News Summary
Generated by OK AI. Editorially reviewed.- दशैँ, तिहार र छठमा खानपानको मात्रा, समय र गुणस्तरमा ध्यान नदिँदा मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, थाइराइड र मुटुरोगमा समस्या बढ्न सक्ने लेखमा उल्लेख छ।
- मधुमेह, उच्च रक्तचाप, मुटुरोग र थाइराइडका बिरामीले औषधि चिकित्सकको सल्लाहबिना नछाड्न र चाडपर्वमा खानपान सन्तुलित राख्न सुझाव दिइएको छ।
- ज्येष्ठ नागरिकलाई नरम र पोषणयुक्त खाना दिन, औषधि समयमै खुवाउन र चक्कर, छाती दुखाइ वा सास फेर्न गाह्रो भए तत्काल अस्पताल जान भनिएको छ।
नेपाली समाजमा दशैँ, तिहार र छठ धार्मिक तथा सांस्कृतिक पर्व मात्र होइनन्स यी परिवारको पुनर्मिलन, आत्मीयता, खुसी र सामाजिक सद्भावका अवसर पनि हुन् । दशैँमा मासुका परिकार, चिउरा, अचार र मिठाईस तिहारमा सेलरोटी, मिठाई तथा विभिन्न परिकारस अनि छठमा ठेकुवा, फलफूल र प्रसादको विशेष महत्त्व हुन्छ। यी परम्परागत खानाले हाम्रो संस्कृति र पारिवारिक सम्बन्धलाई जीवन्त बनाएका छन् ।
तर, चाडपर्वको रमाइलोमा खानपानको मात्रा, समय र गुणस्तरमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या देखिन सक्छ । विशेषगरी मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोलको समस्या, थाइराइड रोग, मुटुरोग तथा ज्येष्ठ नागरिकले खानपान र औषधिको नियमिततामा थप ध्यान दिनुपर्छ ।
चाडपर्वमा बिरामी भएपछि अस्पताल पुग्नुभन्दा चाडपर्वअघि नै स्वास्थ्यसम्बन्धी सावधानी अपनाउनु बुद्धिमानी हुन्छ। स्वस्थ रहनु भनेको चाडपर्वका परिकार त्याग्नु होइन, बरु स्वाद, मात्रा र स्वास्थ्यबीच सन्तुलन कायम गर्नु हो ।
१. दशैँ : मासु र मिठाईको स्वादसँगै स्वास्थ्यको सन्तुलन
दशैँमा रातो मासु, भुटेको तथा तारेको परिकार, चिल्लो अचार, चिउरा र मिठाईको सेवन सामान्य दिनको तुलनामा बढ्ने गर्छ। लगातार धेरै चिल्लो तथा बोसोयुक्त खाना खाँदा अपच, पेट फुल्ने, कब्जियत, अम्लपित्त र तौल बढ्ने समस्या देखिन सक्छ। लामो समयसम्म असन्तुलित खानपानले मधुमेह, उच्च रक्तचाप र रगतमा खराब कोलेस्ट्रोल बढ्ने जोखिमसमेत बढाउन सक्छ।
त्यसैले दशैँमा मासु खाँदा बोसो कम भएको मासु रोज्ने, देखिने बोसो हटाउने, कम तेलमा पकाउने र एकैपटक धेरै परिकार नखाने बानी बसाल्नुपर्छ। रातो मासुको मात्रा सीमित राख्दै माछा, छालारहित कुखुराको मासु, दाल, गेडागुडी र अन्य प्रोटिनयुक्त खानेकुरालाई पनि प्राथमिकता दिन सकिन्छ।
मासुसँगै हरियो सागसब्जी, सलाद र फाइबरयुक्त खानेकुरा खानु राम्रो हुन्छ। पटकपटक तेल तताएर प्रयोग गर्ने, धेरै घिउ वा डाल्डा हाल्ने र मासुसँगै चिनी मिसिएका पेय पदार्थ पिउने बानीबाट बच्नुपर्छ।
