+
+
Shares

सन् २०२६ कै शक्तिशाली बन्यो सुपर टाइफुन चम्पी

चम्पीजस्तो शक्तिशाली आँधीको प्रभावले विश्वका विभिन्न क्षेत्रको मौसम प्रणालीमा पर्न असर पर्न सक्ने अनुमान छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ४ गते ६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पश्चिमी प्रशान्त महासागरको माइक्रोनेसिया नजिक विकसित सुपर टाइफुन चम्पी २९६ किलोमिटर प्रतिघण्टाको हावासहित सन् २०२६ को शक्तिशाली उष्णकटिबन्धीय चक्रवात बनेको छ।
  • चम्पी अक्टोबर ११, २०२६ मा न्यून चापीय प्रणालीका रूपमा विकसित भई समुद्रको न्यानो पानी र अनुकूल वायुमण्डलीय अवस्थाले तीव्र बनेको हो।
  • चम्पी पश्चिमतर्फ अघि बढ्दै ताइपेईतर्फ जाने अनुमान छ, र बिहीबार–शुक्रबारसम्म यसको शक्ति घटेर चौथो वा तेस्रो श्रेणीमा झर्ने पूर्वानुमान गरिएको छ।

४ कात्तिक, काठमाडौं । पश्चिमी प्रशान्त महासागरको माइक्रोनेसिया क्षेत्रनजिक विकसित भएको सुपर टाइफुन चम्पी सन् २०२६ कै शक्तिशाली समुद्री आँधीमध्ये एक बनेको छ ।

वेदर नेटवर्कका अनुसार हावाको गतिका आधारमा सुपर टाइफुन चम्पी सन् २०२६ को विश्वकै शक्तिशाली उष्णकटिबन्धीय चक्रवात हो ।

पश्चिमी प्रशान्त महासागरमा विकसित यस आँधीको अधिकतम हावाको गति २९६ किलोमिटर प्रतिघण्टा पुगेको छ । यो गति पाँचौँ श्रेणीको शक्तिशाली आँधीको स्तरमा पर्छ ।

यसअघि पूर्वी प्रशान्त महासागरमा विकसित हरिकेन पोलो सन् २०२६ को सबैभन्दा शक्तिशाली उष्णकटिबन्धीय चक्रवात थियो । पोलोको अधिकतम निरन्तर हावाको गति २८५ किलोमिटर प्रतिघण्टा पुगेको थियो ।

तर वायुमण्डलीय चापका आधारमा भने पोलो चम्पीभन्दा शक्तिशाली देखिएको छ । पोलोको न्यूनतम हावाको चाप ८९२ मिलिबार मापन गरिएको थियो भने चम्पीको ८९५ छ । समुद्री सतहमा औसत हावाको चाप करिब १ हजार १३ मिलिबार हुन्छ ।

चम्पीले स्थानीय समयअनुसार आइतबार बिहान गुआम क्षेत्र पार गर्दा राडारमा यो निकै शक्तिशाली देखिएको थियो ।

किन शक्तिशाली बन्यो चम्पी ?

यो शक्तिशाली समुद्री आँधी अक्टोबर ११, २०२६ मा उष्णकटिबन्धीय न्यून चापीय प्रणालीका रूपमा विकसित भएको थियो । तर पछि समुद्रको न्यानो पानी र अनुकूल वायुमण्डलीय अवस्थाका कारण यो तीव्र हुँदै सुपर टाइफुनमा परिणत भएको हो ।

पश्चिमी प्रशान्त महासागरको उक्त क्षेत्रमा समुद्रको सतहको तापक्रम करिब ३० डिग्री सेल्सियस पुगेको छ । यो वर्षको यस समयको औसतभन्दा केही बढी हो । समुद्रको न्यानो सतहले आँधीलाई ऊर्जा उपलब्ध गराउन सहयोग गर्छ ।

त्यसैगरी, चम्पी आसपासको वायुमण्डलमा पर्याप्त आद्रता, कमजोर हावाको अवरोध र माथिल्लो वायुमण्डलमा अनुकूल अवस्था रहेकाले यसलाई तीव्र बन्न सहयोग पुगेको छ । आँधीको भित्री संरचना व्यवस्थित रहनु पनि यसको शक्ति कायम राख्ने महत्त्वपूर्ण कारण हो ।

ताइवानतर्फ अघि बढ्दै, कमजोर हुने अनुमान

चम्पी पश्चिमतर्फ अघि बढ्दै ताइपेईतर्फ जाने र त्यसपछि यसै साताको उत्तरार्धमा उत्तरपश्चिमतर्फ मोडिने अनुमान गरिएको छ ।

तर अघि बढ्ने क्रममा यसले कम अनुकूल वायुमण्डलीय अवस्था सामना गर्नुपर्ने भएकाले बिहीबार र शुक्रबारसम्म यसको शक्ति घटेर चौथो वा तेस्रो श्रेणीमा झर्ने पूर्वानुमान गरिएको छ ।

 विश्वका विभिन्न क्षेत्रको मौसम प्रणालीमा पनि प्रभाव पर्ने

चम्पीजस्तो शक्तिशाली आँधीको प्रभाव यसको आसपासको क्षेत्रमा मात्रै सीमित हुँदैन । यसले जेट स्ट्रिम अर्थात् माथिल्लो वायुमण्डलमा तीव्र गतिमा बहने हावाको प्रवाहमा समेत परिवर्तन ल्याउन सक्ने अनुमान छ । त्यसको असर विश्वका विभिन्न क्षेत्रको मौसम प्रणालीमा पर्न सक्छ ।

चम्पीको प्रभावले उत्तर अमेरिकाको मौसम प्रणालीमा समेत असर पार्ने अनुमान गरिएको छ ।

क्यानडाको ओन्टारियो र क्युबेक प्रान्तमा अक्टोबरको अन्त्यदेखि नोभेम्बरको सुरुसम्म मौसम परिवर्तनशील र अस्थिर बन्न सक्ने पूर्वानुमान छ । अर्को साताको मध्य र उत्तरार्धमा सुरु हुने यस्तो अवस्था त्यसपछिको सातासम्म पनि लम्बिन सक्छ ।

यी क्षेत्रमा सामान्यभन्दा न्यानो तापक्रमको प्रभाव कायम रहने अपेक्षा गरिए पनि बीचबीचमा मौसममा तीव्र परिवर्तन आउने सम्भावना छ ।

चम्पीको मार्ग, यसको शक्तिमा आउने परिवर्तन र जेट स्ट्रिममा पर्ने प्रभावले आगामी दिनमा क्यानडाको मौसमको स्वरूप निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?