+

विश्व विजेता इरफान पठान पोखरा एभेन्जर्सको क्रिकेट एम्बासडर नियुक्त

२०८३ असोज  ३१ गते २०:०९ २०८३ असोज ३१ गते २०:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा एभेन्जर्सले भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इरफान पठानलाई एनपीएलको तेस्रो सिजनअघि आधिकारिक क्रिकेट एम्बासडर नियुक्त गरेको छ ।
  • पठानले भारतका लागि २९ टेष्ट, १२० ओडिआई र २४ टी२०आई खेल्दै सन् २००७ को आईसीसी पुरुष टी–२० विश्वकप जितेका थिए ।
  • पोखराले मुख्य प्रशिक्षक अजन्था मेन्डिस, विदेशी खेलाडीहरु शाकिब अल हसन र धनञ्जय लक्षणसहित टोली निर्माण गर्दै उपाधि लक्ष्य लिएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा सन् २००७ को आईसीसी पुरुष टी–२० विश्वकप विजेता इरफान पठानलाई आफ्नो आधिकारिक क्रिकेट एम्बासडर नियुक्त गरेको छ ।

एनपीएलको तेस्रो सिजन सुरु हुनुअघि पोखरा एभेन्जर्सले शुक्रबार पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरिएको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएका पठानको अनुभव, विरासत र क्रिकेटप्रतिको लगावले टोलीको पहिचान तथा लोकप्रियता थप विस्तार गर्न सहयोग पुग्ने विश्वास फ्रेन्चाइजले लिएको छ ।

भारतका पूर्व बायाँहाते तीव्र गतिका बलर तथा अलराउन्डर पठान सन् २००७ मा भारतले पहिलो पटक आईसीसी पुरुष टी–२० विश्वकपको उपाधि जित्दा टोलीका महत्त्वपूर्ण सदस्य थिए । बलिङ र ब्याटिङ दुवैमा योगदान दिन सक्ने क्षमताका कारण उनले अन्तर्राष्ट्रिय क्रिकेटमा विशेष पहिचान बनाएका थिए ।

४१ वर्षीय पठानले भारतका लागि २९ टेष्ट, १२० ओडिआई र २४ टि२०आई खेल खेलेका छन् । उनले टेष्टमा १ शतक मदतमा १ हजार १०५ रन बनाएका छन् १०० विकेट लिएका छन् ।

यस्तै ओडिआईमा १ हजार ५४४ रन बनाउँदा १७३ विकेट लिएका छन् । टी२०आईमा भने उनले १७२ रन बनाएका छन् भने २८ विकेट लिएका थिए ।

पठानको नियुक्तिसँगै पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो सिजनमा आफ्नो ब्रान्ड पहिचान र क्रिकेट समर्थकसँगको सम्बन्धलाई थप बलियो बनाउने लक्ष्य राखेको छ । उनको अन्तर्राष्ट्रिय अनुभव र लोकप्रियताले नेपाली क्रिकेटप्रति विश्व क्रिकेट समुदायको चासो बढाउनसमेत मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

पोखरा एभेन्जर्सले विश्व विजेता पठानलाई नेपाल तथा आफ्नो टोलीमा स्वागत गर्दै नयाँ भूमिकाका लागि शुभकामना व्यक्त गरेको छ ।

एनपीएलको तेस्रो संस्करणको तयारी गरिरहेको पोखरा एभेन्जर्सले यस सिजन मुख्य प्रशिक्षकमा श्रीलंकन पूर्व स्टार स्पीनर अजन्था मेन्डिस र विदेशी खेलाडीमा बंगलादेशी चर्चित अलराउण्डर शकिब अल हशनलाई नियुक्त गरिसकेको छ । मेन्डिसले नेपाल आएर टिमलाई प्रशिक्षण दिन सुरु गरिसकेका छन् । श्रीलंकाका अलराउन्डर धनञ्जय लक्षणलाई भने लगातार दोस्रो सिजन टोलीमा निरन्तरता दिएको छ ।

क्रिकेट एम्बासडरमा विश्वविजेता इरफान पठान नियुक्त भएपछि पोखराको चर्चा अझ बढेको छ ।

पोखराले मार्की खेलाडी कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई निरन्तरता दिएको छ । यस्तै अक्सनमार्फत अर्जुन घर्ती मगर, विवेक रानामगर, सुदीप अर्याल, सन्नी बीके, विपिन आचार्य र प्रतीक पोखरेललाई टोलीमा आबद्ध गरेको छ ।

स्थानीय प्रतिभाको पहिचानदेखि अनुभवी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको संयोजनसम्मलाई प्राथमिकता दिँदै पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणका लागि बलियो टोली निर्माण गर्दै उपाधि जित्ने लक्ष्य लिएको छ ।

इरफान पठान पोखरा एभेन्जर्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय