+
+
Shares
तराई-मधेश यात्रा :

मिथिला सभ्यताको प्राणधारा ‘कमला’ को किनारैकिनार

कमला- एउटा यस्तो नदी, जसको उद्गम हुन्छ बागमती प्रदेशअन्तर्गत सिन्धुलीको चुरे क्षेत्रमा। तर यो त्यो सभ्यताको परिचायक बन्दछ- मिथिला सभ्यताको, जो नेपालदेखि भारतसम्मको तराई-मधेश क्षेत्रमा फैलिएको छ।

धर्मेन्द्र झा धर्मेन्द्र झा
२०८३ कात्तिक ३ गते ११:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुलीको चुरे क्षेत्रबाट उद्गम भएको कमला नदीले नेपाल र भारतको मिथिला भूगोललाई जोड्ने सांस्कृतिक र कृषिजन्य जीवनरेखा बनेको छ।
  • लेखकले २०८२ कात्तिक ४ मा कमलाको किनारैकिनार यात्रा गर्दै कमलामाई मन्दिर, रानीबास र भलुवाहीसम्म पुगेर नदीसँग जोडिएको सभ्यता अवलोकन गरेका छन्।
  • सुनकोशी–कमला डाइभर्सन योजना कार्यान्वयन हुन नसक्दा सिरहा र धनुषामा सिँचाइ तथा खानेपानीको अपेक्षित सुधार अझै भएको छैन।

यसपटकको यात्रा कमलाको किनारैकिनार। कमला अर्थात् एउटा यस्तो नदी जसको उद्गम हुन्छ नेपालको बागमती प्रदेशअन्तर्गतको सिन्धुलीको चुरे क्षेत्रमा, तर यो त्यो सभ्यताको परिचायक बन्दछ- मिथिला सभ्यताको, जो नेपालदेखि भारतसम्मको तराई-मधेश क्षेत्रमा फैलिएको छ। एक किसिमले मिथिला सभ्यताको पर्यायका रूपमा स्थापित छ कमला सभ्यता।

म यही क्षेत्रको भएका नाताले मैले कमलाको दर्शन कति पटक गरेँ, मलाई थाहा छैन। कमलाको किनारैकिनार मैले कति पटक यात्रा गरेँ, गणना छैन। पछिल्लोपटक भने मैले २०८२ साल कात्तिक ४ गते नेपालमा फैलिएको कमलाको किनारैकिनार यात्रा गरेको हुँ। यस अतिरिक्त मैले यसभन्दा पहिले भारतीय क्षेत्रमा पटक-पटक गरेको कमला-यात्रा सम्झन्छु।

पर्यटकीय केन्द्र बन्दै पूज्य कमला

मिथिलाको माटोमा जब कुनै नदीको नाम आउँछ, कमलाको नाम सबैभन्दा पहिले आउँछ। मैले कमला र योसँग जोडिएको सभ्यताका बारेमा एक प्रकारले बाल्यकालदेखि नै सुन्दै-हुर्कंदै वर्तमानसम्मको समय-यात्रा गरेको हुँ। त्यसो त मिथिलाको अर्को नाम तीरभुक्ति पनि हो। यही तीरभुक्ति अपभ्रंश हुँदै ‘तीरहुत’ बनेको हो।

तीरभुक्ति अर्थात् तीनवटा नदीभित्र एकत्रित भूभाग। प्राचीन ग्रन्थहरूअनुसार मिथिलाको सीमा पूर्वमा कोशी, पश्चिममा गण्डक, दक्षिणमा गङ्गा र उत्तरमा हिमालयसम्म थियो। यसमा कोशी, गण्डक र गङ्गा तीनवटा नदी हुन्। मिथिलामा यी तीन नदीका अतिरिक्त बागमती, बलान, लखनदेही, जलाध, रातु, त्रियुगा, दूधमती र कमलाजस्ता अन्य थुप्रै नदी बग्छन्; तर गङ्गापछि यस भूमिमा पुण्य र उर्वरा शक्ति दुवै दृष्टिले कमलाको स्थान सर्वोपरि मानिन्छ।

