News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली प्रदेशमा चाडबाड लक्षित सुरक्षा योजनाअन्तर्गत ५ हजार ३१४ प्रहरी परिचालन गरेर मध्यरातसम्म ट्राफिक चेकजाँच र गस्ती सुरु गरिएको छ।
- वीरेन्द्रनगरमा मध्यरातको आकस्मिक चेकिङबाट मापसे र कागजपत्र परीक्षण हुँदै २०० भन्दा बढी चालक कारवाहीमा परेका छन्।
- प्रहरीले चाडपर्वमा जुवा, चोरी, लुटपाट र सडक दुर्घटना रोक्न १० वटै जिल्लामा सुरक्षा जालो फैलाएको जनाएको छ।
२ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुनसान छ । दसैँ लागेसँगै जिल्ला छोड्नेहरू बढिरहेका छन् । अन्य दिनमा भरिभराउ हुने सड्कहरु अचेल खाली देखिन थालेका छन् । राजधानीमा मानिसहरूको चाप विस्तारै घट्दो छ ।
उसो त अन्य दिनहरूमा पनि राति ८ बजे नै वीरेन्द्रनगर बजार सुनसान बन्छ । पसलहरू सबै बन्द भइसकेका हुन्छन् । तर चाडबाडको माहोलसँगै पछिल्लो समय यहाँका सडकहरूमा मध्यरात पनि सवारी गुड्न भने रोकिएका छैनन् ।
मध्यरात मस्त निन्द्रामा सुतिरहेका बेला एकाएक सडकमा कट्किने मोटरसाइकलको आवाजले स्थानीयको निन्द्रा बिथोल्छ । मदिराले मात्तिएका ठिटाहरू अनायासै हो–हल्ला मच्चाउँछन् । एकै छिनमा हराउँछन् ।
यस्ता गतिविधिहरू वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र, हाइ–वे र भित्री सडकमा अलि बढी देखिन्छन् । जसले गर्दा दशैंको मुखैमा सवारी दुर्घटना बढाएको मात्र छैन । मान्छेहरूले अनायासै ज्यान गुमाउनु परेको छ । केही घाइतेहरू अस्पतालको शैयामा छटपटाइरहेका छन् ।
*** ***
आइतबार मध्यराती, घडीमा १:२३ बजेको छ । वीरेन्द्रनगर–८, क्याम्पस रोडमा ट्राफिक प्रहरीको एउटा गाडी आएर एकाएक रोकियो । प्रहरी भ्यानको पछाडिबाट चारजना प्रहरीहरू झरे । र, ट्राफिक कोन (सडकमा चेकिङ भइरहेको सङ्केत गर्ने सामग्री) पनि गाडीबाट निकाले ।
क्षणभरमै सडकमा तेर्साए । यो त्यही सडक थियो जहाँबाट हाई–वेको ट्राफिक छलेर बाइकरहरु भाग्ने गर्छन् । मध्यरातको सरप्राइज चेकिङ्गको फन्दामा धेरै जना युवकहरू परे । सुर्खेतका सडकमा पहिलो पटक यसरी मध्यरातमा ट्राफिक चेकिङ भएको वीरेन्द्रनगर–६ का स्थानीय युवा रिजन बस्नेत बताउँछन् ।
वीरेन्द्रनगर–४ को भैरव मन्दिरमा सञ्चालित कथा वाचन सुनेर खजुरा फर्किएका बस्नेतलाई पनि ट्राफिकले सोधपुछ गर्यो । मापसे परीक्षण मेसिनमा फुक्न लगायो । राती हिँड्नुको कारण बताएपछि सहजै घर जान दियो । ‘मध्यरातको ट्राफिक चेकिङ मलाई त एक्दमै राम्रो लाग्यो । यसले सवारी दुर्घटनामा कमी अवश्य ल्याउने छ । हामी सुरक्षित छौँ भन्ने महशुस भयो’ बस्नेत भन्छन् ।
कतिपयलाई भने मध्यरातमा ट्राफिक जागेको फिटिक्कै मन परेको छैन । ट्राफिकले मध्यरातमा अनावश्यक नागरिकलाई दु:ख दिएको वीरेन्द्रनगर–८ का सन्दीप केसी बताउँछन् । ‘रातमा जो कोही अनायासै हिँड्दैन् । अप्ठेरोमै परेका मान्छेहरू हिँड्ने हो’ सन्दीप भन्छन्, ‘त्यति ठुलो सुरक्षा चुनौती पनि छैन कि ट्राफिकले मध्यरातमा चेकिङ गर्नु परोस् ।’
वीरेन्द्रनगरको दैलेख रोड चोकमा मध्यराती भएको ट्राफिक चेकिङमा एक युवकले आफ्नो साधन नै ट्राफिकको जिम्मा लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । ट्राफिकको उक्त कदमबारे सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेको देखिन्छ ।
