+
+
Shares

चुनावअघि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्ने विषयमा ट्रम्प र नेतान्याहुबीच छलफल भएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अक्टोबर २७ को इजरायली निर्वाचन र अमेरिकी मध्यअवधि चुनावअघि इरानमाथि संयुक्त सैन्य कारबाहीबारे ट्रम्प र नेतान्याहुबीच गोप्य छलफल भएको खुलासा भएको छ।
  • इजरायली गुप्तचरले इरानले नतान्ज नजिक ‘पिक्याक्स माउन्टेन’ मा युरेनियम प्रवर्धन तीव्र पारेको प्रतिवेदन दिएपछि नेतान्याहुले ट्रम्पसँग चिन्ता व्यक्त गरेका थिए।
  • ह्वाइट हाउसभित्र मतभेद रहे पनि कतारी मध्यस्थकर्ताहरू अमेरिकी सर्तसहितको जवाफका लागि इरानको प्रतीक्षामा छन् र ट्रम्पले छिट्टै ठूलो निर्णय गर्ने चेतावनी दिएका छन्।

अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ।

एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो ।

अधिकारीहरूका अनुसार, पछिल्लो दुई हप्तामा नेतान्याहु र ट्रम्पबिच इरानमाथिको सम्भावित संयुक्त सैन्य कारबाहीबारे कैयौँ पटक टेलिफोन संवाद भएको छ।

इजरायली गुप्तचर निकायले इरानले आफ्नो आणविक कार्यक्रमलाई पुनः सुचारू गर्न द्रुत गतिमा काम गरिरहेको प्रतिवेदन बुझाएपछि नेतान्याहुले ट्रम्पसमक्ष गम्भीर चासो व्यक्त गरेका थिए। प्रतिवेदन अनुसार, इरानले विशेष गरी नतान्ज नजिकै रहेको ‘पिक्याक्स माउन्टेन’ मा युरेनियम प्रवर्धनको कार्य तीव्र बनाएको हो ।

यद्यपि, ह्वाइट हाउस र ट्रम्पको टोलीभित्र यस विषयमा मतभेद देखिएको छ । संवादका क्रममा ट्रम्पले नेतान्याहुलाई तैयारी अवस्थामा रहन भने पनि तत्कालै आक्रमणको स्पष्ट प्रतिबद्धता भने जनाएका छैनन्।

ह्वाइट हाउसका एक अधिकारीले ट्रम्पले मध्यअवधि चुनावअघि इरानमाथि हमला नगर्ने स्पष्ट पारिसकेको दाबी गर्दै युद्ध पुनः सुरु गर्नेबारे वार्ता भएको कुरालाई ‘झुटा’ भनेका छन्।

अक्टोबर २ मा क्याम्प डेभिडमा बसेको ट्रम्पको उच्चस्तरीय मन्त्रिपरिषद् बैठकमा आक्रमणबारे घण्टौँ छलफल भएको थियो। अमेरिकी रक्षामन्त्री पिट हेगसेथ र सेन्ट्रल कमान्डका नेतृत्व पुनः सैन्य हमलाको पक्षमा उभिएका छन् । ट्रम्पका अधिकांश अन्य सल्लाहकारहरूले भने कडा आर्थिक प्रतिबन्ध र कूटनीतिक दबाबकै नीति जारी राख्नुपर्ने तर्क गरेका छन्।

निर्वाचनमा पर्ने असर र सैन्य नेतृत्वको राजनीतिक धर्मसङ्कट

यदि चुनावअघि युद्ध पुनः भड्किएमा यसले इजरायल र अमेरिका दुवैतर्फका मतदाता र राजनीतिक समीकरणमा गम्भीर असर पार्नेछ ।

इजरायली सेना (आईडीएफ) का प्रमुख अफ स्टाफ लेफ्टिनेन्ट जनरल एयाल जमिर र अमेरिकी जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल दान केनबिच भएको कुराकानीमा, आगामी तीन हप्ताभित्र युद्ध सुरु भएमा इरानले सयौँ ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत कडा जवाफी कारबाही गर्ने पक्कापक्की रहेको बताइएको छ। यस स्थितिले इजरायलमा तोकिएको अक्टोबर २७ को निर्वाचन नै स्थगित गर्नुपर्ने बाध्यता आउन सक्छ।

गैर-राजनीतिक मानिने इजरायली सेनाका लागि चुनावको मुखैमा गरिने यस्तो कारबाहीलाई नेतान्याहुको राजनीतिक दाउपेचका रूपमा हेरिन सक्ने र यसले सेनाप्रतिको जनविश्वास घटाउने डर पैदा गरेको छ। उता, नेतान्याहुले भने आफ्ना गुप्तचर प्रमुखहरूसँगको बैठकमा यो प्रस्ताव आफूले नभई स्वयं ट्रम्पले अघि सारेको र इजरायल सहभागी हुन्छ वा हुँदैन भनी सोधेको दाबी गरेका छन्।

मध्यअवधि चुनावअघि इरानसँग नयाँ युद्ध सुरु भएमा विश्वभर इन्धनको मूल्य अझै अकासिनेछ । जसले महँगीबाट पिल्सिएका अमेरिकी मतदाताहरूलाई ट्रम्प र रिपब्लिकन पार्टीविरुद्ध भोट हाल्न प्रेरित गर्ने खतरा छ।

कतारी मध्यस्थता र कूटनीतिक स्थिति

यसैबिच, कतारी मध्यस्थकर्ताहरू आणविक क्षेत्रमा सहुलियत दिनुपर्ने अमेरिकी सर्तहरूसहितको पछिल्लो जवाफका लागि इरानको प्रतिक्रियाको पर्खाइमा छन्।

अमेरिकी अधिकारीहरूका अनुसार कूटनीतिक वार्ता पूर्ण रूपमा मरेको छैन तर पूर्ण रूपमा जीवित पनि छैन। इरानले ट्रम्प प्रशासन चुनावको दबाबका कारण पछाडि हट्ने अनुमान गरे तापनि अमेरिकी दबाब निरन्तर कायम राखिएको छ। मङ्गलबार पत्रकारहरूसँग बोल्दै ट्रम्पले ‘इरान एक असफल राष्ट्र हो र हामी चाँडै नै इरानबारे ठूलो निर्णय लिनेछौँ’ भन्दै कडा चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?