News Summary
Generated by OK AI. Editorially reviewed.- प्रकृति मैनालीले दशैँलाई परम्परा, आस्था र व्यक्तिगत रुचिका आधारमा हेर्दै पशुबलि र हिंसामाथि प्रश्न गर्नुपर्ने बताएकी छन्।
- उनले शक्ति, करुणा र विवेकको अर्थ पुनर्विचार गर्न आग्रह गर्दै देवीको नाममा निर्दोष प्राणीको बलि दिनु उचित नभएको उल्लेख गरेकी छन्।
- उनले दशैँमा अन्धअनुकरणभन्दा विवेक, करुणा र प्रश्न गर्ने स्वतन्त्रतालाई सम्मान गर्नुपर्ने प्रार्थना गरेकी छन्।
हामी अहिंसालाई पनि मान्छौँ, हिंसालाई पनि स्वीकार्छौँ। हामी धार्मिक कथाहरूलाई श्रद्धापूर्वक सुन्छौँ, तिनका पात्रहरूलाई पुज्छौँ र तिनका मान्यतालाई परम्पराका रूपमा निरन्तरता दिन्छौँ। तर ती कथाभित्र लुकेका तर्क, सन्देश र नैतिक प्रश्नहरूमाथि विवेकपूर्ण छलफल गर्न हिचकिचाउँछौँ।
हामी बुद्धलाई मान्छौँ, जो अहिंसा, करुणा र प्रज्ञाका प्रबल पक्षधर हुन्। हामी वैज्ञानिक सोच, तर्कशीलता र विवेकको कुरा गर्छौँ। युरोपेली पुनर्जागरणले जन्माएको ‘प्रश्न गर्ने चेतना’ को चर्चा गर्छौँ। तर जब आफ्नै धर्म, संस्कृति र चाडपर्वमा पुस्तौँदेखि चलिआएका अभ्यासमाथि प्रश्न गर्ने बेला आउँछ, तब हामी किन मौन हुन्छौँ ?
हाम्रो आफ्नै पूर्वीय संस्कृति र दर्शनमा पनि आत्मपरीक्षण, अनित्य, करुणा र विवेकका समृद्ध परम्पराहरू छन्। त्यसैले परम्पराभित्रै रहेका प्रश्न गर्ने सम्भावनालाई जीवित बनाउनु आजको आवश्यकता हो।
हामीले बुझ्नुपर्छ- परम्परामाथि प्रश्न गर्नु परम्पराको अपमान गर्नु होइन। आफ्नो विश्वासलाई जाँच्नु आस्थाको अन्त्य गर्नु पनि होइन। बरु, त्यसलाई अझ गहिरो र चेतनशील बनाउने अवसर हो।
दशैँ एउटा यस्तो चाड हो, जसलाई प्रत्येक मानिसले आफ्नो चेतना, अवस्था, रुचि र विश्वासअनुसार फरक–फरक ढङ्गले बुझिरहेको हुन्छ। कसैका लागि दशैँ देवीको आराधना र शक्तिसाधनाको अवसर हो। कसैका लागि यो परिवारसँग भेटघाट गर्ने र लामो बिदा मनाउने समय हो।
कसैका लागि नयाँ लुगा, टीका, जमरा र दक्षिणाको उत्सव हो। कसैका लागि खसीको मासु, तास र रमाइलोसँग जोडिएको चाड हो। अनि कसैका लागि पशुबलि र हिंसाको प्रश्नसँग जोडिएको समय हो।
दशैँ एउटै भए पनि त्यसलाई हेर्ने दृष्टिकोण अनेक छन्। हामीले दशैँलाई जसरी बुझिरहेका छौँ, त्यो धेरै हदसम्म हाम्रो संस्कार, अनुभव, रुचि र जीवनदृष्टिको प्रतिबिम्ब हो।
तर यहाँ एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ- हामीले आफ्ना चाहनाहरू पूरा गर्न परम्परा र आस्थाको सहारा लिइरहेका त छैनौँ ?
