+
+
Shares

कृषि वैज्ञानिकलाई कर्णालीको योजना कोर्ने जिम्मा

यज्ञ खत्री यज्ञ खत्री
२०८३ असोज ३० गते २०:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुख्यमन्त्री मंगलबहादुर शाहीले वरिष्ठ कृषि वैज्ञानिक डा. भीमबहादुर खत्रीलाई कर्णाली प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका छन् ।
  • असोज २३ गतेको मन्त्रिपरिषद् बैठकले डा. खत्रीलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो ।
  • जुम्लाका डा. खत्रीले दुई दशक आलु अनुसन्धान, मूल बीउ उत्पादन र प्रविधि विकासमा काम गरेका छन् ।

३० असोज, सुर्खेत । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशको योजना कोर्ने सारथीका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा. भीमबहादुर खत्रीलाई रोजेका छन् ।

असोज २३ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले डा. खत्रीलाई प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।

कार्यभार सम्हाले लगतै कर्णाली प्रदेश विकासको सूचक तयार गर्ने, आधार खोज्ने र योजना निर्माणको जिम्मेवारी अब वरिष्ठ कृषि वैज्ञानिक खत्रीको काँधमा परेको छ । र, गत साउनदेखि रिक्त रहेको योजना आयोगले समेत नेतृत्व पाएको छ ।

तातोपानी गाउँपालिका–४, जुम्लाका बासिन्दा रहेका डा. खत्री कर्णाली प्रदेशको पहिलो नीति तथा योजना आयोगको उपाध्यक्ष बन्ने दौडमा थिए । २०७५ मा प्रदेश स्थापना भएसँगै तत्कालीन माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकार गठन भएको थियो ।

तर तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुरले अर्का कृषिविज्ञ दैलेखका डा. पुण्यप्रसाद रेग्मीलाई रोजे । ‘डा. भिमबहादुर खत्री २०७५ मै पहिलो दाबेदार हुनुहुन्थ्यो । सबैको रोजाइ पनि उहाँ नै हुनुहुन्थ्यो’ नेकपाका एक नेता भन्छन्, ‘पछि नेताहरूको दबाब र राजनीतिक व्यवस्थापनका लागी रेग्मीजीलाई उपाध्यक्षमा नियुक्त गरिएको थियो ।’ तत्कालीन उपाध्यक्ष रेग्मीले आफुसलाई स्वस्फुर्तरुपमा काम गर्न नदिइएको भन्दै बिचैमा राजीनामा दिएका थिए ।

पहिलो उपाध्यक्ष बन्ने दौडमा रहेका डा. खत्री ८ वर्ष पछि आफू बन्न चाहेकै संस्थाको नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन् । प्रदेश सभामा प्रतिनिधित्व नभएका जिल्लाबाट संवैधानिक पदमा नियुक्त गर्ने पार्टीको निर्णय अनुसार नै डा. खत्री उपाध्यक्षमा नियुक्त भएको नेकपा प्रदेश संयोजक विमला केसी बताउँछिन् ।

नेकपा कर्णाली संसदीय दलका नेता मंगलबहादुर शाही १३ साउनमा कर्णालीको पाँचौँ मुख्यमन्त्री नियुक्त भएका थिए । आफू नियुक्त भएको दुई महिनापछि उनले सरकारको प्रमुख कानुनी सल्लाहकार मुख्यन्यायधिवक्ता र प्रदेशको प्रमुख योजनाकार प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री अध्यक्ष रहेको योजना आयोगको उपाध्यक्षमा डा. खत्रीलाई नियुक्त गरिएको छ । प्रदेश सरकारले हालसम्म योजना आयोगका सदस्यहरू भने नियुक्त गरिसकेको छैन ।

प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. खत्री नेपालका एक वरिष्ठ कृषि वैज्ञानिक हुन् । वि.सं. २०१४ फागुन ३ गते तातोपानी गाउँपालिका–४, जुम्लामा जन्मिएका डा. खत्रीले अस्ट्रेलियाको तस्मानिया विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान अध्ययन संस्थानबाट कृषिमा विद्यावारिधि गरेका छन् ।

आलु अनुसन्धानमा दुई दशक

उनी विशेष गरी नेपालमा आलु बालीको अनुसन्धान, प्रविधि विकास, मूल बीउ उत्पादन प्रणालीको स्थापना तथा बागवानी क्षेत्रमा उनी चार दशकदेखि सक्रिय छन् । बागवानी विद् तथा प्राध्यापक समेत रहेका डा. खत्री त्रिभुवन विश्वविद्यालयमा बागवानी विषयको प्राध्यापन तथा विद्यावारिधि तहका शोधार्थीहरूको प्राज्ञिक निर्देशकका रूपमा समेत सक्रिय छन् ।

सन् १९९५ देखि २०१६ सम्म राष्ट्रिय आलु अनुसन्धान कार्यक्रमको वरिष्ठ वैज्ञानिक रहेर करिब २१ वर्ष आलुको जात सुधार, मूल बीउ उत्पादन र वास्तविक आलुको बीउ (टिटिपिएस) प्रविधि प्रवद्र्धनमा उनको लामो योगदान रहेको छ । अन्तर्राष्ट्रिय आलु केन्द्रलगायत विभिन्न विश्व स्तरीय संस्थाहरूसँगको सहकार्यमा अनुसन्धान परियोजनाहरूको सफल सञ्चालन तथा किसान उपयोगी प्रविधि विकासमा खत्रीले योगदान पुर्‍याएका छन् ।

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?