News Summary
Generated by OK AI. Editorially reviewed.- डोल्पाको त्रिपुराकोटमा बाला त्रिपुरासुन्दरी मन्दिरको नवरात्र पूजा सम्पन्न भएपछि मात्रै दसैँको टीका–जमरा लगाउने परम्परा छ।
- स्थानीयले बिहानै देवीलाई टीका–जमरा चढाएर पूजा सहभागी भएपछि साँझदेखि घरघरमा टीकाटालो सुरु गर्ने गरेका छन्।
- त्रिपुराकोटमा परम्परा तोड्दा अनिष्ट हुने विश्वासले मन्दिरको पूजाविधि र देवीप्रतिको आस्थालाई निरन्तरता दिइएको छ।
४ कात्तिक, सुर्खेत । देशभर दसैंको टीका ज्योतिषीले निर्धारण गरेको शुभ साइतमा लगाउने चलन छ। तर, डोल्पाको त्रिपुराकोटमा भने दसैँको टीका–जमरा लगाउन आफ्नै साइत पर्खिने गरिन्छ। यहाँ बाला त्रिपुरासुन्दरी मन्दिरमा नवरात्रको पूजाआजा विधिपूर्वक सम्पन्न भएपछि मात्रै घरघरमा टीकाटालो सुरु हुन्छ।
देशभर बिहानै टीका लगाउने तयारी भइरहँदा त्रिपुराकोटवासी भने मन्दिरको पूजाआजा सकिने प्रतीक्षामा हुन्छन्। परापूर्वकालदेखि चल्दै आएको परम्पराअनुसार यहाँ मन्दिरको पूजाआजा सकेपछि मात्रै दसैँको टीका लगाउने चलन छ। मन्दिरमा पूजा नसकिँदासम्म टीका नलगाउने परम्पराले त्रिपुराकोटको दसैँलाई देशका अन्य ठाउँको भन्दा फरक बनाएको छ।
नेपालकै प्रसिद्ध शक्तिपीठमध्ये एक मानिने बाला त्रिपुरासुन्दरी मन्दिरमा औँसीदेखि सुरु हुने नवरात्रको पूजाआजा दशमीको दिनसम्म चल्छ। मन्दिरको पूजाविधि सम्पन्न गरेपछि मात्रै स्थानीयले घरमा टीका–जमरा लगाउन सुरु गर्ने गरेको पुजारी भानुचन्द्र उपाध्यायले बताए। ‘नेपालभर टीकाको एउटै साइत भए पनि त्रिपुराकोटमा भने आफ्नै साइतमा लगाइन्छ’, उनले भने, ‘त्रिपुराकोटवासीले मन्दिरमा नित्य पूजाआजाका लागि दशमीको दिन बिहानै प्रत्येक घरबाट जमरा र टीका चढाउन लैजाने गर्छन्।’
उनका अनुसार नवरात्र अवधिभर मन्दिरमा नियमित पूजाआजा गरिन्छ। दशमीका दिन पनि धार्मिक विधिअनुसार पूजा सम्पन्न गरेपछि मात्रै घरघरमा टीका लगाउने परम्परा छ। त्यसैले पञ्चाङ्गमा उल्लेख भएको शुभसाइतभन्दा यहाँ मन्दिरको पूजाविधि सम्पन्न हुने समयलाई महत्त्व दिइन्छ।
बिहानै देवीलाई टीका-जमरा चढाइन्छ
दसैँको दिन त्रिपुराकोटका स्थानीय बिहानै घरबाट जमरा र टीका लिएर बाला त्रिपुरासुन्दरी मन्दिर पुग्छन्। देवीलाई टीका–जमरा चढाएर पूजाआजामा सहभागी हुने उनीहरूको परम्परा छ।
नवरात्रभर पूजाआजाका लागि जिल्लाका विभिन्न गाउँबाट ब्राह्मण, पुजारी तथा भक्तजन मन्दिरमा आउने गर्छन्। दशमीका दिन मन्दिरमा पूजाआजा गर्न आएका ब्राह्मण र पुजारीले एकअर्कालाई टीका–जमरा लगाएर शुभकामना आदानप्रदान गर्छन्। त्यसपछि धार्मिक विधिअनुसार पूजा विसर्जन गरी देवीको पूजासम्बन्धी प्रक्रिया पूरा गरिन्छ।
मन्दिरको पूजाविधि साँझतिर मात्रै सम्पन्न हुने भएकाले स्थानीयले पनि त्यसपछि घरघरमा टीका लगाउन सुरु गर्छन्। ‘मन्दिरमा पूजा सकेपछि मात्रै यहाँ टीका लगाउने चलन छ,’ उपाध्यायले भने, ‘पूजाको विधि साँझ मात्रै सकिन्छ। त्यसपछि बल्ल यहाँ टीका सुरु हुन्छ।’
मन्दिरमा पूजा सकिएपछि देवीलाई मूल मन्दिरमा भित्र्याउने धार्मिक विधि पूरा गरेर मात्रै स्थानीयले टीका लगाउने गर्छन्। पुर्खाले चलाउँदै आएको धार्मिक विधि र देवीप्रतिको आस्थालाई निरन्तरता दिँदै आएको स्थानीय युवा रामचन्द्र न्यौपानेले बताए।
परम्परा तोड्दा अनिष्ट हुने विश्वास

त्रिपुराकोटमा टीका लगाउने चलन समयको फरक मात्रै होइन, देवीप्रतिको धार्मिक आस्था र पुस्तौंदेखि चल्दै आएको मान्यतासँग पनि जोडिएको छ। स्थानीयले देवीको पूजाआजा र धार्मिक विधि पूरा नगरी टीका लगाउनु हुँदैन भन्ने विश्वास राख्छन्।
त्रिपुराकोटमा न्यौपाने, देवकोटा, पाण्डे, विष्ट, कठायत, दमाई, कुलाल र सार्कीलगायत विभिन्न थरका मानिस बसोबास गर्छन्। उनीहरूले लामो समयदेखि आफ्नै परम्पराअनुसार दसैँ मनाउँदै आएका छन्।
मध्यरातसम्म चल्छ टीकाटालो
मन्दिरको पूजाआजा सम्पन्न भएपछि साँझदेखि सुरु हुने टीकाटालो रातिसम्म चल्ने गर्छ। परिवारका सदस्य र आफन्त एकै ठाउँमा भेला भएर ज्येष्ठ सदस्यको हातबाट टीका थाप्ने, जमरा लगाउने र आशीर्वाद लिने गरिन्छ।
ठूलो परिवारमा सबै सदस्य एकै ठाउँमा भेला हुन समय लाग्ने भएकाले कतिपय घरमा मध्यरातसम्म पनि टीकाटालो चल्ने गरेको छ। यसरी त्रिपुराकोटमा दसैँको टीका लगाउने समय मन्दिरको पूजाविधि र परिवारका सदस्यको जमघटसँग जोडिएको छ।
नेपालका अन्य ठाउँमा बिहानै टीका लगाएर आफन्तकहाँ जाने चलन रहे पनि त्रिपुराकोटमा भने साँझदेखि टीका सुरु हुने भएकाले स्थानीयको दसैँ मनाउने शैली फरक छ। मन्दिरको पूजाआजा सम्पन्न भएपछि मात्रै टीका लगाउने चलनले यहाँको धार्मिक परम्परालाई जीवित राखेको छ।
डोल्पाका अन्य ठाउँमा भने निर्धारित साइतमै टीका
त्रिपुराकोटबाहेक डोल्पाका दुनै, लिकु, पहाडा, रह, काइगाउँ, कालिका, जुफाल र माझफाललगायतका क्षेत्रमा भने ज्योतिष तथा पञ्चाङ्गअनुसार निर्धारण गरिएको शुभसाइतमै टीका–जमरा लगाउने गरिन्छ।
प्रतिक्रिया 4