मधुमेह भएका व्यक्तिले दशैँको नाममा औषधि छाड्ने, धेरै बेरसम्म खाना नखाने वा एकैपटक धेरै खाने गर्नु हुँदैन। भात, चिउरा, रोटी र आलुजस्ता कार्बोहाइड्रेटयुक्त खानेकुराको मात्रा मिलाउनुपर्छ।
मिठाई पूर्ण रूपमा खानै नहुने भन्ने होइन, तर मात्रा सीमित राख्नुपर्छ। इन्सुलिन वा रगतमा चिनी घटाउने औषधि प्रयोग गर्ने व्यक्तिले खाना छुटाउँदा रगतमा चिनी अत्यधिक घट्न सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्छ।
२. तिहार : मिठाई, सेलरोटी र गुलियो पेय पदार्थमा संयमता
तिहारमा मिठाई, सेलरोटी, अनरसा, लड्डु तथा अन्य परम्परागत परिकारको विशेष महत्त्व हुन्छ। यी परिकार हाम्रो संस्कृतिका प्रिय अङ्ग हुन्, तर अत्यधिक चिनी, घिउ र तेलले शरीरमा अतिरिक्त ऊर्जा थप्छन्।
मधुमेह भएका व्यक्तिमा धेरै गुलियो खानेकुरा खाँदा रगतमा चिनीको मात्रा बढ्न सक्छ। त्यस्तै, अत्यधिक ऊर्जा र अस्वस्थ बोसोको सेवनले तौल तथा रगतमा ट्राइग्लिसराइड बढ्ने जोखिम पनि बढाउँछ।
तिहारमा मिठाईको ठूलो थाल राखेर पटकपटक खानेभन्दा सानो मात्रा लिएर स्वाद लिनु उपयुक्त हुन्छ। मिठाईसँगै चिनी मिसिएको चिया, जुस, कोल्ड ड्रिङ्क्स वा अन्य गुलियो पेय पदार्थ बारम्बार सेवन नगर्नुहोस्। फलफूललाई मिठाईको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ।
घरमा परिकार तयार गर्दा तेल र चिनी कम प्रयोग गर्ने, एउटै तेल पटकपटक नतताउने र खानेकुरालाई सफा तथा सुरक्षित राख्ने बानी बसाल्नुपर्छ। मिठाई बाँड्ने संस्कृतिसँगै स्वस्थ खानपानको सन्देश बाँड्नु पनि उत्तिकै महत्त्वपूर्ण छ।

३. छठ : प्रसादको सम्मान गरौँ, स्वास्थ्यको पनि ख्याल गरौँ
छठ पर्वमा ठेकुवा, फलफूल र अन्य परम्परागत प्रसादको विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व छ। प्रसादको सम्मान गर्नु हाम्रो आस्था हो, तर त्यसको मात्रा र आफ्नो स्वास्थ्य अवस्थालाई पनि ध्यान दिनुपर्छ।
मधुमेह भएका व्यक्तिले ठेकुवा र अन्य गुलियो प्रसादको मात्रा सीमित राख्नुपर्छ। फलफूल खान सकिन्छ, तर फलफूलको रस पिउनुभन्दा सिङ्गै ९साबुत० फल खानु राम्रो हुन्छ, किनकि साबुत फलमा फाइबर बढी सुरक्षित रहन्छ।
छठको व्रत बस्ने व्यक्तिहरूले आफ्नो स्वास्थ्य अवस्था विचार गर्नुपर्छ। मधुमेहका बिरामी, इन्सुलिन वा केही प्रकारका चिनी घटाउने औषधि प्रयोग गर्ने व्यक्ति, मुटु वा मिर्गौलाका दीर्घरोगी तथा कमजोर ज्येष्ठ नागरिकले लामो समयसम्म खाना वा पानी नखाँदा जोखिम हुन सक्छ। व्रत बस्ने निर्णय गर्नुअघि आफ्नो चिकित्सकसँग औषधि र खानपानबारे सल्लाह लिनुपर्छ।
व्रतको क्रममा चक्कर लाग्ने, अत्यधिक कमजोरी महसुस हुने, बेहोस हुने अवस्था आउने, छाती दुख्ने वा सास फेर्न गाह्रो हुने लक्षण देखिएमा व्रतलाई निरन्तरता दिनुभन्दा तत्काल स्वास्थ्य सहायता लिनु महत्त्वपूर्ण हुन्छ।
४. उच्च रक्तचाप र मुटुरोगीले के कुरामा ध्यान दिने ?