कमला नदी जहाँसम्म बग्छ, त्यस क्षेत्रमा ‘कमलामाई’ भनेर पुजिन्छ, पुकारिन्छ। यो नदी मात्र जलको प्रवाह होइन, यसलाई मिथिलाको सभ्यताको प्राणधाराका रूपमा पनि स्वीकार गरिन्छ। नेपाल र भारतमा फैलिएर रहेको प्राचीन मिथिलाको भूगोलमा बग्ने सम्भवतः सबैभन्दा लामो नदी हो कमला। यसको उद्गम, मार्ग र अन्त्यको संयोजनले समग्रमा एउटा जीवन्त सभ्यताको चित्र प्रस्तुत गर्छ, जुन मिथिलाको जनजीवनसँग अभिन्न रूपमा जोडिएको छ।

हामी (म, पत्नी मुन्नी र छोरा आदित्येन्द्र) २०८२ को कात्तिक ४ मा काठमाडौंबाट बिहान प्रस्थान गरेका थियौँ। सिन्धुली जिल्लाको सदरमुकामबाट भिमानतर्फ लाग्दा केही पर एउटा मन्दिर भेटिन्छ। यही हो- कमलामाईको मन्दिर। जनकपुरधामबाट करिब ६३ किलोमिटर उत्तरमा अवस्थित कमलामाई मन्दिरलाई ‘माईस्थान’ पनि भनिन्छ।

कमलामाई नगरपालिका वडा नम्बर १० मा रहेको यो मन्दिर यस क्षेत्रमा चर्चित छ र पछिल्लो समयमा एक प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकसित हुँदैछ। मकवानी सेन राजाहरूको समयमा करिब चार सय वर्षपहिले निर्माण गरिएको यो मन्दिर मिथिला-मधेशको ऐतिहासिक साक्ष्य पनि हो। नेपाल र भारतको विशाल भूभागमा कमला नदी समग्र मैथिल लोकसंस्कृति र लोकजीवनलाई निरन्तर प्रभाव पार्ने साझा नदीको रूपमा प्रवाहमान छ। मलाई यस अतिरिक्त अन्यत्र कमलामाईको मन्दिर भएको जानकारी छैन।

बनेन सुनकोशी–कमला डाइभर्सन

मन्दिरको अगाडिको कमला र गोमती नदीको सङ्गमपछि ‘कमला’ का नामले बग्ने नदी भिमानबाट तल्लो र माथिल्लो रानीबास, कमलाखोँज, भलुवाही, डकाहा हुँदै चिसापानीमा निस्केर धनुषाको गोदारनजिकको पोर्ताहा र सिरहाको बन्दीपुरलाई छुट्याउँदै सिरहा र धनुषा जिल्लाको सीमा नदीका रूपमा अगाडि बढ्छ। अनि सिरहाको माडर हुँदै जयनगरबाट करिब तीन किलोमिटरको दूरीमा भारतमा प्रवेश गर्छ।

मैले कमलाको पहिलो दर्शन २०३०/३१ सालतिर गरेको हुँ, जब पूर्व-पश्चिम राजमार्गमा कमलामाथि पुल बनाएर धनुषाको पोर्ताहा र सिरहाको बन्दीपुर जोडिएको थियो।

पोर्ताहास्थित कमला किनारमा २०४३ सालतिर क्याम्पसबाट पहिलो पटक हामी वनभोज गएको सम्झना पनि छ। त्यसैबेला मैले त्यहाँ कमलामा सानो ब्यारेज बनाएर नहर निकालिएको र सिँचाइको प्रयास गरिएको देखेको हुँ। दुर्भाग्य, आज ४० वर्षपछि पनि कमलाको सिँचाइ व्यवस्थामा कुनै परिवर्तन र सुधार देखिएको छैन।

त्यसैबेला मैले सुनकोशी–कमला डाइभर्सन योजनाबारे सुनेको हुँ। सुनकोशीको पानी कमलामा ल्याएर सिरहा र धनुषा जिल्लामा सिँचाइ र खानेपानीको व्यवस्थापन गर्ने कुरा त्यसैबेला बडो चर्चामा थियो। तर आजसम्म त्यो योजना कार्यान्वयन त हुन सकेन नै, अब त त्यो योजनाबारेको स्वर पनि मधुरो भइसकेको छ।

पोर्ताहा-बन्दीपुरपछि अगाडि बढ्दै कमला सिरहाको माडर हुँदै पूर्णतः भारतीय क्षेत्रमा बग्छ। सिरहाको लहाननजिकको बस्तीपुर मेरो जन्मभूमि र धनुषाको जनकपुर हुर्काइभूमि भएकाले मैले कमलाको किनारैकिनार सभ्यताको सङ्गत गर्ने अवसर निकै पटक पाएको छु। मैले पछिल्लोपटकको यात्रामा भलुवाहीसम्म कमलाको किनारैकिनार यात्रा गरेको थिएँ। निकै नयाँ अनुभूति भयो। सिन्धुलीको कमला क्षेत्र पहिले जब कमलामाथि पुल थिएन, सडक राम्रा थिएनन्, निकै विकट मानिन्थ्यो।

रानीबासको कमला बगरमा लडिबुडी

क्याम्पसकालीन (२०४३/४४ सालतिर) दिन पनि म सम्झन्छु, जब मेरा सहपाठीहरू सिन्धुली कांग्रेसका नेताद्वय उज्ज्वल र मोहन तथा मित्र भोला बरालसँग उनीहरूको गाउँ कमला किनारको रानीबासमा निकै पटक बसेको छु। एक पटक जनकपुरबाट बस चढेर भिमान पुगेको र त्यहाँबाट रानीबास पुगेको तथा अर्को पटक लालगढबाट जङ्गलको बाटो हुँदै रानीबास पुगेको सम्झन्छु।

अहिले त रानीबास निकै सुगम भइसकेको छ। गाउँको बीचबाट पक्की सडक गएको छ र गाउँको स्वरूप पूरै फेरिएको छ। एउटा कुरा फेरिएको छैन— त्यो हो कमला र त्यसको बहाव। हिजो पनि कमला रानीबासको छेउ भएर बग्थ्यो र आज पनि कमलाको उपस्थिति पुरानै ठाउँमा पुरानै रूपमा छ। मैले पछिल्लोपटक गत कात्तिकमा भिमानबाट रानीबासको बाटो हुँदै चतरासम्मको यात्रा गर्दा पनि कमलाको अनुभूति मलाई भएको थियो— शान्त, सौम्य र सुन्दर।

कमला सभ्यताको उन्नयनमा क्रियाशील सिन्धुली माडीका माणिक ढकालसँग कमलाका बारेमा निकै पटक गफिएको छु। रानीबासमा कमलामा स्नान गर्दै बगरको बालुवामा लडिबुडी गरेको छु। रानीबासदेखि कमलाखोँज, डकाहा र भलुवाहीमा कमलाको सङ्गत पाएर जग्गामा झुलेका अन्नका बाला हेर्दै आनन्दपान गरेको छु।

हाम्रा पुर्खाले कमला किनारमा कमलालाई नै साक्षी राखेर सभ्यताको हस्तान्तरण गर्दै हामीसम्म पुर्‍याए। पहाडबाट मधेश झरेपछि कमला नदीको मिथिला सभ्यता र संस्कृतिसँग अत्यन्तै महत्त्वपूर्ण सम्बन्ध रहँदै आएको छ।

तीनपाटनका मित्र मणिराज पोखरेल र कमल श्रेष्ठका मुखबाट अनेकौँ पटक कमलाका कथा सुनेर रोमाञ्चित बनेको छु। यति मात्र होइन, कृषिकर्मका लागि अनिवार्य स्रोत बनेको कमलाको पानीले बाढीको रूप ग्रहण गरी समस्या सिर्जना गरेको बारे पनि म जानकार छु। बन्दीपुरको कमला पुल र भारतको जयनगरमा अवस्थित कमला नदीमा लाग्ने मेलाका माध्यमबाट स्थानीय सभ्यता जीवन्त बन्ने गरेको यथार्थको साक्षी पनि म हुँ।

नेपाली कांग्रेसका नेता उज्ज्वलप्रसाद बराल भन्छन्— यो नदीको महत्त्व मिथिलामा मात्र होइन, सिन्धुलीका लागि पनि उत्तिकै छ। उनका अनुसार सिन्धुलीको दक्षिणी भागको सम्पूर्ण कृषिकर्म यही नदीले ओसार्ने माटो र पानीमा आधारित छ।

कांग्रेसकै अर्का नेता मोहनप्रसाद बराल भन्छन्— मिथिलाको मात्रै होइन, हाम्रै क्षेत्रको सभ्यता पनि कमलाकेन्द्रित छ। कमला किनारमा अवस्थित रानीबासका बासिन्दा बरालद्वय भन्छन्— हामीले त जन्मदेखि नै कमलासँग सङ्गत गरेका छौँ। हाम्रा पुर्खाले कमला किनारमा कमलालाई नै साक्षी राखेर सभ्यताको हस्तान्तरण गर्दै हामीसम्म पुर्‍याए।

कमला नदीको उद्गम र बहाव क्षेत्र

माथि पनि चर्चा गरियो, कमला नदीले सिन्धुलीगढी नजिकै ‘मैथान’ नामक स्थानबाट लगभग १,२०० मिटरको उचाइबाट यात्रा आरम्भ गर्छ। पहाडी क्षेत्रबाट दक्षिणतर्फ बग्दै यो नदी कमलाखोँज पार गरेर चिसापानीनजिक तराईमा प्रवेश गर्छ र त्यसपछि यो नदी सिरहा र धनुषा जिल्लाको सीमा बनाउँदै बग्छ।

भारतमा कमलाको प्रवेशपछि ‘कमला ब्यारेज’ निर्माण गरिएको छ। बिहारको मैदानमा यो बलान नदीसँग मिसिएर ‘कमला–बलान’ नामले चिनिँदै अगाडिको यात्रा गर्दछ।

बलान नदी नेपालको उदयपुर जिल्लाको चुरे क्षेत्रबाट प्रारम्भ हुन्छ। ‘कमला–बलान’ भारतको मधुबनी, झञ्झारपुर, दरभङ्गा र समस्तीपुर हुँदै अघि बढेर अन्ततः खगडिया जिल्लाको बदलाघाटनजिक करेह (बागमती) र कोशी नदीको सङ्गममा विलीन हुन्छ। यसको कुल लम्बाइ लगभग ३२८ किलोमिटर रहेको मानिन्छ।

मधेश झरेको कमला : मिथिला सभ्यताको परिचय र प्राण

पहाडबाट मधेश झरेपछि कमला नदीको मिथिला सभ्यता र संस्कृतिसँग अत्यन्तै महत्त्वपूर्ण सम्बन्ध रहँदै आएको छ। यस क्षेत्रका प्रत्येक मैथिलले कमलालाई पुज्दछन्, पुकार्छन्। कृषिकर्मको मूल आधार रहेको कमला नदी मिथिला क्षेत्रको प्राण अर्थात् जीवनदायिनी हो भन्दा फरक पर्दैन।

सिन्धुलीको भिमानपछि उदयपुरको गाईघाटसम्मको चुरिया र महाभारत पर्वत शृङ्खलाबीचको खेतीयोग्य मैदानी (दुन) भाग, जसलाई नेपालमा भित्री तराई (मधेश) पनि भनिन्छ, त्यहाँ मुख्य रूपमा दनुवार जातिको बसोबास छ। सिन्धुलीबाट प्रस्थान गरेको कमला उदयपुरको कटारीसम्म नपुग्दै बीचबाटै सिरहा–धनुषातिर लाग्छ।

यसबीच कमला छेउको बाटो भएर यात्रा गर्नु निकै रोमाञ्चक अनुभव हुन्छ। कमला किनारका खेतमा लहलहाउँदो धानखेती— वाह ! अत्यन्तै मनमोहक र रमणीय दृश्य ! यस क्षेत्रबाट यात्रा गर्दा कसैलाई पनि लाग्न सक्छ कि साँच्चिकै यो त्यही क्षेत्र हो जसलाई नेपालको ‘अन्न भण्डार’ भनिन्छ। यति मात्र होइन, मैथिल सभ्यतासँग अन्योन्याश्रित सम्बन्ध रहेको यो संस्कृतिले समग्र मिथिलाको परिचय, विकास र निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कुरा स्वीकार गर्नैपर्छ।

मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्राज्ञ रामभरोस कापडि भ्रमरका अनुसार कमला चुरे हिमालबाट उत्पत्ति भई सिन्धुली जिल्लाको कमलाखोँज हुँदै मिथिलाको भूमिलाई सुन्दर बनाएको छ। भ्रमरका अनुसार कोशी–कमलाको नेतृत्वमा मिथिलादेखि कामरूप–बङ्गालसम्मको बाढीपहिरो नदीको जीवनचक्रले यहाँको मानव जीवनशैलीलाई निरन्तर प्रभाव पारिरहेको छ।

कमलालाई यसको पर्वाह छैन। कसले चर्चा गर्छन् वा गर्दैनन्, कुनै मतलब छैन। विगतदेखि मिथिलाको परिचय समृद्ध बनाउँदै कमलाको यात्रा अनवरत जारी छ र रहनेछ।

गत वर्षको कात्तिक ४ गतेको त्यो दिन हामीहरू बसबाट यात्रा गरिरहेका थियौँ। बसमा सवार अन्य मानिसलाई खासै मतलब थिएन, तर समग्र मिथिला संस्कृतिमा रुचि राख्ने हामीहरूका लागि यो यात्रा निकै महत्त्वपूर्ण रहेको महसुस भएको थियो। हामीहरू आपसमा मैथिल, थारू र दनुवार जातिका मानिसका साथै कमला, त्रियुगा नदी र यस क्षेत्रको कृषिकर्मलगायत समग्र सभ्यता र संस्कृतिको चर्चा गर्दै अगाडि बढिरहेका थियौँ।

यस नदीको प्रभाव मिथिला सभ्यता र जनजीवनमा अत्यन्त गहिरो र बहुआयामिक छ। कृषि र जीविकोपार्जनमा यसको प्रभाव अत्यधिक छ। कमलाको जल र बाढीले ल्याउने दोमट माटोले मिथिलाका खेतलाई उर्वर बनाउँछ। यस क्षेत्रमा धान, गहुँ, मकै, तरकारी र मखानाको खेती यसै जलधारामा निर्भर छ। जयनगर ब्यारेज र नहर प्रणालीमार्फत धनुषा, सिरहा र मधुबनीका हजारौँ हेक्टर भूमिमा सिँचाइ हुन्छ।

यसबाहेक माछा मार्ने समुदाय (मलाह) को जीविका पनि यसै नदीमा टिकेको छ। यसैले कमला र मलाहको सम्बन्ध मिथिलामा निकै खास मानिन्छ।

मिथिलामा कमला नदीलाई गङ्गाजत्तिकै पवित्र मानिन्छ र कमलालाई ‘माई’ अर्थात् माताका रूपमा पुजिन्छ। कात्तिक पूर्णिमा र माघे पूर्णिमामा यहाँ ठूलो मेला लाग्छ, जहाँ श्रद्धालुहरू पवित्र स्नान गर्छन्। लोककथा र लोकगाथा जस्तैः राजा सलहेस र दिना–भद्रीको कथामा कमलाको उल्लेख आदरका साथ गरिएको पाउन सकिन्छ।

मिथिलाका धामी–झाँक्री र भगतहरू नदीका घाटहरूमा आएर सिद्धि प्राप्त गर्छन् र ‘भगैत’ गाउने परम्परा रहेको छ। नदी किनारमा भूत मेलाको आयोजना हुने गर्दछ र यस्ता मेलामा सहभागी भएर तान्त्रिकहरूले तन्त्र सिद्धि गर्छन् भन्ने विश्वास गरिन्छ। स्थानीयस्तरमा प्रचलित मान्यताअनुसार यस नदीमा स्नान गर्नाले सांसारिक व्याधि र कष्टहरूबाट मुक्ति मिल्छ।

