+
+
Shares

‘दशैं मनाउन घर छ न आफन्त’

पहिले दशैंका बेला गाउँबस्तीमा चहलपहल हुन्थ्यो । विदेश गएकाहरू घर फर्किन्थे । काठमाडौंमा बस्नेहरू गाउँघर पुग्थे । पिङ हालिन्थे । तर, यसपालि बाढी प्रभावित क्षेत्रको अवस्था फरक छ । अहिले सन्नाटा छ । उत्सव छैन ।  

दिनेश गौतम दिनेश गौतम
२०८३ असोज ३१ गते १९:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको उत्तरगया गाउँपालिका–४ तल्लो पैरेबेँसीका ताराबहादुर थापाले असोज १० को बाढीले बस्ती र पाँच जनाको परिवार गुमाएपछि गाउँ फर्किन मन नभएको बताए।
  • बाढीबाट विस्थापित बेत्रावतीका २५ घरपरिवार स्वारडाँडामा टेन्टमा दशैं मनाइरहेका छन् भने कोही आफन्तकहाँ र कोही गुम्बामा आश्रय लिएर बसेका छन्।
  • गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसी र टिमुरेका विस्थापितहरूले काठमाडौंका गुम्बा र होल्डिङ सेन्टरमै दशैं मनाउनुपरेको र घर फर्किन नसकेको बताए।

३१ असोज, काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिका–४, तल्लो पैरेबेँसीका ताराबहादुर थापालाई गाउँको सम्झना आउँछ । तर, उनलाई गाउँ फर्किन मन छैन । असोज १० गते आएको बाढीले उनको बस्ती मात्र बगाएन, परिवारका पाँच जनाको ज्यानसमेत लियो ।

‘यो साल दशैं होइन, दशा बनेर आयो,’ उनले भने, ‘दशैं आयो, तर बस्ने घर छैन । बस्ती बगर बनेको छ ।’

अघिल्लो साता कागजात बनाउन उनी उत्तरगया पुगेका थिए । ‘दशैं नजिकिँदै गर्दा मातृभूमि पुगेको थिएँ । निकै भावुक भएँ । त्यसपछि काठमाडौं आएँ,’ उनले भने । उनी हाल मकवानपुरको हेटौंडामा बसिरहेका छन् ।

तल्लो पैरेबेँसीमा उनका पाँच दाजुभाइका घर लहरै थिए । अहिले कोही काठमाडौंमा छन् भने कोही भक्तपुरमा । ‘दशैं लाग्यो । कोही कता, कोही कता छौँ । यो वर्ष टीका लगाउने कुरा भएन,’ उनले भने, ‘जिन्दगीभरको पीडा भयो । अब त्यो ठाउँमा फर्किन मन छैन । बाँचेका परिवारका सदस्य बसेर दु:ख साटासाट गरेका छौँ ।’

पहिले दशैंका बेला गाउँबस्तीमा चहलपहल हुन्थ्यो । विदेश गएकाहरू घर फर्किन्थे । काठमाडौंमा बस्नेहरू गाउँघर पुग्थे । पिङ हालिन्थे । तर, यसपालि अवस्था फेरिएको छ ।

‘तर, अहिले सन्नाटा छ । उत्सव छैन । गाउँ शून्य छ,’ रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव लामिछानेले भने, ‘बाढीले सबै लग्यो ।’

दशैंमा मठमन्दिरमा पूजा हुन्थ्यो । मेला लाग्थ्यो । अहिले ती ठाउँहरू बगरमा परिणत भएका छन् । ‘गाउँमा केही पनि छैन,’ प्रधानाध्यापक लामिछानेले भने ।

बाढीबाट विस्थापित भएपछि विद्यालयलाई आवासीय बनाइएको थियो । दशैंको बिदा भएकाले विद्यार्थीहरूलाई परिवार वा आफन्त जहाँ छन्, त्यहीँ पठाइएको छ ।

‘अभिभावक खोजेर पठाएका छौँ । परिवार हुनेहरू परिवार भएकै ठाउँमा गएका छन् । कोही आफन्तकहाँ गएका छन्,’ उनले भने ।

नुवाकोटको बेत्रावतीस्थित इन्द्रमाया डंगोलको घर बाढीले बगाएपछि उनी रसुवास्थित माइतीमा पुगेकी छन् ।

‘दशैं मनाउन घर छैन । बस्ने ठाउँ छैन । माइत आएकी छु,’ उनले भनिन्, ‘यसपटकको दशैंमा सबैलाई दु:ख र पीडा भयो ।’

