+
+
Shares
गसिप :

तीन कन्ट्रोभर्सी किङ : मुखै छाड्ने, जे पनि जान्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते ८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पुण्य गौतमलाई स्थानीय तहको चुनावदेखि खेती, तन्त्रविद्या र आणविक विस्फोटसम्मका विषयमा धाराप्रवाह बोल्ने व्यक्तिका रूपमा वर्णन गरिएको छ ।
  • जयकिशन बस्नेतलाई ‘धुम’का हिरो र भाइरल विषयमा टिप्पणी गर्ने व्यक्तिका रूपमा प्रस्तुत गर्दै चलचित्र विकास बोर्ड, वितरक, हलवाला र कलाकारबारे बोल्ने उनको शैली उल्लेख गरिएको छ ।
  • राजेन्द्र खड्गीलाई द्वन्द्व निर्देशक र टिकटक–रिल्समा आक्रामक शैलीमा प्रस्तुत हुने पात्रका रूपमा चित्रण गर्दै युट्युबरहरूसँगको उनका अन्तर्वार्ता र व्यवहार वर्णन गरिएको छ ।

यसपालि तीन फिल्मबीच भिडन्त छ । कुन फिल्मले बाजी मार्छ ? यो प्रश्न तपाईं पुण्य गौतमलाई सोध्नुभयो भने उनले भन्दैनन्, ‘मलाई यसबारे थाहा छैन ।’

बरु उनले तपाईंलाई यसको जवाफ यसरी दिन्छन्, मानौँ उनै निर्देशक हुन् । उनै निर्माता हुन् । उनी वितरक हुन् । उनै हलवाला हुन् । समग्रमा उनै फिल्मका महापण्डित हुन् । ‘फलानो फिल्मले फलानोलाई टक्कर दिनेछ, फलानो फिल्म उत्तानो पर्नेछ, फलानो फिल्मले बाजी जित्नेछ ।’

उनले यो कुरा साँच्चै आत्मविश्वासका साथ भन्नेछन् कि तपाईं नै रनभुल्लमा पर्नुहुनेछ । र, कताकता तपाईंलाई लाग्नेछ, ‘यिनी सिनेमाका प्रखर समीक्षक हुन् ।’

तर अब फेरि उनलाई सोध्नुहोस्, ‘यसपालि स्थानीय तहको चुनावमा कस्तो नतिजा आउनेछ ?’

यसको जवाफ पनि उनले विजय शाहीले किताब पढे जसरी ‘फररर’ भनिदिनेछन् । चाहे तपाईं उनीसँग खेतीको कुरा गरिदिनुहोस् वा उत्तर कोरियाले अभ्यास गर्ने आणविक विस्फोटको, चाहे उनलाई तन्त्रविद्याको कुरा गरिदिनुहोस् वा एलन मस्कले प्रक्षेपण गर्ने नयाँ आइडियाको । सबै विषयमा उनी गह्रौँ आवाजले विश्लेषण गर्न भ्याउँछन् ।

ऋषि धमलाले आगन्तुकसँग कुनै फरक प्रसङ्गमा कुरा गर्दागर्दै अचानक, ‘लु, एउटा गीत गाएर सुनाइदिनुहोस्’ भनेजसरी तपाईंले पुण्य गौतमलाई एउटा कुरा गर्दागर्दै अर्को प्रसङ्गको प्रश्न सोध्नुहोस्, उनी धाराप्रवाह बोल्न छाड्दैनन् ।

यो विश्वब्रह्माण्डका बारेमा उनले जति कुरा सायदैले बोलेका होलान् । बोल्दा पनि यसरी बोल्छन्, मानौँ उनको कुरा ‘साँच्चै हो कि’ भनेजस्तो हुन्छ । त्यसैले त क्यामेरा र बुम धारण गरेका युट्युबरहरू उनलाई एकछिन शान्त बस्न दिँदैनन् । राजकुमारी डायनालाई पापाराजीहरूले पछ्याए जसरी युट्युबरहरूले पुण्य गौतमलाई पछ्याइरहन्छन् ।

कतिसम्म भने, सडकपेटीमा बसेर आफ्नै सुरमा चिया पिउनसमेत पाउँदैनन् उनले । चियाको कपभन्दा अगाडि उनको मुखमा बुम वा पिन माइक आइपुग्छ । अनि सोधिन्छ, ‘अब देशमा के हुन्छ ?’

……

यस्तै अर्का पात्र छन्, जयकिशन बस्नेत । यिनी ‘धुम’ फिल्मका हिरो हुन् । फेरि तपाईं यशराज फिल्म्सले बनाउने ‘धुम’तिर उनको अनुहार नखोज्नुहोस् । यिनी ‘धुम मचाले धुम’ वाला धुम होइनन्, नेपाली ‘धुम’का हिरो हुन् ।

तपाईं फेरि नसोध्नुहोस्, त्यो फिल्म कहिले चल्छ ?

किनभने जयकिशन बस्नेतको ‘धुम’ उहिल्यै चलिसक्यो । त्यो पनि ‘धुम’ मात्र होइन । त्यसको दोस्रो, तेस्रो, चौथो सिक्वेल बनिसक्यो । हलमा लागिसक्यो । सहरमा जयकिशन बस्नेतको ‘धुम’को सिक्वेल नै बनेर प्रदर्शन भइसक्दा किन तपाईंले थाहा पाउनुभएन ?

