News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ मौलोडाँडामा दसैँको महानवमीका दिन सेनकालीन निशान निकालेर पूजा गर्ने परम्परा पुस्तौँदेखि चल्दै आएको छ।
- निशान बोक्न इच्छुकले एक वर्षअघि नै बैना गर्नुपर्छ र महानवमीमा खाली खुट्टा यात्रा गरी सबै विधि पूरा गरेपछि मात्र खाना खान पाउने मान्यता छ।
- ऐतिहासिक विवरणअनुसार विसं १७१९ मा सेन शासकहरूले छथर क्षेत्रका लिम्बू नाइकेहरूलाई निशान, नगरा र सुवाङ्गी दिँदै प्रशासनिक अधिकार प्रदान गरेका थिए।
४ कात्तिक, तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ स्थित मौलोडाँडामा हरेक वर्ष दसैँको महानवमीका दिन सेनकालीन निशान निकालेर पूजा गर्ने परम्परा छ । पुस्तौँदेखि चल्दै आएको यो परम्परा धार्मिक आस्था र लिम्बू समुदायको सांस्कृतिक पहिचानसँगै पूर्वी नेपालको ऐतिहासिक राज्य व्यवस्था र प्रशासनिक अभ्याससँग पनि जोडिएको छ ।
यो परम्पराको रोचक पक्ष हो, निशान बोक्ने व्यक्तिले एक वर्षअघि नै बैना गर्नुपर्ने चलन । स्थानीय परम्पराअनुसार निशान बोक्न इच्छुक व्यक्तिले खजुम सुब्बासँग बैना पक्का गर्नुपर्छ । यसका लागि पहिले पाँच रुपैयाँ ५० पैसा र एक बोतल रक्सी राख्ने चलन रहेको स्थानीय दिलबहादुर लिम्बूले बताए ।
निशान बोक्ने व्यक्तिले महानवमीका दिन खाली खुट्टा यात्रा गर्नुपर्छ । पूजाका सम्पूर्ण विधि पूरा गरी निशानघरमा फर्काएपछि मात्रै खाना खान पाउने मान्यता रहेको उनले बताए ।
मौलोमा राँगाको बलि दिने व्यक्तिले पनि एक वर्षअघि नै बैना गरेर अनुमति लिनुपर्ने चलन छ । स्थानीय विश्वासअनुसार राँगालाई एउटै प्रहारमा छिनाउनुलाई सफलता र वीरताको प्रतीक मानिन्छ । राँगा काट्ने व्यक्तिलाई फूलमाला र अबिर लगाएर सम्मान गर्ने तथा पिङ खेलाउने परम्परासमेत रहेको आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय सल्लाहकार भैरव आङ्लाले बताए ।
स्थानीय परम्परा र ऐतिहासिक विवरणअनुसार विक्रम संवत् १७१९ तिर पूर्वी पहाडको ताङखुवाका लिम्बू–याक्थुङ नाइकेहरूलाई सेनवंशी राजा हरिश्चन्द्र सेन र वृष सेन (शुभ सेन) ले नगरा, निशान र सुवाङ्गी प्रदान गरेका थिए । त्यसबेला निशान र नगरा राजकीय मान्यता तथा अधिकारका प्रतीक थिए भने सुवाङ्गीले स्थानीय क्षेत्रमा प्रशासन सञ्चालन गर्ने अधिकार र जिम्मेवारी जनाउँथ्यो ।
