२८ असोज, काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाको संसदीय सुनुवाइ भएको छ । बुधबार भएको संसदीय सुनुवाइमा सांसदहरूले पहिला झाको प्रस्तुति सुनेका थिए ।
त्यसपछि सांसदहरूले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सक्रियताको योजनाबारे प्रमुखताका साथ प्रश्न गरेका थिए ।
रास्वपा सांसद मधुकुमार चौलागाईंले सोधे, ‘सार्क पुनर्जीवित गर्ने र बिमस्टेकलाई नेपालको हितमा प्रयोग गर्ने ठोस योजना के छ ?’
यसअघि भारतका लागि प्रस्तावित राजदुत डा. निश्चलनाथ पाण्डेले पनि यो प्रश्नको सामना गरेका थिए ।
सार्क भारत र पाकिस्तानबीचको तनाव तथा राजनीतिक असमझदारीका कारण सार्क विगत करिब एक दशकदेखि निष्क्रिय छ ।
भारत–पाकिस्तानको कटुता र सीमा–सुरक्षा विवादका कारण सार्कका शिखर सम्मेलन र उच्चस्तरीय बैठकहरू बस्न सकेका छैनन् ।
सन् २०१६ मा पाकिस्तानमा हुने भनिएको १९ औँ सार्क शिखर सम्मेलन भारतलगायतका देशहरूले बहिष्कार गरेपछि हालसम्म अर्को सम्मेलन हुन सकेको छैन ।
सार्क निष्क्रिय हुँदा नेपाललगायतका सदस्य राष्ट्रहरूको ध्यान क्षेत्रीय सहकार्यका लागि बिमस्टेक जस्ता वैकल्पिक मञ्चहरूतर्फ केन्द्रित भएको छ ।
सार्क कमजोर बन्दा चीनलगायतका देशहरूले दक्षिण एसियाली क्षेत्रमा छुट्टै विकास तथा सहयोग संयन्त्रहरू अगाडि बढाएका छन् ।
नेपाल अझै पनि सार्कको वर्तमान अध्यक्ष राष्ट्र रहेको भएतापनि यसलाई सक्रिय बनाउने कूटनीतिक प्रयासले मूर्तरूप लिन सकेको छैन ।
यो विषय भारत र श्रीलंकाका लागि प्रस्तावित राजदुतको सुनुवाइका क्रममा उठेको हो ।
प्रतिक्रिया 4