कमला नदी मिथिलाका लागि जीवनदायिनी र विनाशकारी दुवै रूपमा विद्यमान छ। यो नदी मैथिल लोकजीवनको आस्था, माटो र संस्कृतिको अभिन्न अङ्ग बनेको छ। पहाडबाट ओर्लेर तराई र मैदानसम्म बग्ने यो नदी नेपाल र भारतबीचको एउटा बलियो सांस्कृतिक सेतु पनि हो।

देवीका रूपमा कमलाको लोकप्रियता

वास्तवमा नेपाल र भारतको बीचमा बग्ने धेरै नदीमध्ये कोशी, कमला, बागमती र गङ्गाले लोककथा, गीत र कथाद्वारा लोकजीवनमा आफ्नो उपस्थिति कायम गरेका छन्। तीमध्ये कमला, कोशी र गङ्गालाई मिथिला क्षेत्रमा अलि बढी पूजनीय र सम्मानित नदी मानिन्छ।

कमलाका बारेमा अनुसन्धान गरेका प्राज्ञ भ्रमरका अनुसार मिथिलाको प्रसिद्ध साल्हेस गाथामा पनि कमलाको उल्लेख छ। यस गाथामा कमला नदीलाई कल्याणकारी देवी, भक्तदयालु, निरन्तर सहयोगी र आफ्ना सन्तानको रक्षकको रूपमा पूजा गरिन्छ। प्राज्ञ भ्रमरका अनुसार माछा मार्ने मलाह जातिकाले हरेक वर्ष कमलालाई जातीय देवीको रूपमा पूजा गर्ने चलन छ।

भ्रमर जानकारी दिँदै भन्छन्— सामान्यतया माघ महिनामा मलाहहरूको देव–देवीहरूको भव्य पूजा गर्ने चलन छ, जसमा कमलामाईलाई प्रमुख देवीको रूपमा पुजिन्छ। नदी संस्कृतिको परम्परागत मान्यताअनुसार नदीजलबाट प्राप्त हुने माछा, मखानलगायत अन्य खाद्यसामग्रीहरू जीविकामा सहायक हुनुका साथै भौतिक सुरक्षाको पनि जिम्मा लिइरहने हुँदा कमलामाईको पूजाको विशेष महत्त्व छ।

यति मात्र होइन, मैथिलीका थुप्रै साहित्यिक रचनामा कमलाको चर्चा गरिएको पाउन सकिन्छ। मैथिलीका महान् साहित्यकार मणिपद्मलगायत थुप्रै रचनाकारले आफ्ना रचनामा कमलालाई बिम्ब बनाएको पाउन सकिन्छ। मैथिली सभ्यताका सन्दर्भमा अमर पात्र मानिने गोनु झासँग पनि कमला जोडिएका अनेक प्रसङ्ग प्रचलित छन्।

स्थानीय व्यक्तिहरूका अनुसार कोशी नदी मधेश–तराई क्षेत्रमा बग्ने प्रमुख नदी भए पनि सिँचाइका लागि त्यति उपयुक्त मानिँदैन, बरु कमला नदीको पानीले खेतमा सुन फलाउने मान्यता छ।

भ्रमर भन्छन्— यति हुँदा पनि प्राचीन संस्कृत साहित्यमा कमलाका बारेमा कुनै उल्लेख पाइँदैन। आदिग्रन्थ रामायण र महाभारतमा पनि कुनै सङ्केत चर्चा भएको पाइँदैन। तर कमलालाई यसको पर्वाह छैन। कसले चर्चा गर्छन् वा गर्दैनन्, कुनै मतलब छैन। विगतदेखि मिथिलाको परिचय समृद्ध बनाउँदै कमलाको यात्रा अनवरत जारी छ र रहनेछ।

लेखक
धर्मेन्द्र झा

झा पत्रकार महासंघ र राससका पूर्वअध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?