News Summary
Generated by OK AI. Editorially reviewed.- दशैंको नवमीमा तेह्रथुम, धनकुटा, ताप्लेजुङ र पाँचथरमा लिम्बू समुदायले पुराना हातहतियारसहितका निशान निकालेर पूजा गर्ने परम्परा कायम राखेका छन्।
- धनकुटाको छथर जोरपाटीमा खजुम पारघरी र चोङ्वाङ लिम्बूसँग सम्बन्धित दुई निशानलाई मौलोडाँडासम्म पुर्याएर मौलो काटी पुनः निशानघरमा राखिन्छ।
- अध्येताहरूले निशानलाई लिम्बू समुदायको ऐतिहासिक पहिचान, सैन्य संगठन र पुर्खाको विरासत बुझ्ने महत्त्वपूर्ण आधार भनेका छन्।
३ कार्तिक, तेह्रथुम । दशैंको नवमी । गाउँघरमा दुर्गा भवानीको पूजा आराधना चलिरहेको हुन्छ । पूर्वी नेपालको लिम्बुवान क्षेत्रमा भने यही दिन पुस्तौँदेखि चल्दै आएको एउटा ऐतिहासिक परम्परा छ ।
पुराना हातहतियारसहितका निशान निकालिन्छन्, विधिपूर्वक पूजाआजा गरिन्छ र कतिपय स्थानमा निशान नचाउँदै मौलो काटिन्छ ।
धार्मिक आस्था र सांस्कृतिक अभ्याससँग जोडिएको यो परम्पराले लिम्बू समुदायको ऐतिहासिक पहिचान, सैन्य संगठन र पुर्खाको विरासतलाई समेत स्मरण गराउँछ ।
तेह्रथुम, धनकुटा, ताप्लेजुङ र पाँचथरका विभिन्न स्थानमा बडादशैंको नवमीका दिन निशान निकाल्ने चलन छ ।
स्थानीय रूपमा ‘लिम्बुवानको निशान’ भनेर चिनिने यी ऐतिहासिक वस्तुमा पुराना हातहतियारसमेत छन् ।
कतै निशानलाई कोतघरबाट निकालेर मौलो काट्न लगिन्छ भने कतै पूजाआजा गरेर सुरक्षित राखिन्छ ।
स्थानअनुसार विधि फरक भए पनि निशानप्रतिको आस्था र त्यससँग जोडिएको ऐतिहासिक सम्बन्धले यो परम्परालाई विशिष्ट बनाएको छ ।
धनकुटाको तत्कालीन ताङ्खुवा गाविस, हालको छथर जोरपाटी गाउँपालिकामा खजुम पारघरी र चोङ्वाङ लिम्बू समुदायसँग सम्बन्धित दुईवटा निशान छन् ।
दशैंको नवमीका दिन कोतघरबाट निकालिने यी निशानलाई करिब डेढ किलोमिटर टाढा रहेको मौलोडाँडासम्म पुर्याइन्छ ।
त्यहाँ परम्पराअनुसार मौलो काटेपछि निशानलाई पुनः निशानघरमा फर्काएर सुरक्षित राखिन्छ । पुराना हातहतियारसहित निशान निकाल्ने र मौलो काट्ने परम्परा रहँदै आएको छ ।
तेर्हथुमको छथर गाउँपालिकास्थित वासिकामा खजुम लिम्बू समुदायसँग सम्बन्धित दुईवटा निशान छन् । तर संरक्षणको अभावमा ती निशान जीर्ण बनेका छन् ।
ऐतिहासिक महत्त्व बोकेका यस्ता वस्तुको उचित संरक्षण र अभिलेखीकरण हुन नसक्दा तिनको मौलिक स्वरूप तथा इतिहास सुरक्षित राख्ने चुनौती देखिएको छ ।
तेर्हथुमकै सुदाप ओख्रेमा खेवा लिम्बू समुदायसँग सम्बन्धित दुईवटा निशान रहेका छन् । ती निशानमा पुराना हातहतियार र तोपसमेत रहेका छन् ।
