+
+
Shares

लामो यात्रामा शौचालयको सास्ती, महिलालाई सधैं उही चिन्ता

यात्रामा शौचालयलगायत आधारभूत सुविधा उपलब्ध हुनु यात्रुको सहजतासँगै स्वास्थ्य, सुरक्षा र मर्यादाको विषय पनि हो ।

मनिषा थापा मनिषा थापा
२०८३ असोज ३० गते २०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दसैंका लागि घर फर्किने महिला यात्रुले लामो दूरीको सार्वजनिक यातायातमा शौचालय अभावका कारण पिसाब रोक्नुपर्ने सास्ती भोगिरहेको लेखमा उल्लेख छ।

काठमाडौं । दसैं मनाउन घर फर्किने तयारीमा छिन् सीता, खड्का (नाम परिवर्तन) । काठमाडौंमा बस्दै आएकी उनलाई दसैं मनाउन पोखरा जानुछ । लामो समयपछि परिवारसँग भेट्ने, आफन्तसँग रमाउने र दसैंको टीका लगाउने उत्साह मनमा छ । तर, घर फर्किने खुसीसँगै एउटा चिन्ताले पनि उनलाई सताइरहेको छ, लामो बाटोमा पिसाबले च्याप्यो भने के गर्ने ?

काठमाडौं–पोखराको यात्रा उनका लागि नौलो होइन । तर, बाटोमा पिसाब लाग्ने र शौचालय सहजै नभेटिने कुरा सम्झिँदा उनलाई अप्ठ्यारो लाग्छ । एक त आफूलाई आपत परेका बेला भन्नेबित्तिकै गाडी रोकिदिँदैनन् । रोकिए पनि शौचालय भेटिँदैन । भेटिइहाले पनि धेरै फोहोर र असुरक्षित हुन्छ ।

सीतालाई जस्तै सरिता कार्कीलाई पनि दसैंको यात्रामा यही चिन्ताले सताएको छ । सोलुखुम्बु जान उनले सुमोको टिकट काटिसकेकी छिन् । घर पुग्ने उत्साह छ, परिवारसँग दसैं मनाउने रहर छ । तर, लामो सडक यात्रा सम्झिँदा उनको मनमा एउटै प्रश्न आउँछ, बाटोमा पिसाब लाग्यो भने के गर्ने ?

सरिताका अनुसार गत वर्षको दसैंमा पनि यात्राका क्रममा शौचालय जान सहज नभएपछि समस्या भोग्नुपरेको थियो । त्यसमाथि उनलाई पिसाबसम्बन्धी समस्या छ ।

त्यसैले, यसपालि पनि पुरानै समस्या फेरि दोहोरिने हो कि भन्ने चिन्ता उनलाई छ ।

यो सीता र सरिताको मात्रै समस्या होइन । लामो दूरीको सार्वजनिक यातायातमा यात्रा गर्ने धेरै यात्रुले भोग्ने साझा सास्ती हो । तर, शौचालयको सहज पहुँच नहुँदा महिलाले भोग्ने असहजता र स्वास्थ्यसम्बन्धी चिन्ता अझ बढी हुन सक्छ ।

कुनै बेला शौचालय नै नभएको जंगलतिर गाडी रोकिन्छ । पुरुषहरू पिसाब फेर्न सडकको छेउछाउतिर लाग्छन् । तर महिलालाई सहज हुँदैन । यस्तो अवस्थामा पिसाब च्यापेरै बस्नुपर्ने बाध्यता हुन्छ ।

पिसाब लागेपछि रोकिराख्नु उचित होइन

मूत्र रोग विशेषज्ञ डा. अनिल पुकार शाहले पनि यस्ता थुप्र्रै केस हेरेका छन्, जहाँ महिलाले लामो यात्रा पछि पिसाबको समस्या लिएर अस्पताल पुगेका छन् । उनका अनुसार लामो समयसम्म पिसाब रोकिराख्दा पिसाबथैलीमा असहजता र दुखाइ हुन सक्छ । त्यसैले, पिसाब लागेपछि सम्भव भएसम्म पिसाब फेर्नु उचित हुन्छ।

उनका अनुसार लगातार यो समस्या हुँदा संक्रमणको जोखिम हुनसक्छ ।

यो कुरालाई प्रस्टाउदै उनी भन्छन्, ‘मिर्गौलाबाट बनेको पिसाब निरन्तर पिसाबथैलीमा जम्मा हुन्छ । पिसाबथैली भरिँदै जाँदा पिसाब फेर्नुपर्ने हुन्छ । तर, लामो सडक यात्रामा शौचालयको सुविधा नहुँदा यात्रुले पिसाब रोकिराख्नुपर्ने बाध्यता भोग्छन् । यो समस्याले महिलामा मूत्रमार्गको संक्रमणको जोखिम हुन्छ । मेडिकल भाषामा यसलाई (युरिनरी ट्र्याक्ट इन्फेक्सन–यूटीआई भनिन्छ ।

उनका अनुसार ब्याक्टेरियाका कारण हुने यस्तो संक्रमणले मूत्रमार्गको कुनै पनि भागलाई प्रभावित पार्न सक्छ । लामो समयसम्म पिसाब रोकिराख्नु मात्रै यूटीआईको कारण भने होइन । तर, यात्राका क्रममा शौचालय जान नपाउने समस्या र पिसाबसम्बन्धी असहजताले महिलालाई थप सकसमा पार्न सक्छ । त्यसैले, लामो दूरीको यात्रामा शौचालयको सहज पहुँच आवश्यक रहेको उनको भनाइ छ ।

मन्त्रालयको पहल, कार्यान्वयनको प्रतीक्षा

राजमार्गका विश्रामस्थलमा शौचालयको अभावले यात्रुले भोग्ने सास्तीलाई मध्यनजर गर्दै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले पहल थालेको थियो ।

मन्त्रालयले १९ असोजमा पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार गर्दै देशभरका राजमार्गका स्थायी तथा अस्थायी विश्रामस्थलमा सबैका लागि पहुँचयोग्य शौचालय र आवश्यक पूर्वाधारको व्यवस्था गर्न आग्रह गरेको थियो ।

निर्माण भइसकेका विश्रामस्थलमा शौचालयको सुविधा सुनिश्चित गर्न र शौचालय भएका स्थानमा मात्रै सार्वजनिक सवारी रोक्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले जोड दिएको छ ।

तर, मन्त्रालयको यो पहल व्यवहारमा कत्तिको कार्यान्वयन हुन्छ र यात्रुले कहिलेबाट सहज रूपमा शौचालय प्रयोग गर्न पाउँछन् भन्ने कुरा भने यकीन छैन ।

पत्राचारपछि यात्रुले कहिले पाउँछन् सुविधा ?

राजमार्गका विश्रामस्थलमा शौचालय हुनु मात्रै पर्याप्त छैन । ती सफा, सुरक्षित र प्रयोग गर्न सहज पनि हुनुपर्छ । महिला तथा बालबालिकाले मर्यादित रूपमा प्रयोग गर्न सक्ने, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई सहज हुने तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको आवश्यकतालाई समेत सम्बोधन गर्ने पूर्वाधार आवश्यक छ ।

दसैंमा लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्छ । यस्तो समयमा शौचालयलगायत आधारभूत सुविधा उपलब्ध हुनु यात्रुको सहजतासँगै स्वास्थ्य, सुरक्षा र मर्यादाको विषय पनि हो ।

लेखक
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?