+
+
Shares

त्रिविले सातै प्रदेशमा दीक्षान्त समारोह गर्ने, कसरी हुँदैछ ?

त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोह सातै प्रदेशमा गर्ने भएको छ । काठमाडौंमा मात्र गर्दै आएको त्रिविले विद्यार्थीको सहजताको लागि सातै प्रदेशमा गर्न लागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई सहज बनाउन पहिलो पटक दीक्षान्त समारोह सातै प्रदेशमा गर्ने तयारी गरेको छ।
  • त्रिविले २०८३ साल पुसमा काठमाडौंमा मूल दीक्षान्त समारोह गर्ने र त्यसपछि प्रदेशअनुसार फरक समयमा समारोह गर्ने जनाएको छ।
  • त्रिविबाट यस वर्ष ९५ हजार ५४० विद्यार्थी दीक्षित हुँदै छन्, जसमा व्यवस्थापन संकायबाट ४३ हजार १४२ विद्यार्थी छन्।

‍३० असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन विद्यार्थी दुरदराजदेखि काठमाडौं आउनु पर्ने बाध्यता थियो । तर यो वर्षदेखि दीक्षान्त समारोह सातै प्रदेशमा गर्ने भएपछि काठमाडौं आउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।

त्रिविले  विद्यार्थीको सहजताको लागि पहिलो पटक दीक्षान्त समारोह सातै प्रदेशमा गर्दैछ ।

‘प्रदेश प्रदेशमा पुगेर छलफल गरिरहेका छौँ । हिजोमात्र सुदूरपश्चिमको धनगढीबाट फर्किएका छौँ,’ उपकुलपति प्रा.डा. भोला थापाले भने । त्रिविका पदाधिकारी अन्य प्रदेशमा पनि पुगिसकेका छन् ।

त्रिविका अनुसार २०८३ साल पुसमा काठमाडौंमा मूल दीक्षान्त समारोह आयोजना हुने छ ।

‘त्यसपछि प्रदेश प्रदेशमा हुनेछ । एकै पटक होइन, प्रदेश अनुसार फरक समयमा हुन्छ,’ उपकुलपति थापाले भने, ‘मिति तया गर्न भने बाँकी छ ।’

त्रिविको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई प्रादेशिक संरचनामा परिवर्तन गर्ने र उक्त कार्यालयले प्रदेशको दीक्षान्त समारोहको तयारी गर्ने छ । प्रादेशिक कार्यालयको प्रमुखको संयोजकत्त्वमा आंगिक, सामुदायिक र सम्बन्धन प्राप्त नीजि क्याम्पसको प्रमुख र कर्मचारीसमेत रहनेगरी प्रदेशमा समिति हुन्छ ।

उक्त समितिले प्रदेशको दीक्षान्त समारोहको आवश्यक तयारी गर्नेछ । ‘कुन ठाउँमा गर्ने भनेर समितिबाट सिफारिस हुन्छ,’ उपकुलपति थापाले भने, ‘सार्वजनिक स्थान वा क्याम्पसमा गर्न सकिन्छ ।’

दीक्षान्त समारोहमा प्रदेश–प्रदेशमा गर्ने भएपछि विद्यार्थी र सरोकारवाला उत्साहित भएका छन् । ‘सबै ठाउँबाट सकारात्मक प्रतिक्रिया आएको छ, उत्साह छ,’ थापाले भने ।

काठमाडौंमा जस्तो मुल समारोहको आयोजना भने प्रदेशमा गर्न नपर्ने उनले बताए । ‘मुल समारोह एउटा हुन्छ । सबै विधि प्रदेश प्रदेशमा गर्नुपर्दैन,’ उनले भने । प्रदेशका लागि अहिले सूचना आह्वान भएको छ । तर विद्यार्थीको आवेदन कम आएको छ । ‘अहिले थोरै आवेदन आएको छ । तर अन्तिम समयमा धेरै आउने अपेक्षा छ । थोरै भएपनि यसपटक गर्ने हो । सरुवात गर्नुपर्छ,’ उनले भने ।

पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी दीक्षान्त समारोहका लागि काठमाडौं आउन लाखौं रुपैया खर्च गरेर आउनु पर्ने थियो । समाराहोमा परिवारको सदस्यसमेत लिएर आउँदा खर्त र समय बढी लाग्ने गरेको थियो । कतिपय कर्मचारी कार्यालय छोडेर दीक्षान्त समारोहमा आउन पाउने गरेका थिएनन् । ‘प्रदेशमा गर्दा सबैलाई सहज हुन्छ । त्यसैले प्रदेशमा गर्न लागेका हौं,’ उनले भने । त्रिविका अघिल्लो पदाधिकारीको कार्यकालमा पनि प्रदेशमा गर्ने तयरी भएको थियो । तर सरकार परिवर्तन भएसँगै त्रिविको पदाधिकारी पनि फेरिएको थियो । नयाँ पदाधिकारी आएपछि दीक्षान्त समारोहबारे छलफलल गर्न प्रदेश प्रदेश पुगेको हो ।

९५ हजार ५४० विद्यार्थी दीक्षित हुँदै

त्रिविबाट यस वर्ष ९५ हजार ५४० विद्यार्थी दीक्षित हुदै छन् । विद्यार्थको ग्रेसलिस्ट त्रिविको ६७औँ वार्षिक दिवसको बैठकले पारित गरेको छ । १ असार २०८२ सालदेखि २०८३ साल असार मसान्तसम्म विभिन्न तह उत्तीर्ण गरेका कुल ९५ हजार ५४० विद्यार्थी दीक्षान्तका लागि योग्य रहेको त्रिविले जनाएको छ । कुल विद्यार्थीमध्ये प्राविधिकतर्फ १५.१० प्रतिशत र साधारणतर्फ ८४.९० प्रतिशत रहेका छन् ।

यस्तै, एमफिलतर्फ २५३, पीजीडीतर्फ १८४ र विद्यावारिधितर्फ १६६ जना रहेका छन् ।संकायगत रूपमा व्यवस्थापन संकायबाट सबैभन्दा धेरै ४३ हजार १४२ विद्यार्थी उत्पादन भएका छन् । शिक्षाशास्त्र संकायबाट १९ हजार ५३३, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १५ हजार ४४१ र कानुन संकायबाट ३ हजार १ विद्यार्थी रहेका छन् ।

त्यस्तै, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ६ हजार ६८८, इन्जिनियरिङ अध्ययन संस्थानबाट ५ हजार १६०, चिकित्साशास्त्र अध्ययन संस्थानबाट १ हजार ९२०, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट ४६३ र वन विज्ञान अध्ययन संस्थानबाट १९२ विद्यार्थी दीक्षान्तका लागि योग्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?