+
+
Shares

‘शोबाट बाहिर आएपछि मैले मनोचिकित्सककहाँ जानुपर्‍यो’, बिग बोसबारे तनिषा मुखर्जीको खुलासा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३ गते १६:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तनिषा मुखर्जीले ‘बिग बोस’को टोलीले सहभागीबीच सम्बन्ध विकास गराउन विशेष परिस्थितिहरू सिर्जना गर्ने दाबी गरेकी छन्।
  • उनले आफू शोमा जाँदा त्यहाँको प्रकृतिबारे पूर्ण जानकारी नभएको र ‘बिग बोस’को ब्रेनवासिङबाट बाहिर निस्कन ६ महिना लागेको बताइन्।
  • तनिषाले निर्माता टोलीले आफू र अरमान कोहलीलाई एउटै टिममा राखेको र सन् २०१३ मा उनीहरूबीच निकटता बढेको खुलाइन्।

रियालिटी शो ‘बिग बोस’मा प्रायः झगडा, प्रेम र मित्रताका कथा देख्न पाइन्छन् । हालै अभिनेत्री तनिषा मुखर्जीले शोमा सहभागीहरूबीच सम्बन्ध विकास गराउन विशेष परिस्थितिहरू सिर्जना गरिने दाबी गरेकी छन् । उनले अभिनेता अरमान कोहलीसँगको आफ्नो सम्बन्धबारे पनि खुलेर कुरा गरेकी छन् ।

‘बिग बोस’मा जानुअघि शोबारे पूर्ण जानकारी थिएन

युट्युब च्यानल ‘अनफोल्डिङ ह्युमन्स’सँगको कुराकानीमा तनिषाले आफू ‘बिग बोस’मा सहभागी हुँदा त्यहाँ कस्ता परिस्थितिको सामना गर्नुपर्छ भन्नेबारे पूर्ण जानकारी नभएको बताइन् । त्यतिबेला आफू निकै सोझी रहेको र त्यस्तो अनुभवका लागि पूर्ण रूपमा तयार नभएको उनको भनाइ छ । उनले यस्ता रियालिटी शोमा सहभागी हुनुअघि त्यसको प्रकृतिबारे राम्ररी बुझ्नुपर्ने बताएकी छन् ।

तनिषाका अनुसार शोको टोलीले दुई व्यक्तिलाई एकअर्काको टिमको सदस्य र विश्वासिलो साथी ठान्ने वातावरण बनाउँछ । उनले भनिन्, ‘उनीहरूले तपाईंलाई यस्ता परिस्थितिमा फसाउँछन् । कठिन अवस्थामा सँगै राख्छन्, जेलमा समेत सँगै राख्छन् । यस्तो अवस्थामा दुवैले आफ्ना समस्यालाई लिएर एकअर्काप्रति सहानुभूति महसुस गर्न थाल्छन् ।’

उनले थपिन्, ‘यी सबै अनुभवले तपाईंभित्र यस्ता भावना पैदा हुन्छन्, जुन वास्तवमा तपाईंका आफ्नै हुँदैनन् । तपाईंहरू सँगै गुज्रिएका परिस्थितिका कारण ती भावना विकास हुन्छन् । जबकि, तपाईंले ती परिस्थिति आफैँले रोज्नुभएको हुँदैन । शो सञ्चालन गर्ने व्यक्तिहरूले नै यी सबै कुरा तय गर्छन् । मलाई यी कुराको अनुभूति पछि भयो ।’

अरमानसँग किन बढ्यो तनिषाको निकटता ?

तनिषाले शोका निर्माताले पछि आफू र अरमानलाई एउटै टिममा राखेको दाबी गरेकी छन् । यसले दुवैलाई एकअर्कासँग बढी समय बिताउने अवसर दिएको उनको भनाइ छ ।

अरमान कोहली पनि फिल्मी परिवारबाट आएका कारण आफूले उनीसँग फरक किसिमको आत्मीयता महसुस गरेको तनिषाले बताइन् । उनका अनुसार अरमानसँग रहँदा फिल्म क्षेत्रसँग सम्बन्धित परिचित वातावरण पाउँथिन्, जुन घरका अन्य सदस्यमा देखेकी थिइनन् । यसरी बिस्तारै दुवैबीच निकटता बढ्दै गएको उनले बताएकी छन् ।

‘ब्रेनवासिङबाट बाहिर निस्कन ६ महिना लाग्यो’

तनिषाले शोमा आफू र अरमानबीच गहिरो भावनात्मक सम्बन्ध विकास भएको बताइन् । उनका अनुसार उनीहरूलाई पछि यस्ता परिस्थितिमा राखियो, जसले कठिन अनुभवका कारण भावनात्मक सम्बन्ध अझ बलियो बनायो । यसलाई उनले ‘ट्रमा बन्डिङ’ अर्थात् साझा कठिन अनुभवबाट विकास हुने भावनात्मक निकटता भनेकी छन् ।

तनिषाले भनिन्, ‘शोबाट बाहिर आएपछि मैले मनोचिकित्सककहाँ जानुपर्‍यो । ‘बिग बोस’को ब्रेनवासिङबाट बाहिर निस्कन मलाई ६ महिना लाग्यो ।’

सन् २०१३ मा सुरु भएको थियो तनिषा र अरमानको सम्बन्ध

तनिषा मुखर्जी र अरमान कोहलीबीच सन् २०१३ मा ‘बिग बोस ७’ का क्रममा निकटता बढेको थियो। शोमा उनीहरूबीचका रोमान्टिक दृश्यले त्यतिबेला निकै चर्चा पाएका थिए ।

शो सकिएपछि पनि उनीहरूको सम्बन्धबारे समाचार आइरहे। अरमानले पनि त्यसबेला तनिषालाई आफ्नो जीवनको महत्त्वपूर्ण हिस्सा बताएका थिए ।

तर, करिब एक वर्षसम्म प्रेम सम्बन्धमा रहेपछि सन् २०१४ मा दुवै अलग भए । पछि तनिषाले आफू र अरमानको विचार फरक रहेको तथा उनीहरूको सोच एकअर्कासँग मेल नखाने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?