+

क्यानको पछिल्लो कामबाट आईसीसी प्रभावित छ : पारस खड्का

२०८३ असोज  ३१ गते १६:३० २०८३ असोज ३१ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यान सचिव पारस खड्काले एनपीएलका पछिल्ला दुई संस्करणको कामका कारण आईसीसीलाई प्रभाव पार्न सकिएको र प्रतियोगिताले मान्यता पाएको बताए ।
  • उनले आईसीसीको स्वीकृतिपछि हरेक टोलीले ७ नेपाली र ४ विदेशी खेलाडी मैदानमा राख्न पाउने र विदेशी खेलाडीको संख्या ६ देखि ८ सम्म हुने प्रावधान रहेको बताए ।
  • खड्काले मैदानको स्तरोन्नति भइरहेको, दर्शक क्षमता १२ हजारसम्म पुग्न सक्ने र डीआरएस राख्नेबारे अझै टुङ्गो नलागेको बताए ।

३१ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएलका पछिल्ला दुई संस्करणमा गरेको कामका कारण आईसीसीलाई प्रभाव पार्न सकिएको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार क्यानका सचिव खड्काले विगतमा आफूहरूले गरेको कामकै कारण प्रभाव पार्न सकिएको र एनपीएलले आईसीसीको मान्यता पाएको बताएका हुन् ।

आईसीसीको नो अब्जेक्सन एक वर्षको रहेको र यसले जिम्मेवारी पनि बढेको उनको भनाइ छ । आईसीसीको स्वीकृति पाएसँगै फ्रेन्चाइज टोलीले टेस्ट प्लेइङ नेसनका ठूला खेलाडी ल्याउन सक्ने क्यानका सचिव खड्काको विश्वास छ ।

एनपीएल गभर्निङ काउन्सिलका प्रमुखसमेत रहेका खड्काले आईसीसीको स्वीकृतिका लागि भरिएको फाराममा ६ देखि ८ विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिएको बताए । योभन्दा अघि ६ जना मात्र विदेशी खेलाडी राख्न पाउने प्रावधान थियो ।

एसोसिएट क्रिकेटलाई प्रवर्द्धन गर्न एक जना खेलाडी राख्न पाउने प्रावधान पनि रहेको उनी बताउँछन् ।

खड्काले हरेक टोलीले ७ नेपाली खेलाडी र चार विदेशी खेलाडी मैदानमा राख्न पाउने बताए । भविष्यमा आईसीसीको स्वीकृति छिटो पाउन सके फ्रेन्चाइज टोलीले सहज रूपमा खेलाडी राख्न पाउने उनको आशा छ ।

लिग सकिएको ६० दिनभित्र सबै रिपोर्ट पठाउनुपर्ने र अर्को सिजनका लागि अप्लाई गर्नुपर्ने प्रावधान रहेको उनी बताउँछन् । फ्रेन्चाइज टोलीले एउटा राम्रो खेलाडी भित्राउन कम्तीमा २ हजार डलरसम्म खर्च गर्नुपर्ने अवस्था रहेको र फ्रेन्चाइज टोली अहिले त्यो आर्थिक अवस्थामा नरहेको क्यानका सचिव पारस खड्काले स्पष्ट पारे ।

तथापि, सबै फ्रेन्चाइज टोलीले कम्तीमा दुई स्टार ल्याउने प्रयासमा रहेको खड्काले बताएका छन् । आईसीसीको प्यानल कमेन्टेटर ल्याउने तयारी भइरहेको उनले सार्वजनिक गरे ।

क्यान सचिव पारसले डिसिजन रिभ्यु सिस्टम (डीआरएस) राख्नेबारे अझै टुङ्गो लागिनसकेको, तथापि नजिक रहेको स्पष्ट पारेका छन्। यसपटक पूर्वाधारका हिसाबले पनि केही नयाँ गर्ने उद्देश्य रहेको उनले बताएका छन् ।

यू–१९ महिला विश्वकपका लागि नेपालको तयारी हेर्न आईसीसीको टोली एक महिनाअघि मैदानको अवस्था निरीक्षणमा आएको थियो ।

उक्त टोलीले दिएको गाइडलाइनअनुरूप पनि पूर्वाधारमा स्तरोन्नति गरिएको क्यानका सचिव पारसले बताएका छन् । उनले मैदानमा दर्शकको क्षमता पनि केही मात्रामा बढ्न सक्ने आशा गरे । सबै गरेर १२ हजार क्षमता हुन सक्ने उनको भनाइ छ ।

क्यान पारस खड्का

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय