+
+
Shares

मिथिलाको सात्त्विक भोजन तरुवा

पुस्तौँदेखि चल्दै आएको तरुवाको स्वाद र बनाउने परम्पराले मधेशको मौलिक खानपान संस्कृतिलाई जीवन्त राखेको छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८३ कात्तिक ३ गते १४:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिथिलाञ्चलमा तरुवा तावा वा कराहीमा तारिने रैथाने परिकार हो, जसलाई पाहुना सत्कार र विशेष अवसरसँग जोडिन्छ ।
  • बीबीसी मास्टर सेफ सन्तोष साहले तरुवाबिना मिथिला भोज नहुने बताए र परम्परागत स्वाद अहिले घट्दै गएको उल्लेख गरे ।
  • मैथिली संस्कृतिविद् परमेश्वर कापरीका अनुसार मिथिलाञ्चलमा तरुवा र बघरुवा गरी दुई प्रकारका परिकार प्रचलित छन् ।

३ कात्तिक, काठमाडौं । मधेशका प्रमुख रैथाने परिकारमध्ये एक हो तरुवा । मिथिलाञ्चलको खानपान संस्कृतिमा तरुवाको विशेष महत्त्व छ । यसलाई सात्त्विक र सत्कारका लागि तयार गरिने परिकारका रूपमासमेत लिइन्छ ।

मधेशमा पाहुना आउँदा वा विशेष अवसरमा भोजन तयार गर्दा तरुवा बनाउने पुरानो चलन छ । त्यसैले मिथिलाञ्चलमा तरुवा केवल स्वादका लागि खाने परिकार मात्र नभई आतिथ्य र सांस्कृतिक परम्परासँग जोडिएको खानाका रूपमा पनि परिचित छ ।

तरुवा अर्थात् तेलमा तारेर बनाइने परिकार । आलु, प्याज, भन्टा, गोलभेँडा, केरा, काउलीलगायतका तरकारीबाट तरुवा बनाउन सकिन्छ । तरुवा बनाउन चामलको पिठो वा बेसनमा आवश्यकताअनुसार पानी मिसाएर घोल तयार गरिन्छ । यसलाई पिठार पनि भनिन्छ । घोलमा नुन र बेसार हालिन्छ । त्यसपछि तरुवा बनाउन प्रयोग गरिने तरकारीलाई उक्त घोल (पिठार) मा डुबाएर तावा वा कराहीमा तारिन्छ ।

परम्परागत रूपमा तरुवा बनाउँदा चुलोमा तावा राखेर थोरै तेलमा तार्ने गरिन्थ्यो । तरकारीको दुवैपट्टि पाक्ने गरी ओल्टाइपल्टाइ गरेपछि केही समयमै तरुवा तयार हुन्छ ।

‘तावामा ओल्टाइपोल्टाइ गरेर बनाउने परिकार नै तरुवा हो । यो बनाउन अलिक समय लाग्छ । तर स्वाद विशिष्ट हुन्छ,’ बटेश्वर गाउँपालिका–२ की गृहिणी ससीता महतो भन्छिन् । अहिले पनि परम्परागत तरिकाले बनाइएको तरुवा मन पराउनेहरू उत्तिकै छन् ।

पहिले आर्थिक अवस्था कमजोर भएका परिवारमा चाडपर्व वा पाहुना आएका बेला मात्रै तरुवा बनाउने चलन थियो । तर समयक्रमसँगै मानिसमा खानपानको रुचि परिवर्तन हुँदै गयो र तरुवा सामान्य दिनमा पनि घरघरमा पाक्न थाल्यो ।

पहिलेको तरुवा चुल्होमा बनाउँदा स्वाद नै बेग्लै हुन्थ्यो । चुल्होमा ताबा राखेर अलिअलि तेल दिएर तार्दा समय अलिक बढी लाग्थ्यो । त्यसमा चामल वा बेसन सिलौटामा पिसेर पिठार तयार पारिन्थ्यो । अहिले पिठारको लागि चामलको पिठो वा पिसेकै बेसन राख्ने गरिन्छ । र, ग्यास चुल्होमा तरुवा बनाउने चलन बढेको छ ।

