+
+
Shares

डा. भण्डारीको नेतृत्वमा मेरील्याण्डमा पहिलो दक्षिण एसियाली अमेरिकी स्वास्थ्य सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते २०:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको मेरील्याण्डमा डा. विशाल भण्डारीको नेतृत्वमा पहिलोपटक साउथ एसियन अमेरिकन हेल्थ समिट सम्पन्न भएको छ।
  • सम्मेलनमा दक्षिण एसियाली समुदायको मुटुरोग, मधुमेह, मानसिक स्वास्थ्य र भाषागत कठिनाइका कारण स्वास्थ्य सेवामा पहुँचबारे छलफल गरिएको थियो।
  • कार्यक्रममा अरुणा मिलर र डा. मीना सेषामणीले डा. विशाल भण्डारीसहित तीन जनालाई मेरील्याण्ड गभर्नर्स साइटेसन प्रदान गरी सम्मान गरेका थिए।

३० असोज, काठमाडौं । अमेरिकाको मेरील्याण्डमा पहिलोपटक ‘साउथ एसियन अमेरिकन हेल्थ समिट’ (दक्षिण एसियाली अमेरिकी स्वास्थ्य सम्मेलन) भएको छ ।

नेपाली मूलका चिकित्सक डा. विशाल भण्डारीको नेतृत्वमा १० अक्टोबरमा मेरील्याण्डस्थित ‘युनिभर्सिटिज एट शेडी ग्रोभ’ मा सम्मेलन आयोजना भएको हो । सम्मेलन मेरील्याण्ड गभर्नर्स कमिसन अन कम्युनिटी इनिसिएटिभ्स र गभर्नर्स कमिसन अन साउथ एसियन अमेरिकन अफेयर्सको संयुक्त आयोजनामा भएको हो ।

सम्मेलनमा दक्षिण एसियाली मूलका तीन प्रमुख चिकित्सक संस्थाहरू- ‘ग्रेटर वासिङ्टन एसोसिएसन अफ फिजिसियन्स अफ इन्डियन ओरिजिन’, ‘एसोसिएसन अफ फिजिसियन्स अफ पाकिस्तानी डिसेन्ट अफ नर्थ अमेरिका’ र ‘नेपलिज हेल्थ एसोसिएसन अफ मेरील्याण्ड’ सहभागी थिए ।

अमेरिकी स्वास्थ्य क्षेत्रको तथ्याङ्कमा दक्षिण एसियालीहरूलाई छुट्टै समूहका रूपमा नसमेटेर सामान्यतया फराकिलो ‘एसियाली’ वर्गभित्र सीमित गर्दा उनीहरूको विशिष्ट स्वास्थ्य जोखिमहरू ओझेलमा पर्दै आएको कमिसनका अध्यक्ष प्रीत तखरले बताएका थिए । दक्षिण एसियाली समुदायमा मुटुसम्बन्धी रोग र मधुमेहको जोखिम अत्यधिक भए पनि क्लिनिकल अनुसन्धानमा उनीहरूको प्रतिनिधित्व निकै कम रहेको तथा भाषाको कठिनाइ र मानसिक स्वास्थ्यप्रतिको सामाजिक सङ्कोचका कारण धेरै परिवारहरू स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनुपरेको तखरको भनाइ थियो।

अमेरिकामा दक्षिण एसियाली मूलकी पहिलो लेफ्टिनेन्ट गभर्नर अरुणा मिलर सम्मेलनमा प्रमुख अतिथिका रूपमा सहभागी थिइन् । त्यसैगरी, मेरील्याण्डकी स्वास्थ्यमन्त्री डा. मीना सेषामणीले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै हृदयरोग, मधुमेह, मानसिक स्वास्थ्य र सामाजिक सङ्कोचका विषयमा जोड दिएकी थिइन् ।

कार्यक्रममा मेरील्याण्डका गभर्नर वेस मूरका तर्फबाट लेफ्टिनेन्ट गभर्नर मिलर र स्वास्थ्य मन्त्री सेषामणीले सम्मेलनका निर्देशक तथा गभर्नर्स कमिसनका स्वास्थ्य समिति सभापति डा. विशाल भण्डारीलाई ‘मेरील्याण्ड गभर्नर्स साइटेसन’ प्रदान गरी सम्मान गरेका थिए । डा. भण्डारीसँगै कमिसनका उपाध्यक्ष डा. अहमद नवाज र मेरील्याण्ड नेपाली मेडिकल सोसाइटीकी अध्यक्ष, नर्स तथा गीतकार सुनिता बस्नेतलाई पनि गभर्नर्स साइटेसनबाट सम्मानित गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?