छ, र केही बैंकको सेयर मूल्य २३ प्रतिशतसम्म बढेको छ।
- सिद्धार्थ, एभरेस्ट, नबिल, सानिमा, ग्लोबल आईएमई, माछापुच्छ्रे, सिटिजन्स र कुमारी बैंकको लाभांश मूल्यमा समायोजन भइसकेको छ।
- कम पीई रेसियो, न्यून ब्याजदर, लाभांश आकर्षण, संस्थागत लगानीकर्ता र जलविद्युत् क्षेत्रमा आएको सुस्तीले बैंकिङ सेयरतर्फ आकर्षण बढेको लगानीकर्ताले बताएका छन्।
२८ असोज, काठमाडौं । विगतमा सेयर बजारका लगानीकर्ताको प्रायः गुनासो रहने गर्दथ्यो – वाणिज्य बैंकहरुको सेयर मूल्य फिटिक्कै बढ्दैन । अरु क्षेत्रको तुलनामा बैंकिङको सेयर आपूर्ति अत्याधिक हुँदा मूल्यमा त्यसको प्रभाव देखिने गरेको थियो ।
तर पछिल्लो डेढ महिनामै यहीं समूहका कम्पनीबाट लगानीकर्ताले २३ प्रतिशतसम्म नाफा कमाएका छन् । सेयर बजारमा यतिबेला सबैभन्दा चम्किएको समूह नै बैंकिङ हो ।
हाल यो समूहको सूचक १५४३ अंकमा रहेको छ । जुन अंक गत चैत १२ यताकै उच्च हो । गत चैत १२ गते बैंकिङ १५५० अंकमा थियो । बैंकिङ समूह विगत डेढ महिनादेखि उच्च दरले बढेको छ ।
भदौ १५ गते १४१४ अंकमा रहेको बैंकिङ सूचक डेढ महिनामै ९.१२ प्रतिशत बढेको छ । यही अवधिमा नेप्से परिसूचक ३.४ प्रतिशत मात्रै बढेको छ । डेढ महिनामा बैंकिङ समूह ९.१२ प्रतिशत बढे पनि कुनै बैंकको मूल्य २३ प्रतिशतसम्म बढेको छ । त्यस्तै कुनै बैंकको २० प्रतिशतसम्म लाभांश पाकेर पनि मूल्य बढेको छ ।
त्यति मात्रै होइन, लाभांश घोषणा गरिसकेका बैंकको लाभांश पनि पाकिसकेको छ । सिद्धार्थको २० प्रतिशत (१० नगद र १० बोनस सेयर), एभरेस्टको १५ प्रतिशत (१० नगद र ५ बोनस), नबिलको १५.८ (१०.८ नगद र ५ बोनस), सानिमाको १० प्रतिशत नगद, ग्लोबल आईएमईको १० प्रतिशत (६ नगद र ४ बोनस), माछापुच्छ्रेको ६ प्रतिशत (३ नगद, ३ बोनस), सिटिजन्सको ३.८ प्रतिशत सेयर बोनस, कुमारीको २.१० नगद लाभांश लगानीकर्ताले पाइसकेका छन् । यी सबै बैंकको सो लाभांश मूल्यमा समायोजन भइसकेको छ । यी बैंकको यो लाभांशबाहेक मूल्यवृद्धिको लाभ समेत लगानीकर्ताले पाएका छन् ।

किन एकाएक चम्कियो बैंकिङ ?
बैंकको सेयर तुलनात्मक रुपमा सस्तो रहेकाले पनि यसप्रति आकर्षण बढेको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । ‘लगानीका लागि हेरिने एउटा प्रमुख सूचक मूल्य आम्दानी अनुपात (पीई रेसियो) हो, जुन वाणिज्य बैंकहरूको सबैभन्दा कम छ, यसले गर्दा बैंकको सेयर लगानीका लागि अझै उपयुक्त देखिएको छ’ उनले भने ।
एक कित्ता सेयरले गर्ने आम्दानी र त्यसको बजार मूल्यलाई पीई रेसियोले जनाउँछ । सामान्य भाषामा कुनै कम्पनीको पीई रेसियो १० हुनु भनेको वार्षिक १ रुपैयाँ आम्दानीका लागि लगानीकर्ताले १० रुपैयाँ तिर्नु जनाउँछ । पीई रेसियो जति न्यून, लगानीका लागि त्यति उपयुक्त मानिन्छ ।
यतिबेला ब्याजदर अति न्यून बिन्दुमा झरेकाले पनि ब्याजदरभन्दा केही बैंकको लाभांश राम्रो रहेको उनले बताए । बर्सेनि लाभांश दिइरहेका बैंकको सेयर मूल्य साढे २ सय हाराहारीमा पाइन्छ । ‘साढे २ सयदेखि ३ सय रुपैयाँसम्म राम्रा बैंक, जसले बर्सेनि लाभांश दिइरहेका छन्, तसर्थ यस्तो बेला मूल्य नबढे पनि लाभांशबाट लाभ मिल्ने भएकाले बैंकहरु रोजाइमा परेका छन्’ उनले भने ।