धन्दा नमान्नुहोस्, तपाईंले मात्र होइन, अरू कसैले थाहा पाएन । तर यो सत्य हो कि फिल्म बन्यो, हलमा प्रदर्शनमा आयो, सिक्वेल बन्यो । युट्युबतिर खोज्नुभयो भने अझै फेला पार्न सक्नुहुनेछ ।

अब तपाईंले ओठ लेब्राएर भन्नुहोला, ‘जयकिशन बस्नेत पनि हिरो ?’

किनभने तपाईंले त उनलाई युट्युबरका लागि ‘अन्तर्वार्तादाता’का रूपमा मात्र देख्नुभएको छ ।  त्यो पनि भासिएको आवाजले आलोतातो घटनाको विश्लेषण गरिरहेको अवस्थामा ।

देशमा कुनै नयाँ तहल्का मच्चियोस्, जयकिशनलाई नबोली हुँदैन । खासमा त यिनी भाइरलहरूको पनि भाइरल हुन् । किनभने कुनै पनि कुरा भाइरल हुनासाथ त्यसमाथि टिप्पणी गर्न हाजिर हुन्छन् यिनी ।

उनीसँग कुनै साइनोसम्बन्ध नभएको विषयमा पनि उनी यसरी बोलिदिन्छन्, मानौँ त्यो उनकै घरभित्रको कुरा हो । अचम्मको कुरा त के पनि भने, यिनलाई देशभरका कुरा थाहा हुन्छ । कसले के गरे ? कसले के भने ? सबैसबै । यस्तो लाग्छ, जयकिशन बस्नेत नारदमुनिजस्तै हावामा उडेर सबैतिर के भइरहेको छ भनी चियो गर्न भ्याउँछन् । अनि सबै कुरा फरर भनिदिन्छन् ।

भन्नका लागि उनलाई मुख बार्नुपर्दैन । चलचित्र विकास बोर्डका फलानो–फलानो भ्रष्टाचारी हुन् भनी हाकाहाकी भनिदिन्छन्, वितरक र हलवालाले फिल्म निर्मातालाई कसरी मुर्गा बनाउँछन् भनी खुलमखुला पोल खोलिदिन्छन् ।

भुवन केसीलाई तथानाम गाली गर्न पनि भ्याउँछन् । फेरि भुवन केसीपुत्र अनमोल केसीले आफ्नो फिल्मका लागि ‘डेट’ दिएमा एक करोड रुपैयाँ पारिश्रमिक दिने कुरा पनि गर्छन् ।

जयकिशन बस्नेतको मन र मुखबीच कुनै पर्दा छैन । मनको कुरा मुखमा फुत्किहाल्छ ।

उनी ऋषि धमलालाई आराम गर्न सुझाव दिइरहेका हुन्छन् भने जन्मदेखि मर्दासम्म ‘कर’ले कस्ने अर्थमन्त्री स्वर्णिम वाग्लेलाई गाली गरिरहेका हुन्छन् । फेरि कुनै पनि पत्रकार, कलाकार वा नेतालाई कुन उपमा दिने भनी उनैले निर्धारण गरिदिन्छन् ।

जस्तो, ऋषि धमला महापत्रकार, प्रचण्ड महान् नेता, दुर्गेश थापा स्वरसम्राट् ।

उनले बोल्ने यस्तै खुराकका लागि युट्युबरहरू उनको पछि लाग्ने गर्छन् । कहिलेकाहीँ त उनी युट्युबरलाई नै कुटौँकुटौँ जस्तो पनि गर्छन् ।

……

अब पालो आयो, राजेन्द्र खड्गीको । ‘हामीलाई पनि मायाले हेर पार्वती’, ‘चञ्चले चञ्चले गण्डकी अञ्चले’ जस्ता गीतमा नाचिरहँदा उनले दुई किसिमको छवि बनाएका थिए । एक, जब्बर द्वन्द्व निर्देशक । दुई, फरक चरित्रका डान्सर ।

त्यसबेला टेलिभिजन वा फिल्ममा ‘द्वन्द्व निर्देशक’ भनी राजेन्द्र खड्गीको नाम आउँदा दर्शकहरू सिटी बजाएर हुटिङ गर्थे । तर, अहिले ?

अहिले मोबाइल स्क्रिनमा राजेन्द्र खड्गी आयो भने मान्छेहरूले या त हतारहतार स्क्रोल गर्छन्, या त भोल्युम म्युट गर्छन् ।

किनभने यतिबेला न उनलाई हेर्न सकिन्छ, न सुन्न । उनी मोबाइल रिल्स र टिकटकमा ‘मार्छु, काट्छु’ भन्दै दबङ शैलीमा प्रस्तुत हुन्छन् । प्रस्तुत पनि कसरी हुन्छन् भने, उनले बोलेका ९० प्रतिशत शब्दमा सेन्सर बोर्ड नै चाहिन्छ ।

उनी के बोल्छन् ? यहाँ लेख्न सकिँदैन । तर जे बोल्छन्, गतिलो बोल्दैनन् । त्यही कारण पछिल्लो समय कसैले नयाँ युट्युब च्यानल वा फेसबुक पेज सुरु गरेको छ भने राजेन्द्र खड्गीबाट ‘श्रीगणेश’ हुन्छ । युट्युबरहरू उनको घरसम्मै पुग्छन् । अनेक अनेक सोध्छन् ।

अन्तर्वार्ता लिनेलाई उनी ठाडा–ठाडा जवाफ मात्र दिँदैनन्, मुड्की ताकेर कुट्न पनि खोजिरहेका हुन्छन् । ऋषि धमलादेखि प्रकाश सुवेदीसम्म उनको फेला परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?