वीरेन्द्रनगरमा मात्रै दुई सिफ्टमा रात्रिकालीन चेकजाँच भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहित कुमार शाहीले जानकारी दिए । उनका अनुसार बेलुका ६ बजेदेखि १० बजेसम्म र १०–२ बजेसम्म आकस्मिक चेकिङ हुने गरेको छ ।
जसमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत र प्रदेश ट्राफिक प्रहरी कार्यालयले आलोपालो गरेर वीरेन्द्रनगर बजार क्षेत्र भित्रका तीन–तीन ठाउँमा एकसाथ जाँच गर्दै आएका छन् । ‘बजार क्षेत्रको जोखिम, संवेदनशील र बढी दुर्घटना हुने स्थानहरूलाई लक्षित गरेर संयुक्त ट्राफिक जाँच गर्दै आएका छौँ’ प्रहरी निरीक्षक शाही भने ।
मापसेका कारण रात्रीकालिन सडक दुर्घटना बढेपछि उक्त जाँच थालिएको प्रमुख शाहीले बताए । उनका अनुसार, जिल्लाबाट मात्रै ३० जनाको प्रहरी समूह रात्रीकालीन जाँचमा खटिरहेको छ । बसपार्क गेट, कपासे र बाङ्गे सिमल उपत्यकाबाट बाहिरिने नाकामा सवारी चालकको मापसे र अन्य कागजपत्र समेत परीक्षण गर्ने गरिएको उनले बताए ।
‘कतिपय त बिहानै मापसे गरेका चालकहरू समेत भेटिने गरेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर मुद्दा समेत चलाएको अवस्था छ’, उनले भने, ‘गाडीमा राखिएका अतिरिक्त सिटहरू हटाउने देखि चालक समेत चेन्ज गर्ने गरेका छौँ ।’
दुर्घटना र चोरी रोक्न मध्यरात चेकिङ
चाडबाडको समयमा हुने रात्रिकालीन सड्क दुर्घटना र चोरी डकैतीका घटना रोक्न मध्यरात ट्राफिक प्रहरी जाग्ने गरेको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी मुकुन्दप्रसाद रिजाल बताउँछन् ।
‘रातीको समयमा हुने सवारी दुर्घटनालाई रोक्नका लागी हामीले यो अभियान थालेका हौँ । प्रदेशका सहरी क्षेत्रमा जहाँ र जति बेला पनि ट्राफिक चेकिङ हुन सक्छ’ एसपी रिजालले अनलाइनखबरसँग भने, ‘मुख्य हाइ–वे र भित्री सड्क खण्डमा हामीले जाँच गरिरहेका छौँ ।’
चाडपर्वको समयमा मान्छेहरू सो–अनुशासनमा नबस्ने भएकाले पनि मध्यरात चेकिङ अभियान सुरु गरिएको एसपी रिजालले बताए । उनका अनुसार, उक्त अभियान कर्णाली प्रदेशका १० वटै जिल्लाभित्र सहरी र मुख्य बजार क्षेत्रमा सञ्चालन भइरहेको छ ।
रात्रीकालिन ट्राफिक चेकिङका लागी प्रदेशभर ट्राफिक प्रहरी मात्रै २०० बढी खटिएका छन् । ‘ट्राफिक प्रहरीले मात्रै चेकिङ गर्दैन । हामीसँगै सोही सङ्ख्यामा नेपाल प्रहरीको टिम पनि हुन्छ । यो ट्राफिक र नेपाल प्रहरीको संयुक्त अभियान हो’ एसपी रिजालले भने ।
एक साता अधि देखि सञ्चालनमा आएको उक्त अभियानका क्रममा प्रदेश राजधानी वीरेन्द्रनगरका विभिन्न ठाउँहरूबाट मात्रै २०० बढी सवारी चालकहरू कारवाहीमा परेको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ ।
यो अभियानले रातमा हुने अपराधका घटनामा समेत कमी ल्याउने प्रदेश प्रहरीले जनाएको छ । धार्मिक, सांस्कृतिक सम्पदा तथा पर्यटकीय स्थल, सरकारी कार्यालय र महत्त्वपूर्ण प्रतिष्ठानहरूमा हुने सुरक्षा चुनौतीमा कमी आउने प्रहरीको ठहर छ ।