मानिसले आफ्नो रुचिअनुसार खानु, रमाउनु र उत्सव मनाउनुमा स्वाभाविक रूपमा कुनै अस्वाभाविकता छैन। त्यसलाई देवीको इच्छा वा धार्मिक अनिवार्यताका रूपमा प्रस्तुत गरेर आफ्नो चाहनालाई अलौकिक औचित्य दिनु आवश्यक छैन। आफूलाई मासु खान मन लागेकै कारण देवीले भोग माग्छिन्, देवीलाई पशुबलि दिनैपर्छ वा देवीलाई प्रसन्न पार्न रगत चढाउनैपर्छ भन्ने व्याख्या गर्नुचाहिँ प्रश्नको विषय हो।
यसको अर्थ दशैँ मनाउनु हुँदैन, मासु खानु हुँदैन वा सबै मानिस शाकाहारी हुनुपर्छ भन्ने होइन। प्रश्न यति मात्र हो- आफ्नो निर्णयको जिम्मेवारी आफैँले लिन हामी तयार छौँ कि छैनौँ ? आफ्नो रुचिलाई रुचि, आफ्नो विश्वासलाई विश्वास र आफ्नो छनोटलाई छनोट भनेर स्वीकार गर्न सक्छौँ कि सक्दैनौँ ? आफ्नो इच्छालाई देवीको अनिवार्य आदेश बनाएर प्रस्तुत गर्नु आवश्यक छ कि छैन, आफैँलाई प्रश्न गर्नु हो।
पुनर्जागरणको एउटा महत्त्वपूर्ण शिक्षा पनि यही हो- ज्ञान, कला, दर्शन र मानव जीवनलाई पुराना स्थापित मान्यताभन्दा बाहिरबाट समेत हेर्ने साहस। त्यसको अर्थ आज हामीले आफ्ना सबै परम्परा त्याग्नुपर्छ भन्ने होइन। तर परम्परालाई प्रश्नभन्दा माथि राखेर ज्ञान र चेतनाको विकास सम्भव हुँदैन भन्ने कुरा बुझ्नु हो।
कुनै परम्परा पुरानो हुँदैमा प्रश्नभन्दा माथि हुँदैन। कुनै अभ्यास धार्मिक हुँदैमा विवेकभन्दा माथि हुँदैन। कुनै मान्यतालाई पुस्तौँदेखि मानिँदै आएको छ भन्दैमा त्यो अनित्य हुन्छ भन्ने होइन। परम्पराको निरन्तरता आफैँमा त्यसको औचित्यको प्रमाण हुन सक्दैन। कुनै मान्यता पुरानो हुँदैमा स्वतः सही हुँदैन। कुनै अभ्यास धार्मिक हुँदैमा त्यसको नैतिक प्रभावबारे छलफल गर्न नमिल्ने होइन।
कुनै कुरा पुस्तौँदेखि गरिँदै आएको छ भन्दैमा त्यसलाई सधैँ त्यसरी नै गरिरहनुपर्छ भन्ने पनि छैन। परम्परा समयसँगै परिवर्तन हुन सक्छ। त्यसको मूल मर्मलाई अझ गहिरो रूपमा बुझेर त्यसलाई आजको सामाजिक चेतना, ज्ञान र मानवीय संवेदनशीलतासँग जोड्न सकिन्छ।
यसको अर्थ सबै मानिसले एउटै तरिकाले दशैँ मनाउनुपर्छ भन्ने होइन। कसैले देवीको पूजा गर्लान्, कसैले पारिवारिक उत्सवका रूपमा मनाउलान्, कसैले पशुबलिबारे प्रश्न गर्लान् र कसैले अहिंसात्मक विकल्प रोज्लान्। फरक आस्था र छनोटका बीच पनि संवाद, सम्मान र विवेकका लागि ठाउँ हुनुपर्छ।
मासु खाने र शाकाहारी भोजन गर्ने व्यक्तिबीचको भिन्नता व्यक्तिगत रुचि र विवेकको भिन्नता पनि हुन सक्छ। मासु खानु कसैको व्यक्तिगत छनोट हो भने मासु नखानु पनि उत्तिकै व्यक्तिगत छनोट हो। तर जब मासु खाने इच्छालाई ‘भगवान्ले नै बलि माग्नुहुन्छ’ भन्ने धार्मिक व्याख्यासँग जोडिन्छ, तब अहिंसा र करुणामा विश्वास गर्ने व्यक्तिको विवेकले त्यसलाई स्वीकार नगर्न सक्छ।
शक्तिको वास्तविक अर्थ के हो ?
शक्ति आफैँमा नैतिक हुँदैन। त्यसको प्रयोगलाई नैतिक दिशा दिने कुरा हाम्रो चेतना, करुणा र विवेक हो। शक्ति हुनु सामर्थ्य हो; शक्तिको सही प्रयोग गर्नु चेतना हो।
नवरात्रिका नौ दिनमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री- नवदुर्गाका यी नौ स्वरूपको पूजा गरिन्छ। त्यसैगरी हामी दुर्गा, काली, लक्ष्मी र सरस्वतीजस्ता देवीहरूको पनि आराधना गर्छौँ।
यी देवीहरूलाई हामी शक्ति, साहस, समृद्धि, ज्ञान र अन्यायविरुद्धको प्रतिरोधका प्रतीकका रूपमा बुझ्छौँ। देवीको आराधना गर्दा हामी शक्ति र विजयको कामना गर्छौँ।
के शक्ति भनेको आफूभन्दा कमजोरमाथि प्रभुत्व स्थापित गर्नु हो ? के आफूलाई प्रतिरोध गर्न नसक्ने निर्दोष प्राणीमाथि आफ्नो सामर्थ्य प्रदर्शन गर्नु शक्ति हो ? कि वास्तविक शक्ति भनेको आफूभन्दा कमजोरको रक्षा गर्नु, अन्यायको प्रतिरोध गर्नु र निर्बललाई पनि सम्मानपूर्वक बाँच्न दिनु हो ?