चाडपर्वमा नुनिलो अचार, चिप्स, प्रशोधित मासु, धेरै नुन राखिएका परिकार तथा मदिराको सेवन बढ्न सक्छ। धेरै नुन सेवनले रक्तचाप नियन्त्रणमा कठिनाइ उत्पन्न गर्न सक्छ। उच्च रक्तचाप, मुटुको धमनीमा समस्या, हृदयाघात भइसकेका व्यक्ति तथा मुटु कमजोर भएका बिरामीले विशेष सावधानी अपनाउनुपर्छ।
विश्व स्वास्थ्य सङ्गठनले वयस्क व्यक्तिका लागि दैनिक कुल नुनको मात्रा पाँच ग्रामभन्दा कम राख्न सिफारिस गरेको छ। यसमा खाना पकाउँदा थपिएको नुन मात्र नभई अचार, प्याकेटका खानेकुरा र अन्य स्रोतबाट प्राप्त नुन पनि पर्छ।
खाना पकाउँदा नुन कम प्रयोग गर्ने, टेबलमा थप नुन नराख्ने र अत्यधिक नुनिलो अचार तथा प्रशोधित खानेकुराको सेवन घटाउने बानी बसाल्नुपर्छ।
मुटुरोग भएका व्यक्तिले धेरै चिल्लो मासु, घिउ, मक्खन, वनस्पति घिउ तथा तारेका खानेकुरा सीमित गर्नुपर्छ। मदिराले रक्तचाप, मुटुको चाल र औषधिको प्रभावमा असर पार्न सक्ने भएकाले विशेषगरी मुटुरोगीले मदिराबाट बच्नु उचित हुन्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, रक्तचापको औषधि, कोलेस्ट्रोल घटाउने औषधि वा मुटुरोगको नियमित औषधि चाडपर्वको कारणले आफैँ बन्द गर्नु हुँदैन।

५. थाइराइडका बिरामीले औषधि र दिनचर्या नबिर्सौँ
थाइराइड रोग भएका व्यक्तिले चाडपर्वमा पनि औषधि नियमित सेवन गर्नुपर्छ। ‘हाइपोथाइराइडिज्म’ मा दिइने लेभोथाइरोक्सिन सामान्यतया खाली पेटमा पानीसँग सेवन गरी नास्ता गर्नुअघि ३० देखि ६० मिनेट पर्खन सल्लाह दिइन्छ। क्याल्सियम र आइरनका औषधिले यसको अवशोषणमा असर पार्न सक्ने भएकाले सेवनको समयबारे चिकित्सकको निर्देशन पालना गर्नुपर्छ।
थाइराइड रोगको उपचारमा सबैका लागि एउटै विशेष आहार आवश्यक हुँदैन। सन्तुलित खाना, पर्याप्त प्रोटिन, सागसब्जी, फलफूल र नियमित शारीरिक गतिविधि उपयोगी हुन्छन्। चिकित्सकीय सल्लाहबिना आयोडिन वा अन्य सप्लिमेन्टको अत्यधिक सेवन गर्नु हुँदैन।
थाइराइडको औषधिको मात्रा चाडपर्वमा आफूखुसी घटाउने वा बढाउने गर्नु हुँदैन। आवश्यकताअनुसार परीक्षण र चिकित्सकीय मूल्याङ्कन गराउनुपर्छ।
६. ज्येष्ठ नागरिक स् उमेरसँगै बढ्ने स्वास्थ्य जोखिममा विशेष ध्यान
दशैँ, तिहार र छठ परिवारका ज्येष्ठ सदस्यसँग भेटघाट गर्ने, आशीर्वाद लिने र माया बाँड्ने अवसर हुन्। तर, उमेर बढ्दै जाँदा भोक कम लाग्ने, दाँत वा चपाउने समस्या, कब्जियत, निर्जलीकरण, कमजोरी र धेरै औषधि सेवन गर्नुपर्ने अवस्था देखिन सक्छ।
ज्येष्ठ नागरिकलाई नरम, सजिलै चपाउन सकिने र पोषणयुक्त खाना दिनुपर्छ। दाल, गेडागुडी, दूध वा दही सहन सक्ने व्यक्तिमा दुग्धजन्य पदार्थ, अण्डा, माछा वा अन्य उपयुक्त प्रोटिन स्रोतले पोषणमा सहयोग पुर्याउँछन्। दैनिक खानामा सागसब्जी, फलफूल र पर्याप्त फाइबर समावेश गर्नुपर्छ।
तर, सबै ज्येष्ठ नागरिकलाई एउटै आहार उपयुक्त हुँदैन। मुटु वा मिर्गौलाको समस्या भएका व्यक्तिमा तरल पदार्थ, नुन, पोटासियम वा प्रोटिनको मात्रा चिकित्सकको सल्लाहअनुसार मिलाउनुपर्ने हुन सक्छ।
परिवारका सदस्यले ज्येष्ठ नागरिकको औषधि समयमै खाए(नखाएको, पर्याप्त खाना खाएको र पानी पिउन सकेको छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ। उनीहरूलाई लामो समयसम्म भोकै राख्ने, धेरै हिँडडुल गर्न बाध्य पार्ने वा मदिरा सेवन गर्न दबाब दिने गर्नु हुँदैन।
चाडपर्वको वास्तविक खुसी ज्येष्ठ नागरिकलाई धेरै खुवाउनुमा मात्र होइन, उनीहरूको आवश्यकता बुझ्नु, सम्मान गर्नु र सहज वातावरण दिनुमा पनि छ।

७. चाडपर्वमा स्वस्थ रहन अपनाउन सकिने सात सरल उपाय
१. मात्रा मिलाएर खानुहोस् स् मनपर्ने परिकार खानुहोस्, तर एकैपटक धेरै नखानुहोस्।
२. सन्तुलित थाली बनाउनुहोस् स् थालीको करिब आधा भाग सागसब्जी तथा सलाद, एक चौथाइ प्रोटिनयुक्त खाना र बाँकी चौथाइ भात, रोटी वा अन्य अन्नले भर्न सकिन्छ। व्यक्तिगत रोगअनुसार यो अनुपात परिवर्तन हुन सक्छ।
३. औषधि नियमित सेवन गर्नुहोस् स् मधुमेह, उच्च रक्तचाप, थाइराइड र मुटुरोगका औषधि चिकित्सकको सल्लाहबिना नछाड्नुहोस्।
४. शारीरिक गतिविधि जारी राख्नुहोस् स् स्वास्थ्यले अनुमति दिएमा नियमित हिँडडुल गर्नुहोस्। खाना खाएपछि सहज रूपमा हिँड्नु उपयोगी हुन्छ।
५. पर्याप्त पानी पिउनुहोस् स् तर मुटु वा मिर्गौलाको रोगका कारण तरल पदार्थ सीमित गर्न भनिएको छ भने चिकित्सकको निर्देशन पालना गर्नुहोस्।
६. मदिरा र धूम्रपानबाट बच्नुहोस् स् चाडपर्वमा मदिरा सेवनलाई सामाजिक दबाबका रूपमा नलिनुहोस्।
७. खाद्य स्वच्छतामा ध्यान दिनुहोस् स् सफा पानी प्रयोग गर्नुहोस्, हात धुनुहोस्, खाना सुरक्षित तापक्रममा राख्नुहोस् र लामो समय खुला राखिएको वा बिग्रिएको खानेकुरा नखानुहोस्।
८. कुन लक्षण देखिएमा तुरुन्त अस्पताल जाने ?
चाडपर्वका समयमा सामान्य अपच र पेट फुल्ने समस्या हुन सक्छन्। तर, छातीमा दबाब वा दुखाइ, सास फेर्न कठिनाइ, अचानक बोली लर्बरिनु वा हातखुट्टा कमजोर हुनु, बेहोस हुनु, अत्यधिक रक्तस्राव, लगातार बान्ता वा गम्भीर निर्जलीकरणका लक्षण देखिएमा घरमै उपचार गरेर बस्नु हुँदैन।
मधुमेह भएका व्यक्तिमा अत्यधिक पसिना, कम्पन, भ्रम वा बेहोसी हुनु रगतमा चिनी घटेको सङ्केत हुन सक्छ। यस्तो अवस्थामा तत्काल उपयुक्त सहायता आवश्यक हुन्छ। बिरामी बेहोस छ भने मुखबाट खानेकुरा वा पानी दिनु हुँदैन।
चाडपर्वको भीडभाडमा स्वास्थ्य सेवा लिन ढिलाइ नगर्नुहोस्। गम्भीर लक्षण देखिएमा नजिकको उपयुक्त अस्पतालको आकस्मिक कक्षमा जानुहोस्।
निष्कर्ष स् स्वस्थ शरीर, खुसी परिवार र सुरक्षित चाडपर्व
दशैँ, तिहार र छठ हाम्रो पहिचान, संस्कृति र आत्मीयताका पर्व हुन्। यी पर्वलाई स्वस्थ जीवनशैली अपनाउने अवसरका रूपमा पनि लिन सकिन्छ। परिकारको स्वाद लिने, परिवारसँग रमाउने र परम्परा जोगाउने कामसँगै खानपानको मात्रा, औषधिको नियमितता, शारीरिक सक्रियता र स्वास्थ्यसम्बन्धी सावधानीलाई पनि महत्त्व दिनुपर्छ।
दीर्घरोग हुनु भनेको चाडपर्वको खुसीबाट वञ्चित हुनु होइन। उचित योजना, सन्तुलित खानपान र नियमित उपचारबाट अधिकांश व्यक्तिले आफ्नो स्वास्थ्यअनुसार चाडपर्वको आनन्द लिन सक्छन्।
यसपालिको दशैँमा संयमित खानपान, तिहारमा मिठाससँगै स्वास्थ्यको ख्याल र छठमा आस्थासँगै सुरक्षित जीवनशैली अपनाऔँ। स्वस्थ व्यक्ति, स्वस्थ परिवार र स्वस्थ समाज निर्माणका लागि चाडपर्वलाई रोग बढाउने अवसर होइन, स्वास्थ्यप्रति सचेत हुने अवसर बनाऔँ।
(डा. घिमिरे दमक अस्पताल, झापामा कार्यरत जनरल फिजिसियन हुन्।)
प्रतिक्रिया 4