पाँचथरको याङरुप क्षेत्रमा योङहाङ लिम्बू समुदायसँग सम्बन्धित दुईवटा निशान छन् । यहाँ हरेक वर्ष नवमीका दिन निशान नचाउने परम्परा रहेको छ ।
यसबाहेक लिम्बू समुदायका विभिन्न थर र वंशसँग सम्बन्धित निशानबारे पनि ऐतिहासिक विवरण पाइन्छ ।

‘लिम्बू जातिको इतिहास’ पुस्तक, २०७५ मा उल्लेख भएअनुसार फागो वानेमसँग एकवटा, कन्दङ्वाका एकवटा, इङ्नाम लिम्बुसँग दुईवटा, सेवा लिम्बुसँग दुईवटा, आङ्बोहाङ, योङहाङ, थेवे र तमोरखोले साँवा लिम्बुका एक–एकवटा निशान रहेका छन् ।
इतिहास तथा संस्कृतिका अध्येता डा. कमल तिगेलाका अनुसार लिम्बू समुदायको प्राचीन इतिहासमा राज्य व्यवस्था र सैन्य संगठनको अस्तित्व बुझ्न निशानलाई महत्त्वपूर्ण ऐतिहासिक आधारका रूपमा लिन सकिन्छ ।
उनका अनुसार थिवोङ याक्थुङ कालदेखि नै लिम्बूहरू लडाकु समुदायका रूपमा परिचित थिए ।
नेपाल राज्य एकीकरण हुनुअघिको राजनीतिक इतिहाससँग जोडेर हेर्दा पनि निशानको महत्त्व विशेष रहेको उनको तर्क छ ।
सेन शासनकालभन्दा अगाडिदेखि नै लिम्बू समुदायमा निशानको परम्परा रहेको उनको दाबी छ ।
निशानलाई धार्मिक अनुष्ठानमा प्रयोग हुने वस्तुका रूपमा मात्र हेर्न नहुने तिगेलाको धारणा छ ।
उनका अनुसार निशानसँग सम्बन्धित हातहतियार, ऐतिहासिक दस्तावेज, स्थानीय किंवदन्ती र पूजाविधिको अध्ययनले लिम्बू समुदायको राजनीतिक, सामाजिक तथा सैन्य इतिहासका विभिन्न पक्ष उजागर गर्न सक्छ ।
कुनै समुदायसँग निशानको परम्परा रहनुले त्यसको संगठनात्मक इतिहास अध्ययन गर्ने आधार दिन्छ ।
पूर्वप्रमुख जिल्ला अधिकारी तथा लेखक भगिराज ईङ्नाम पनि लिम्बू समुदायसँग रहेका निशानलाई लिम्बू र लिम्बुवानको इतिहाससँग जोडेर हेर्छन् ।
उनका अनुसार यी निशानले समुदायको विगत, ऐतिहासिक सम्बन्ध र पहिचानलाई प्रतिनिधित्व गर्छन् ।
निशानको इतिहास बुझ्न मौखिक परम्परासँगै लालमोहर, सरकारी अभिलेख र अन्य ऐतिहासिक दस्तावेजको अध्ययन आवश्यक हुन्छ ।
वि.सं. १८३९ मा राजा रणबहादुर शाहले खजुम लिम्बूहरूलाई दिएको भनिएको लालमोहरलाई पनि निशानको इतिहाससँग जोडेर उल्लेख छ ।
दशैंको नवमीमा निशान निकाल्ने परम्परा धार्मिक आस्था र सामुदायिक पहिचानको संगम पनि हो ।
कोतघरमा सुरक्षित राखिएका निशान वर्षमा एकपटक विशेष विधिअनुसार बाहिर निकालिनु, पूजा गरिनु र कतै मौलो काट्न लगिनुले पुर्खादेखि चल्दै आएको छ ।
समयसँगै समाजका अनेकौँ परम्परा परिवर्तन भइरहेका बेला लिम्बुवानका केही स्थानमा निशान निकाल्ने, पूजा गर्ने र मौलो काट्ने अभ्यास अझै कायम छ ।
प्रतिक्रिया 4