२ असोज, काठमाडौं । नवरात्रका अवसरमा पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको ऐतिहासिक एवं धार्मिकस्थल मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।
दसैंको नवदुर्गा सुरु भएदेखि मौलाकालिका दर्शन गर्न जाने क्रम बढेको हो । पहिले गैंडाकोटबाट माथि मन्दिरसम्म हिँडेर जानुपर्नेमा अहिले मन्दिरसम्म पुग्नका लागि केबलकार निर्माण भएपछि सहज भएको हो ।
धार्मिक सेवा समिति मौलाकालिकाका अनुसार यस वर्ष नवदुर्गा लागेसँगै भक्तजनको सङ्ख्या बढेको छ । यस वर्ष नवदुर्गा लागेपछि र त्यसअघि पनि भक्तजन बढेको समितिले जनाएको छ । फूलपाती, अष्टमी र नवमीमा मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।
करिब पाँच सय वर्ष पहिले पाल्पा राज्यको सैनिक टुकडीले मौला राखेर शक्तिपीठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको किंवदन्ती छ ।
मौलाकालिका शक्तिपीठको दर्शन र पूजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । यही आस्थाका कारण नेपालका विभिन्न जिल्लाबाट पूजाआजाका लागि भक्तजन मौलाकालिका पुग्ने गरेका छन् ।
प्रतिक्रिया 4