यसैगरी, पछिल्लो समय धेरै तेलमा डुबाएर तार्ने अर्थात् छान्ने तरुवा बनाउने प्रचलन पनि बढ्दै गएको छ । तर थोरै तेलमा तारेर बनाइने परम्परागत तरुवा र धेरै तेलमा डुबाएर तारिएको तरुवाको स्वादमा भिन्नता हुन्छ ।

बीबीसी मास्टर सेफ सन्तोष साहको भनाइमा तरुवाबिना मथिलिा भोज हुँदैन भन्ने मान्यता छ । तार्ने विधिबाट नै नाम तरुवा आएको हो ।

‘चुल्होमा तावा राखेर तार्दाको स्वाद नै बेग्लै हुन्थ्यो । तर अहिले तरुवालाई छनुवा जस्तो बनाउन थालिएको छ,’ उनी भन्छन्, ‘पहिले तरुवा बनाउन बढी समय र जनशक्ति लाग्ने हुनाले पछिल्लो समय तरुवालाई छनुवा जस्तो बनाउने गरिन्छ । तर त्यसमा पहिलाको जस्तो स्वाद आउँदैन ।’

मिथिलाञ्चलमा दालभात, तरकारी र चटनीसँग तरुवा पस्किँदा भोजनको स्वाद अझ बढ्छ । खानामा विभिन्न परिकारसँगै तरुवा समावेश हुनुलाई राम्रो सत्कारको प्रतीकका रूपमा लिइन्छ । त्यसैले पाहुनाको स्वागत गर्दा तरुवा खुवाउने चलन अझै कायम छ । आर्थिक अवस्था र उपलब्धताअनुसार अहिले मानिसहरूले आफ्नो इच्छाअनुसार विभिन्न प्रकारका तरुवा बनाएर खाने गरेका छन् ।

मधेश तथा मिथिलाञ्चलका विभिन्न चाडपर्वमा पनि तरुवाको विशेष महत्त्व छ । नयाँ वर्षका अवसरमा मनाइने जुडशीतल, तिहार तथा छठ पर्वको पारनलगायतका अवसरमा तरुवा बनाउने चलन छ । यस्ता अवसरमा आलु, भन्टा, केरा, काउली, खुर्सानी, करेला, तरुल, फर्सी, लौकालगायतका विभिन्न तरकारीबाट तयार पारिएका तरुवा भोजनमा समावेश गरिन्छ ।

मैथिली संस्कृतिविद् प्राध्यापक परमेश्वर कापरीका अनुसार मिथिलाञ्चलमा तरुवा र बघरुवा गरी दुई प्रकारका परिकार प्रचलित छन् । ‘तरुवा भनेको तावा वा कराहीमा तेल राखेर तार्ने परिकार हो । बघरुवा भने हल्का तेल हालेर ओइलाउने परिकार हो,’ उनी भन्छन् ।

यसरी तरुवा मिथिलाञ्चलको परम्परागत खानपान, आतिथ्य सत्कार र सांस्कृतिक पहिचानसँग जोडिएको रैथाने परिकार हो । पछिल्लो समय साकाहारी भोजमा तरुवाको चलन बढेको छ ।

यो परिकारको व्यावसायिक उपयोगिता पनि छ । साकाहारी भोजन खुवाउने होटेल तथा रेस्टुरेन्टहरूमा तरुवाको परिकार दिन थालिएको छ । यसले खानाको विशिष्टता थपेको छ । तरुवाको प्रचलन बढी मधेश र मिथिलामै हुन्छ । तरुवा सागसब्जीबाट बन्ने हुनाले यो पूर्णत: साकाहारी हुन्छ ।

विश्वका धेरै देश घुमेका र खानाकै परिकारबारे जानकार बीबीसी सन्तोष सेफका भनाइमा अन्यत्र यसरी तरुवा बनाइँदैन । ‘म विश्वका धेरै देश घुमेको छु । बाहिर सागसब्जी नै फ्राइ गरेर बनाउँछन् । चामलको पिठोलाई सिलौटामा पिसेर तरुवा बनाउने प्रचलन हाम्रोमा मात्र छ,’ उनले भने ।

पुस्तौँदेखि चल्दै आएको तरुवाको स्वाद र बनाउने परम्पराले मधेशको मौलिक खानपान संस्कृतिलाई जीवन्त राखेको छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?