धनकुटाको तत्कालीन ताङखुवा गाविस र हालको छथर जोरपाटी गाउँपालिकामा खजुम लिम्बू समुदायका पारघरी र चोङ्बाङ वंशसँग सम्बन्धित दुईवटा निशान छन् । महानवमीका दिन कोतघरबाट निकालिने निशानलाई करिब डेढ किलोमिटर टाढा रहेको मौलोडाँडासम्म पुर्याइन्छ । त्यहाँ परम्पराअनुसार मौलो काटेर पूजा गरेपछि निशानलाई पुनः निशानघरमा ल्याएर सुरक्षित राखिन्छ । पुराना हातहतियारसहित निशान निकाल्ने र मौलो काट्ने यो परम्परा स्थानीय इतिहास र संस्कृतिको विशिष्ट अभ्यासका रूपमा रहिआएको छ ।
छथर जोरपाटी गाउँपालिकाका पूर्वअध्यक्ष शेरबहादुर पारघरीका अनुसार छथरमा खजुम लिम्बूहरूको ऐतिहासिक राज्य रहेको मानिन्छ । सेन राजाहरूले खजुम राजाहरूलाई भाइचाराको सम्बन्धमा लिएको इतिहासलाई ऐतिहासिक सन्धि–सम्झौता र राजनीतिक सहकार्यका रूपमा समेत बुझ्न सकिने उनले बताए । छथरमा बसोबास गर्ने खजुम लिम्बूसहित विभिन्न जातजातिका मानिसले निशान पूजामा सहभागिता जनाउँदै आएका छन् ।
राजकीय मान्यता र प्रशासनिक अधिकारको प्रतीक
ऐतिहासिक विवरणअनुसार मकवानपुर तथा विजयपुर–मोरङ क्षेत्रमा सेन वंशको शासन विस्तार हुँदै गर्दा पहाडी किरात–लिम्बू समुदायका स्थानीय हाङ अर्थात् प्रमुख तथा नाइकेहरूसँग राजनीतिक सम्झौता र सहकार्य गर्ने नीति अपनाइएको थियो ।
यही क्रममा विसं १७१९ पुस सुदी ४ मा विजयपुर–मोरङका सेन शासक हरिश्चन्द्र सेन र वृष सेनले पूर्वी पहाडका स्थानीय किरात–लिम्बू अगुवालाई मान्यता दिँदै रुक्का वा राजकीय कागजात जारी गरेको विवरण पाइन्छ । उक्त विवरणमा हालको तेह्रथुम र धनकुटाका भूभाग समेटिने छथर क्षेत्रका खजुम वा खेजिम लिम्बूका पुर्खा तथा अन्य स्थानीय सुब्बाहरूलाई निशान, नगरा र प्रशासनिक अधिकार प्रदान गरिएको उल्लेख छ ।
निशान र नगरा प्राप्त गर्नु धार्मिक सामग्री पाउनुमा मात्रै सीमित थिएन । ती राजकीय मान्यता र स्थानीय नेतृत्वको अधिकारसँग जोडिएका प्रतीक थिए । सुवाङ्गीअन्तर्गत स्थानीय प्रमुखहरूले आफ्नो थुममा न्याय–निसाफ गर्ने, कर असुल गर्ने र प्रशासन सञ्चालन गर्ने अधिकार पाएको ऐतिहासिक व्याख्या छ । युद्ध वा विशेष राजकीय समारोहमा निशान प्रदर्शन गरेर आफ्नो थुमको पहिचान र प्रभुत्व देखाउने प्रचलनसमेत रहेको बताइन्छ ।
इतिहास तथा संस्कृतिका अध्येता डा. कमल तिगेलाका अनुसार लिम्बू समुदायको प्राचीन इतिहासमा राज्य व्यवस्था र सैन्य संगठनको अस्तित्व बुझ्न निशानलाई महत्त्वपूर्ण ऐतिहासिक आधारका रूपमा लिन सकिन्छ । उनका अनुसार थिवोङ याक्थुङ कालदेखि नै लिम्बूहरू लडाकु समुदायका रूपमा परिचित थिए ।
नेपाल राज्य एकीकरण हुनुअघिको राजनीतिक इतिहाससँग जोडेर हेर्दा पनि निशानको महत्त्व विशेष रहेको उनको तर्क छ । सेन शासनकालभन्दा अगाडिदेखि नै लिम्बू समुदायमा निशानको परम्परा रहेको दाबी गर्दै तिगेलाले निशानलाई धार्मिक अनुष्ठानमा प्रयोग हुने वस्तुका रूपमा मात्रै हेर्न नहुने बताए ।