त्यस्तै संस्थागत लगानीकर्ता पनि वाणिज्य बैंकका सेयरमै आकर्षित हुने गरेको उनले बताए । ‘लाभांश दिने, स्थिर र बलिया कम्पनी संस्थाका रोजाइमा पर्छन्, त्यसका लागि वाणिज्य बैंक उपयुक्त छन्’ उनले भने ।
बैंकहरूले बचतमा दिने ब्याजदर हाल साढे २ देखि ३ प्रतिशतको बीचमा छ, तसर्थ साढे २ सय रुपैयाँको सेयर मूल्य भएको बैंकले १० प्रतिशत लाभांश दिएका छन् । बैंकहरूको वित्तीय विवरणमा त्यति धेरै प्रगति नदेखिए पनि अब योभन्दा खराब अवस्था नआउने लगानीकर्ताको अपेक्षा छ ।
खासगरी नउठेको साँवा, ब्याज उठाउन नसक्दा बैंकहरूको निष्क्रिय कर्जा तथा गैरबैंकिङ सम्पत्ति अझै पनि उच्च छ । जसले वितरणयोग्य नाफामा केही वर्षदेखि नै असर देखिँदै आएको छ ।
तर विगतमा नउठेको साँवा, ब्याज अशुली बढ्ने अनुमान बैंकहरूको छ । जसको असर सेयर लगानीकर्ताको लाभांशमा परिरहेको छ । माछापुच्छ्रे बैंकका डीसीईओ प्रसिद्धराज अर्याल अहिले लाभांश कम हुनुका दुई मुख्य कारण रहेको बताउँछन् । उनका अनुसार पहिलो, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर घट्नु र आम्दानी घट्नु हो । दोस्रो– खराब कर्जा बढ्दा सम्भावित नोक्सानी व्यवस्थामा धेरै रकम छुट्याउनुपर्ने बाध्यता हो ।
‘तर, प्रोभिजनिङमा गएको रकम हराएको होइन, त्यो ब्यालेन्स सिटमै रहन्छ, रिकभरी फेज आएपछि त्यसको प्रतिफल लगानीकर्ताले पछि पाउँछन्’ उनले भने ।
यसरी अशुली हुने रकम नाफामा देखिने मात्रै होइन, लगानीकर्तालाई लाभांश वितरण योग्य हुन्छ ।
‘अहिलेको निष्क्रिय कर्जा अब योभन्दा धेरै बढ्दैन भन्ने अनुमान धेरैको छ, अब बरु साँवा, ब्याज अशुल हुँदै जाला र त्यसको सिधा लाभ सेयरधनीलाई हुन्छ भन्ने आश लगानीकर्तामा बढेको छ’ लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने ।
यो पटककै लाभांशमा पनि केही नयाँ संकेत देखिएको छ । विगतमा लाभांश कत्ति पनि नदिएका बैंकले यस पटक लाभांश घोषणा गरिसकेका छन्, अर्को वर्ष धेरैको लाभांश दर बढ्न सक्ने लगानीकर्ताको अनुमान छ, जसले बैंकिङमा आकर्षण बढिरहेको छ ।
त्यस्तै बैंकहरूका लागि लगानीका अन्य माध्यममा लचिलो नीति अपनाइनुले पनि यो क्षेत्रका लागि अनुकूल बनेको ढुंगानाले बताए । हालै वाणिज्य बैंकहरुले सेयर तथा डिबेन्चरमा गरेको लगानी ४५ दिनको होल्डिङ अवधिपछि नै बिक्री गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि ६ महिनाको व्यवस्था तोकिएको थियो । यसले बैंकहरुको नाफा वृद्धिमा टेवा पुग्ने अनुमान छ । यद्यपि बैंकहरूले बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार गर्न पाउँदैनन् ।
अर्कोतर्फ बजारमा बैंकिङ र हाइड्रोपावर समूहलाई तुलना गर्ने गरिन्छ । ‘जलविद्युत् समूह सुस्ताउँदा बैंकिङ अगाडि बढ्ने र बैंकिङ सुस्ताउँदा जलविद्युत् अघि बढ्ने गरेको पाइन्छ,’ ढुंगानाले भने ‘यो पटक बैंकिङले राम्रो प्रदर्शन गरेको छ ।’ रसुवा बाढीपछि केही जलविद्युत् आयोजनामा ठूलो नोक्सानी पुग्यो, त्यसपछि अन्य जलविद्युत् कम्पनीका लगानीकर्ता समेत यो क्षेत्रको लगानीप्रति उत्साहित हुन सकेनन् ।
‘जलविद्युत् क्षेत्रतिर जाने लगानी पनि बैंकिङतिरै मोडियो, जसले गर्दा अरु समूहभन्दा बैंकिङले राम्रो प्रदर्शन गरेको देखिन्छ’ ढुंगानाले भने ।
प्रतिक्रिया 4