बैङ्क तथा वित्तीय संस्था, सुनचाँदी तथा गरगहना पसल र अन्य आर्थिक कारोबार हुने स्थानमा हुने रात्रीकालिन चोरी डकैतीमा समेत मध्यरात हुने ट्राफिक चेकिङले रोक्ने एसपी रिजाल बताउँछन् । ‘यो अभियानले सड्क दुर्घटना मात्रै घटाएको छैन । बजार क्षेत्रमा हुने चोरी र लुटपाटका घटनामा पनि कमी ल्याउँछ’ उनले भने, ‘रात भरी चोक–चोकमा ट्राफिक चेकजाँच हुँदा चोरी गर्नेहरू पनि सजक हुन्छन् ।’
प्रदेशभर ५ हजार बढी प्रहरी परिचालन
प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णालीमा चाडपर्व लक्षित ‘सुरक्षा योजना–२०८३’ तयार पारेर लागू गरेको छ । दसैँ, तिहार र छठ लाई लक्षित गरेर यो अवधिमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधि र सडक दुर्घटना न्यूनीकरण गर्न उक्त अभियान थालिएको प्रदेश प्रहरीले जनाएको छ ।
गत २५ असोजदेखि लागु भएको उक्त सुरक्षा योजना कात्तिक ३० गते छठ पर्व पछि समाप्त हुने कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जयराज सापकोटाले जानकारी दिए । ‘सुरक्षा योजना अनुसार, चाडपर्वको समयमा हुने कुनै पनि आपराधिक गतिविधि तथा अवाञ्छित क्रियाकलाप नियन्त्रण गरिने छ’ उनले भने, ‘आम नागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाइने छ ।’
जुवा तास, डाइस, लङ्गुर बुर्जा, कौडा तथा अनलाइन सट्टे बाजी खेल्ने प्रवृत्तिलाई पूर्ण रूपमा नियन्त्रण गरिने प्रदेश प्रहरीले जनाएको छ । प्रहरीले सहर बजार, बैङ्क तथा वित्तीय संस्था, पर्यटकीय एवं धार्मिक स्थलदेखि विकट ग्रामीण बस्तीसम्म सुरक्षा जालो फैलाएको छ । त्यसका लागि प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयसमेत गरी जम्मा १ हजार ४६२ वटा ड्युटीमा ५ हजार ३१४ जना प्रहरी परिचालन गरिएको प्रहरी नायव महानिरीक्षक सापकोटा बताउँछन् ।
उनका अनुसार कर्णालीमा ५ हजार ५०७ जना कुल प्रहरी जनशक्ति रहेको छ । त्यसमध्ये ९६ प्रतिशत जनशक्तिलाई प्रत्यक्ष रूपमा चाडपर्व सुरक्षा ड्युटीमा खटाइएको छ । प्रदेश भर २८ वटा मोबाइल गस्ती, ९८ वटा मोटरसाइकल गस्ती र ६० वटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) परिचालन गरिएको छ ।
दुर्गम क्षेत्रमा सहित १४८ वटा पैदल गस्ती टोली समेत तयार गरिएको छ । २०४ वटा लामो तथा छोटो दूरीका गस्ती गरिने छ भने १७६ स्थानमा पिकेट राखिने प्रदेश प्रहरीले जनाएको छ । ६७ वटा स्थानमा सवारीसाधनको नियमित, विशेष तथा आकस्मिक चेकजाँच गरिनेछ ।
४७ स्थानमा ट्राफिकसहितको संयुक्त चेकजाँच, ३८ स्थानमा महत्त्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा र ३७ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिने छ । २४ वटा अति संवेदनशील स्थानमा माइकिङमार्फत प्रचारप्रसार, ३१ स्थानमा बैङ्क तथा वित्तीय संस्थाको सुरक्षा र बजार अनुगमन, १० जना विशिष्ट व्यक्तिको सुरक्षा र ४९४ वटा अन्य विभिन्न ड्युटीसमेत राखिएको प्रदेश प्रहरीले जनाएको छ ।
चाडपर्वमा सुरक्षा योजना विपरीतका गतिविधि गर्ने तथा अशान्ति मच्चाउने गतिविधि भए सन्तुलित बल प्रयोगको नीति प्रहरीले लिएको छ । त्यसका लागि १ हजार ५३० थान घातक हतियार र २ हजार २७० थानभन्दा बढी गैर घातक साधन (लाठी) परिचालन गरिने सुरक्षा योजनामा उल्लेख छ ।
प्रतिक्रिया 4