बाढीले क्षति पुर्याएको बेत्रावती क्षेत्र

बेत्रावतीकै सुजन लवट फूलपातीको दिन बिहानसम्म बटारमा थिए । उनी साँझसम्म होल्डिङ सेन्टर स्वारडाँडा पुग्ने तयारीमा थिए । बाढीबाट विस्थापित भएपछि उनीहरू स्वारडाँडामा टेन्ट टाँगेर बसिरहेका छन् ।

‘दशैं स्वारडाँडामै मनाउने हो । सबैको परिवार तितरबितर भएको छ । कोही कता, कोही कता छौँ,’ उनले भने ।

बस्ने ठाउँको अभावमा बाढीबाट विस्थापित परिवारका सदस्यहरू एकै ठाउँमा बस्न पाएका छैनन् ।

बेत्रावतीकै नारायणमान डंगोल बाढीबाट विस्थापित भएपछि भदौ २४ गतेदेखि स्वारडाँडास्थित टेन्टमा बसिरहेका छन् ।

‘दशैंमा टेन्टको बसाइ छ । सामूहिक रूपमा पकाएर खाइरहेका छौँ । दाल, नुन, तेल, चामल छ । पकाउने भाँडाकुँडा छन्,’ उनले भने, ‘तर, दशैं टेन्टमै मनाउनुपर्ने भयो । कुनै उत्साह र उमङ्ग छैन ।’

कोहीले आफन्त गुमाएका छन्, कोहीले परिवारका सदस्य । बाढीबाट प्रभावित परिवारका लागि यसपालिको दशैं पीडामै बितिरहेको छ ।

‘यस्तो दु:खमा दशैं मनाउने अवस्था छैन । सबै दु:खमा छौँ । घरबार छैन । दु:खमा यस्तै हो भनेर बसेका छौँ,’ बेत्रावतीका मिलन श्रेष्ठले भने ।

स्वारडाँडामा बेत्रावतीका २५ घरपरिवार टेन्टमा बसिरहेका छन् ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुबेँसीका सिङ्गी धिन्डुप तामाङ काठमाडौंको स्वयम्भूस्थित एलो गुम्बामा एक महिनाभन्दा बढी समय आश्रय लिएर बसे । सरकारले भाडामा बस्ने विस्थापितलाई मासिक १५ हजार रुपैयाँ दिने भएपछि उनी अहिले कोठा भाडामा लिएर बसेका छन् । यद्यपि, उनी बिहानदेखि साँझसम्म गुम्बामै बिताउँछन् ।

‘तर, गाउँघरकै याद आउँछ । झन् दशैंको बेला छ । निद्रा लाग्दैन । मन गाउँमै पुग्छ,’ उनले भने, ‘राति ब्युँझिएपछि निद्रा लाग्दैन । गाउँकै याद आउँछ । गाह्रो परेको छ, तर बाध्यता भयो ।’

गोसाइँकुण्ड गाउँपालिका–५ का वडासचिव जंगे तामाङ पनि सोही गुम्बामा आश्रय लिइरहेका छन् ।

‘गुम्बामै छौँ । दशैं मनाउने अवस्था छैन, शोक छ । ४९ दिनको घेवा त सकियो, तर अझै एक वर्ष केही गर्न मिल्दैन,’ उनले भने ।

उनका अनुसार गुम्बामा करिब चार सय जना आश्रय लिएर बसिरहेका छन् ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालय, टिमुरेका प्रधानाध्यापक फुर्पु दोर्जे घले पनि काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बामा छन् । उनीसँगै टिमुरेका २५३ घरपरिवारका करिब चार सय जना त्यहाँ आश्रय लिएर बसिरहेका छन् ।

‘दशैं लाग्यो, तर हामी होल्डिङ सेन्टरमै छौँ,’ उनले भने, ‘दु:खमा दशैं मनाएका छौँ ।’

४९ दिनको घेवा सकिए पनि टिमुरे फर्किने अवस्था नरहेकाले आफूहरू गुम्बामै बस्न बाध्य भएको उनले बताए ।

‘अस्थायी बासको व्यवस्था भए पनि हुने थियो । महिनाको १५ हजार रुपैयाँले कोठाभाडा पुग्दैन । कोठा खोजेर बस्न खोज्दा पनि कोठै नदिने रहेछन्,’ उनले भने ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?