+
+
Shares

धनकुटामा पनि गरियो फूलपाती बढाइँ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३१ गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महासप्तमीका अवसरमा शनिबार धनकुटाको निशान भगवती मन्दिरमा डोलीसहित निशान बजार परिक्रमा गराई तल्लो टुँडिखेलमा पूजाआजा गरेर फूलपाती बढाइँ गरिएको छ।
  • विसं १८३१ देखि धनकुटामा फूलपाती बढाइँ गर्ने परम्परा चलिरहेको छ भने नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीले सलामी दिएका थिए।
  • फूलपाती बढाइँमा जिल्लाका सुरक्षा निकाय, जनप्रतिनिधि, नागरिक समाज र स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो।

३१ असोज, धनकुटा । बडादशैंको सातौँ दिन अर्थात् महासप्तमीको अवसरमा शनिबार धनकुटाको प्रसिद्ध धार्मिकस्थल निशान भगवती मन्दिरमा विभिन्न कार्यक्रम आयोजना गरी फूलपाती बढाइँ गरिएको छ ।

मन्दिर परिसरबाट डोलीमा निशान भगवतीको निशान बोकेर बजार परिक्रमा गराउँदै धनकुटाको तल्लो टुँडिखेलमा पुर्‍याइएको थियो । त्यहाँ विधिपूर्वक पूजाआजा गरी फूलपाती बढाइँ गरिएको हो ।

धनकुटा नगरपालिका–६ स्थित बीचबजारमा रहेको निशान भगवती मन्दिरमा विसं १८३१ देखि फूलपाती बढाइँ गरिँदै आएको छ । मन्दिरभित्रबाट निशान निकालेर सलामी दिएपछि डोलीमा राखी बजार परिक्रमा गराइएको थियो । निशानलाई भीमसेन थान, भीमनारायण चोक, माथिल्लो कोप्चे र तल्लो कोप्चे हुँदै तल्लो टुँडिखेलमा पुर्‍याएर विधिपूर्वक पूजाआराधना गरिएको थियो । उक्त अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीले सलामी दिएका थिए ।

पूजाआजा सम्पन्न भएपछि निशानलाई पुन: धनकुटा बजार परिक्रमा गराउँदै निशान भगवती मन्दिरमा भित्राइएको थियो ।

निशान भगवती मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरे गोठालेका अनुसार धनकुटामा लामो समयदेखि फूलपाती बढाइँ गर्ने परम्परा छ । झाँकीसहित निशान देवीलाई डोलीमा राखेर अशोक, केरा, जयन्ती, हलेदो, बेलपत्र, धान, सामा, दारिम र मानेसहित नौ प्रकारका वनस्पति समावेश गरी विशेष पूजाआजा गर्ने चलन रहेको उनले बताए ।

फूलपाती बढाइँमा जिल्लाका तीनवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र स्थानीयवासीको बाक्लो उपस्थिति थियो। फूलपाती बढाइँ अवलोकन तथा पूजाआजा गर्न गाउँगाउँबाट आएका दर्शनार्थीको समेत भीड लागेको थियो ।

नवरात्रका अवसरमा निशान भगवती मन्दिरमा दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठपारायण गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने परम्परा छ ।

यसअघि घटस्थापनाका दिन विधिपूर्वक धान, जौ र मकैको जमरा राखिन्छ । उक्त जमरा दशैंको टीकाका दिन देवीको प्रसादका रूपमा ग्रहण तथा वितरण गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?