विसं १७१९ मा सेन शासकहरूले छथर क्षेत्रका लिम्बू नाइकेहरूलाई निशान, नगरा र सुवाङ्गी दिएको घटनाको ऐतिहासिक आधारका रूपमा रुक्का तथा अन्य पुराना कागजातलाई लिने गरिएको छ । ऐतिहासिक विवरणमा मोरङ–विजयपुरबाट हरिश्चन्द्र सेन र वृष सेनले जारी गरेको पत्र वा स्याहामोहरमा छथर क्षेत्रका लिम्बू नाइकेहरूलाई भूभाग, अधिकार र निशान प्रदान गरिएको उल्लेख रहेको बताइन्छ ।
छथर क्षेत्रका खजुम लिम्बू समुदायका घर–घराना र गाउँमा पुराना नगरा तथा निशान पुस्तान्तरण हुँदै आएको स्थानीय वंशावली र अभिलेखमा उल्लेख छ । लिम्बूवान इतिहासका अध्येता इमानसिंह चेम्जोङ र अर्जुनबाबु माबुहाङलगायतले पनि आफ्ना अध्ययन तथा पुस्तकमा सेन–लिम्बू सम्बन्ध र निशान प्रदान गरिएको विषयलाई ऐतिहासिक सन्दर्भमा प्रस्तुत गरेका छन् ।
१२ जना जिम्मावालको भूमिका
छथर ताङखुवाको मौलोडाँडामा हुने निशान पूजामा लिम्बू भाषामा रहेको मालसिरी पनि महत्त्वपूर्ण पक्ष मानिन्छ । खजुम सुब्बाले पूजाको नेतृत्व गर्ने र सम्बन्धित समुदायले परम्परागत जिम्मेवारी निर्वाह गर्दै आएका छन् । निशान यात्राका क्रममा त्यसको ध्वजा फर्फराउनुलाई शुभ सङ्केतका रूपमा लिने र नफर्फराउँदा अशुभ हुन सक्ने विश्वास स्थानीय समुदायमा छ ।
निशान पूजाको सञ्चालनमा पारघरी र चोङ्बाङ वंशका जिम्मावालहरूको महत्त्वपूर्ण भूमिका छ । स्थानीय परम्पराअनुसार पारघरीका आठ र चोङ्बाङका चार गरी १२ जना जिम्मावाल छन् । पारघरीतर्फ चार पटक र चोङ्बाङतर्फ पाँच वर्षमा एक पटक पालो आउने गरेको स्थानीय विवरण छ ।
खजुम लिम्बू समुदायभित्र पारघरी, चोङ्बाङ, लेक्वा, कुरुम्भङ र वायाङ खजुम रहेका छन् । यी वंश तथा समुदायसँग जोडिएका परम्परागत जिम्मेवारीले निशान पूजाको निरन्तरता कायम राख्न सहयोग गरेको छ ।
पूर्वी नेपालका विभिन्न क्षेत्रमा निशान पूजा र मौलो काट्ने परम्परा प्रचलित छ । धनकुटाको छथर जोरपाटीस्थित ताङखुवा तथा तेह्रथुमको छथर क्षेत्रका वासिका, सुदाप र ओख्रेलगायत स्थानमा पनि विभिन्न वंश र समुदायसँग सम्बन्धित निशान रहेको विवरण पाइन्छ । ठाउँअनुसार पूजा गर्ने विधि र परम्परामा भिन्नता देखिन्छ ।
धार्मिक आस्थाका रूपमा निरन्तरता पाउँदै आएको मौलोडाँडाको निशान पूजाले पुर्खाको इतिहास, स्थानीय शासन व्यवस्था, सामुदायिक सम्बन्ध र लिम्बू समुदायको सांस्कृतिक पहिचानलाई समेत जोड्दै आएको छ ।
प्रतिक्रिया 4