News Summary
Generated by OK AI. Editorially reviewed.- नायिका तथा निर्मात्री श्यामा श्री शेर्पाको चलचित्र ‘तारा–द लस्ट स्टार’ को बेलायत प्रिमियर अल्डरसटको एम्पायर ब्याङ्क्वेटिङ हलमा सम्पन्न भएको छ।
- प्रिमियर शोमा रसमर बरो काउन्सिलकी डेपुटी लिडर सोफी पोर्टर, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङसहित विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सहभागी भएका थिए।
- श्यामा श्री शेर्पाले प्रिमियर सफल बनाउन सहयोग गर्ने आयोजक, तमु धीं यूकेका पदाधिकारी र दर्शकलाई धन्यवाद दिँदै सिक्किम फर्किएकी छन्।
लन्डन । ‘तारा–द लस्ट स्टार’ को बेलायत प्रिमियर सकेर नायिका श्यामा श्री शेर्पा सिक्किम फर्किएकी छन् ।
‘तारा–द लस्ट स्टार’ की नायिका तथा निर्मात्री श्यामाले गत १८ अक्टोबर, आइतबार अल्डरसटस्थित एम्पायर ब्याङ्क्वेटिङ हलमा आयोजित प्रिमियर शोमा दर्शकको उल्लेख्य माया पाइन् ।
सन् २०२४ मा कान्स चलचित्र महोत्सवको ‘मार्शे दु फिल्म’ मा समेत प्रस्तुत उक्त चलचित्रले सिक्किमका नेपालीभाषी समुदायको संस्कृति, परम्परा र बदलिँदो यथार्थलाई उजागर गरेको छ ।
उक्त प्रिमियर शोको संयोजन तथा आयोजना काउन्सिलर धन सार्कीले गरेका थिए । ‘यो प्रदर्शन सिक्किमका कथा र सांस्कृतिक सम्पदालाई बेलायतमा बसोबास गर्ने नेपाली समुदाय तथा आम दर्शकहरूसँग साटासाट गर्ने एउटा विशेष अवसर बन्यो’, काउन्सिलर सार्कीले सुनाए ।
रसमर बरो काउन्सिलकी डेपुटी लिडर सोफी पोर्टर प्रमुख अतिथि रहेको उक्त प्रिमियरमा विशेष अतिथि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, काउन्सिलरहरू बिल ओ’डोनोभन, फौजिया खान, स्टेफेन मास्टरसन र धनबहादुर सार्कीसहित तमु धीं यूके आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ तथा बेलायतस्थित विभिन्न सङ्घसंस्थाका अध्यक्ष र प्रतिनिधिहरू सहभागी थिए ।
कार्यक्रममा प्रमुख अतिथि पोर्टर र विशेष अतिथि गुरुङले शुभकामना दिँदै नायिका शेर्पाको थप प्रगतिको कामना गरे ।
कार्यक्रमकी सभापति निर्मात्री तथा नायिका शेर्पाले प्रिमियर सफल बनाउन सहयोग गर्ने आयोजक धनबहादुर सार्की, तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङसहित दर्शक तथा शुभचिन्तकहरूलाई धन्यवाद दिइन् ।
प्रिमियरअघि भएको औपचारिक कार्यक्रमको सञ्चालन काउन्सिलर धन सार्कीले गरेका थिए ।
श्यामा श्री शेर्पा भारतको सिक्किमस्थित सिङतामकी अभिनेत्री, लेखिका तथा चलचित्र निर्मात्री हुन् । ‘सादा प्रोडक्सन्स्’ की संस्थापक श्यामाको पृष्ठभूमि पत्रकारिता र आमसञ्चार हो ।
मुम्बईमा अभिनयसम्बन्धी प्रशिक्षण लिएपछि ‘जय मेहता प्रोडक्सन्स्’ द्वारा निर्मित हिन्दी धारावाहिकमा मुख्य भूमिका निर्वाह गरेकी उनले भारतीय टेलिभिजनका विभिन्न परियोजनामा समेत काम गरेकी छन् । टेलिभिजन विज्ञापन तथा अन्य सिर्जनात्मक काममा समेत उनी संलग्न भइन् ।
उनले आफ्नो पहिलो नेपाली चलचित्र ‘माइतीघर’ का लागि काठमाडौँमा आयोजित तेस्रो ‘इन्फा’ अवार्ड्समा ‘सर्वोत्कृष्ट डेब्यु अभिनेत्री’ को पुरस्कार प्राप्त गरेकी थिइन् । आफ्ना सिर्जनामार्फत उनी सिक्किमका कथाहरूलाई अझ बृहत् रूपमा दर्शकमाझ पुर्याउनुका साथै आफ्नो समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण गर्न चाहन्छिन् ।
श्यामा गत २७ सेप्टेम्बरमा अल्डरसटमा आयोजित दोस्रो नेपाल आदिवासी चलचित्र महोत्सवमा समेत सहभागी भएकी थिइन् ।
प्रतिक्रिया 4