यदि हामी शक्तिकी देवीको उपासना गर्छौँ, तर त्यही उपासनाको नाममा आफूभन्दा कमजोर, निर्दोष र प्रतिरोध गर्न नसक्ने प्राणीको बलि दिन्छौँ भने, हामीले आफैँसँग एउटा प्रश्न गर्नुपर्छ- हामीले देवीको शक्तिलाई बुझिरहेका छौँ कि केवल परम्परालाई दोहोर्याइरहेका छौँ ?
यदि हामी ज्ञान र विवेककी देवीको पूजा गर्छौँ भने आफ्नै मान्यतामाथि प्रश्न गर्ने साहस पनि हामीसँग हुनुपर्छ। यदि हामी शक्तिकी देवीको पूजा गर्छौँ भने हाम्रो शक्तिले निर्बलको रक्षा गर्नुपर्छ। यदि हामी करुणालाई मूल्य मान्छौँ भने हाम्रो उपासनामा पनि करुणाका लागि ठाउँ हुनुपर्छ।
यस दशैँमा दुर्गा मातासँग मेरो प्रार्थना
हामीलाई केवल पूजा गर्ने भक्ति मात्र होइन, प्रश्न गर्ने साहस पनि दिनुहोस्। परम्पराको सम्मान गर्दै त्यसलाई विवेकको कसीमा जाँच्न सक्ने सद्बुद्धि दिनुहोस्। अन्धविश्वासभन्दा माथि उठेर सत्य खोज्न सक्ने चेतना दिनुहोस्।
हामीलाई आफूभन्दा कमजोरमाथि शक्ति प्रदर्शन गर्ने होइन, निर्बलको रक्षा गर्ने सामर्थ्य दिनुहोस्। आफ्नो अहङ्कारलाई सही साबित गर्न खोज्ने होइन, आफ्नै त्रुटि स्वीकार गर्न सक्ने विनम्रता दिनुहोस्।
हामीलाई अहिंसाको कुरा गर्ने मात्र होइन, अहिंसालाई आफ्नो व्यवहारमा उतार्ने बुद्धि दिनुहोस्। हामीलाई परम्पराको नाममा अरूलाई दोष दिन होइन, आफ्नै सोच र व्यवहारलाई पुनर्विचार गर्न सक्ने आत्मचेतना दिनुहोस्। हामीलाई धर्मका नाममा विभाजन होइन, करुणाका माध्यमबाट जोडिन सक्ने हृदय दिनुहोस्।
सायद, दशैँको वास्तविक पुनर्जागरण त्यहीँबाट सुरु हुन्छ- जब हाम्रो भक्ति अन्धभक्ति रहँदैन, हाम्रो संस्कृति प्रश्नबाट डराउँदैन र हाम्रो धर्मले हामीलाई अझ बढी मानवीय बन्न सिकाउँछ।
दशैँको अर्थ केवल असत्यमाथि सत्यको विजय, अधर्ममाथि धर्मको विजय वा अन्धकारमाथि प्रकाशको विजयमा सीमित नरहोस्। त्यो हाम्रो आफ्नै अज्ञानमाथि चेतनाको विजय, अहङ्कारमाथि करुणाको विजय र अन्धअनुकरणमाथि विवेकको विजय पनि बनोस्।
हामीले उत्सव मनाऔँ, रमाइलो गरौँ, परिवार र साथीभाइसँग खुसी साटौँ। तर त्यसो गरिरहँदा आफ्नो विवेकलाई बिदा नदिऔँ। हामीले परम्परालाई निरन्तरता दिन सक्छौँ, तर भ्रमलाई निरन्तरता दिनैपर्छ भन्ने छैन।
दशैँको वास्तविक पुनर्जागरण तब हुनेछ, जब हामी देवीको शक्ति खोज्दै गर्दा आफ्नै विवेकलाई जागृत गर्नेछौँ; जब हामी विजयको उत्सव मनाउँदै गर्दा हिंसाभन्दा करुणालाई रोज्नेछौँ; र जब हामी आस्थालाई जोगाउँदै गर्दा प्रश्न गर्ने स्वतन्त्रतालाई पनि उत्तिकै सम्मान गर्नेछौँ।
किनकि सायद सबैभन्दा ठूलो विजय कुनै अर्को प्राणीमाथि प्राप्त गरिने विजय होइन- आफ्नै अविद्या, भ्रम र विवेकहीनतामाथि प्राप्त गरिने विजय हो। सायद यस दशैँमा हामीले काट्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा कुनै निर्दोष प्राणीको घाँटी होइन, हाम्रो विवेकलाई बाँधेर राखेका भ्रम, हिंस्रक संस्कार र अविद्याका गाँठाहरू हुन्।
प्रतिक्रिया 4