+
+
Shares

चीनको ओभरक्यापासिटी रोक्न युरोपको नयाँ अस्त्र: नाकाबन्दी र कोटा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १५:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युरोपेली सङ्घ र चीनबिच युरोप भित्रिने चिनियाँ हाइब्रिड तथा प्लग-इन हाइब्रिड गाडीको आयातमा कडा सीमा तोक्ने प्रारम्भिक सम्झौता भएको छ।
  • युरोपेली सङ्घले आगामी डिसेम्बरदेखि चिनियाँ हाइब्रिड गाडीको वार्षिक आयात ३ लाख ५० हजारमा सीमित गर्ने योजना बनाएको छ।
  • अर्थशास्त्री माइकल पेटिसले यो सम्झौताले समग्र युरोपेली उत्पादन क्षेत्रलाई खासै फाइदा नपुर्याउने बताएका छन्।

२८ असोज, काठमाडौं । चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ।

यसै क्रममा युरोपेली सङ्घ र चीनबिच युरोप भित्रिने चिनियाँ हाइब्रिड तथा प्लग-इन हाइब्रिड गाडीहरूको आयातमा कडा सीमा तोक्ने विषयमा प्रारम्भिक सम्झौता भएको छ।

सन् २०२४ मा युरोपेली सङ्घले पूर्ण रूपमा इलेक्ट्रिक गाडीहरू माथि भारी भन्सार महसुल लगाएपछि चिनियाँ अटो निर्माताहरूले हाइब्रिड गाडीको निर्यात तीव्र बनाएका थिए। यसलाई रोक्न नयाँ सम्झौता तय गरिएको छ ।

युरोपेली सङ्घले आगामी डिसेम्बरदेखि लागू हुने गरी चिनियाँ हाइब्रिड गाडीको वार्षिक आयात ३ लाख ५० हजारमा सीमित गर्ने योजना बनाएको छ। यस वर्ष ८ लाख पुग्ने अनुमान गरिएको चिनियाँ हाइब्रिड गाडीको आयातलाई यो सम्झौताले आधाभन्दा बढीले घटाउनेछ। सन् २०२५ मा कुल ३ लाख २ हजार हाइब्रिड गाडी युरोप आयात भएका थिए।

तोकिएको कोटाभन्दा बढी गाडीहरू युरोप भित्रिन खोजेमा अतिरिक्त कर लगाउनुको सट्टा सोझै ब्लक गरिनेछ।

युरोपको नीतिगत परिवर्तन र ‘चाइना शक २.०’ को त्रास

चीनको आन्तरिक अर्थतन्त्रले खपत गर्न नसकेको अत्यधिक उत्पादन बाह्य बजारमा ओइरिएपछि युरोपेली नेताहरूमाझ गम्भीर चिन्ता बढाएको छ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेनले भर्खरै आफ्नो वार्षिक सम्बोधनमा चीनसँगको व्यापार घाटा ‘खतराको बिन्दु’ (टिपिंग पोइन्ट ) मा पुगेको चेतावनी दिँदै भनेकी छिन् ‘कतिपयले दोस्रो चिनियाँ व्यापारिक झट्का आउँदैछ भन्छन्, तर यो त भित्रिसकेको छ।’

अन्तर्राष्ट्रिय व्यापारिक नीतिमा सधैँ उदार देखिँदै आएको जर्मनी र फ्रान्सले समेत अनुचित व्यापारिक अभ्यास रोक्न ब्रसेल्सलाई व्यापक अधिकार दिन प्रस्ताव गरेका छन्। सन् २०२४ मा चिनियाँ ईभीमा ट्यारिफ लगाउन विरोध गरेको जर्मनीको यो नीतिगत परिवर्तनलाई ठूलो राजनीतिक मोड मानिएको छ।

सम्झौताको सीमित प्रभाव र अर्थशास्त्रीहरूको आशङ्का

युरोपको यो कदमले आफ्ना गाडी निर्माताहरूलाई केही राहत दिए तापनि यसले समग्र युरोपेली उत्पादन क्षेत्रलाई पूर्ण सुरक्षा दिन नसक्ने विश्लेषण भइरहेको छ ।

चिनियाँ अटो निर्माताहरूको विश्वव्यापी कार निर्यात सेप्टेम्बरमा ६४ प्रतिशतले बढेर ९ लाख १९ हजार पुगेको छ, जबकि चीनको घरेलु बिक्री २७ प्रतिशतले घटेको छ। गाडीमा कोटा लगाउँदा चिनियाँ उत्पादनको चाप अन्य उद्योग वा देशहरूमा सर्ने सम्भावना छ।

प्रसिद्ध अर्थशास्त्री माइकल पेटिसले यो सम्झौताले समग्र युरोपेली उत्पादन क्षेत्रलाई खासै फाइदा नपुर्याउने बताएका छन्।

पेटिसले भनेका छन् ‘हाइब्रिड गाडी बनाउने युरोपेली उत्पादकहरूलाई केही राहत त मिल्ला, तर त्यो अन्य युरोपेली उत्पादकहरूको लागतमा हुनेछ।’ एक्सियोसबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?