+
+
Shares

राखी सावन्तविरुद्ध पक्राउ पुर्जी, भनिन्- ‘जेल जान तयार छु’

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १ गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झाँसी अदालतले सन् २०१० को आत्महत्यासम्बन्धी पुरानो मुद्दामा बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध गैरजमानती पक्राउ पुर्जी जारी गरेको छ।
  • अदालतले प्रहरीलाई राखीलाई पक्राउ गरी १ डिसेम्बर २०२६ भित्र अदालतमा उपस्थित गराउन निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
  • राखीले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै घटनासँग आफ्नो सम्बन्ध नरहेको र जेल जानुपरे पनि तयार रहेको बताएकी छन्।

बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको उत्तर प्रदेशस्थित झाँसीको अदालतले गैरजमानती पक्राउ पुर्जी जारी गरेको छ । सन् २०१० मा उनको टेलिभिजन कार्यक्रम ‘राखी का इन्साफ’ मा सहभागी एक व्यक्तिको आत्महत्यासम्बन्धी पुरानो मुद्दामा अदालतले यस्तो आदेश दिएको हो । पटक–पटक बोलाउँदा पनि अदालतमा उपस्थित नभएपछि अक्टोबर १६ मा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो मुद्दा झाँसीको प्रेमनगर क्षेत्रका लक्ष्मण अहिरवारसँग सम्बन्धित छ । सन् २०१० मा लक्ष्मण आफ्नी पत्नी अनीतासँगको वैवाहिक विवादबारे छलफल गर्न राखीले सञ्चालन गर्ने कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमको एउटा भाग सन् २०१० को अक्टोबरमा प्रसारण भएको थियो ।

कार्यक्रमका क्रममा राखीले लक्ष्मणलाई ‘नामर्द’ भनेको आरोप छ । त्यसको केही समयपछि सन् २०१० नोभेम्बरमा लक्ष्मणले आत्महत्या गरेका थिए । उनकी आमा सावित्रीले छोरालाई टेलिभिजन कार्यक्रममा अपमान गरिएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । परिवारले कार्यक्रमका क्रममा गरिएको व्यवहारले लक्ष्मणलाई मानसिक रूपमा असर गरेको आरोप लगाएको छ । यस प्रकरणमा राखीसहित कार्यक्रमसँग सम्बन्धित अन्य व्यक्तिविरुद्ध पनि मुद्दा दर्ता भएको थियो ।

राखीले भनिन्, ‘जेल जान तयार छु’

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि राखीले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै प्रतिक्रिया दिएकी छन् । उनले उक्त घटनासँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेकी छन् ।

राखीका अनुसार ‘राखी का इन्साफ’ कार्यक्रम सञ्चालन गर्दा आफू टेलिभिजन च्यानलको निर्देशनअनुसार काम गर्ने प्रस्तोता मात्र थिइन् । कार्यक्रममा सहभागीहरूसँग च्यानलले सम्झौता गरेको उनको भनाइ छ । उनले आफूलाई उक्त व्यक्तिसमेत याद नभएको बताउँदै पुरानो घटनामा आफ्नो संलग्नता नरहेको जिकिर गरेकी छन् ।

उनले आफ्नो प्रतिक्रियामा देशका जनताका लागि जेल जानुपरे पनि तयार रहेको बताएकी छन् । साथै, आफू कानुनको सम्मान गर्ने व्यक्ति भएको पनि उल्लेख गरेकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, अदालतले प्रहरीलाई राखीलाई पक्राउ गरी डिसेम्बर १, २०२६ भित्र अदालतमा उपस्थित गराउन निर्देशन दिएको छ । सोही दिन मुद्दाको अर्को सुनुवाइ पनि हुने तय भएको छ ।

यो मुद्दामा लक्ष्मणको परिवारले लगाएको आरोप र राखीले गरेको दाबी फरक छन् । पक्राउ पुर्जी जारी हुनु आफैँमा दोषी ठहर हुनु होइन । मुद्दाको अन्तिम फैसला अदालतबाट हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?