५ कात्तिक, सुर्खेत । भारी हिमपातका कारण अवरुद्ध डोल्पा र मुस्ताङको सीमावर्ती भेरल पासमा स्थानीयले आफ्नै खर्चमा हिउँ पन्छाउन थालेका छन्।
सडक अवरुद्ध हुँदा उपल्लो डोल्पाका बासिन्दालाई दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएपछि स्थानीय व्यापारी तथा गाउँलेले रकम संकलन गरेर डोजर परिचालन गरेका हुन्।
समुद्री सतहबाट करिब ५ हजार ३०० मिटर उचाइमा रहेको भेरल पासमा बिहीबारदेखि हिउँ पन्छाउने काम सुरु भएको पर्यटन व्यवसायी सुबणकुमार डाँगीले जानकारी दिए। उनका अनुसार १५ जनाले रकम उठाएर डोजर पठाएपछि सडक खुलाउने काम अघि बढेको हो।
चीनतर्फको नाका खुल्ने टुंगो नभएकाले हिउँ पन्छाएर भए पनि मुस्ताङ हुँदै उपल्लो डोल्पामा आवश्यक सामग्री पु¥याउने उद्देश्यले सडक खुलाउन लागिएको डाँगीले बताए। ‘हिमपातका कारण बाटो बन्द भएपछि गाउँमा आवश्यक सामग्री पुर्याउन समस्या हुन्छ। त्यसैले व्यापारी र गाउँले मिलेर पैसा उठाई डोजर पठाएका हौँ,’ डाँगीले भने।
तीन पालिकाका नागरिकलाई सहज हुने मार्ग
डोल्पाको छार्काभोटबाट मुलुमसुत्दा हुँदै मुस्ताङको भेरल पास पुग्ने यो मार्ग उपल्लो डोल्पाका बासिन्दाका लागि महत्त्वपूर्ण छ। यसले छार्का ताङसोङ, डोल्पोबुद्ध र शे–फोक्सुण्डो गाउँपालिकाका नागरिकलाई मुस्ताङसँग जोड्छ। यही मार्ग हुँदै म्याग्दी र बागलुङ भएर पोखरासम्म आवतजावत गर्न सकिन्छ।
स्थानीयका अनुसार छार्काभोटबाट मुलुमसुत्दा हुँदै मुस्ताङको भेरल पास पुग्न करिब तीन दिन लाग्छ। हिमाली भूभागमा रहेको यो सडकले उपल्लो डोल्पाका बासिन्दालाई जिल्लाको सदरमुकाम दुनै हुँदै लामो यात्रा गर्नुपर्ने अवस्थालाई सहज बनाउन सहयोग पु¥याउँछ।
हिउँले रोकियो अत्यावश्यक सामग्रीको ढुवानी
हिमपातका कारण सडक अवरुद्ध हुँदा खाद्यान्न, नुनतेललगायत दैनिक उपभोग्य सामग्री ढुवानी प्रभावित हुने गरेको छ। चिसो बढ्दै जाने समयमा सडक बन्द हुँदा दुर्गम बस्तीका नागरिकले थप कठिनाइ भोग्नुपर्ने अवस्था छ। त्यसैले स्थानीयले सडक खुलाउन थालेको प्रयासलाई आवागमन सहज बनाउने कामका रूपमा मात्र नभई अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउने पहलका रूपमा हेरिएको छ।
भेरल पाससँगै करिब ४ हजार ५०० मिटर उचाइमा रहेको मुलुमसुत्दा क्षेत्रमा पनि हिउँ सफा गर्ने काम अघि बढेको डाँगीले बताए।
डोजर सञ्चालनका लागि डिजेल सहयोगको माग
उनले छार्का ताङसोङ गाउँपालिकाले आफ्नै डोजर सञ्चालन गरी सडक खुलाउन पहल गर्नुपर्ने र त्यसका लागि आवश्यक डिजेल सम्बन्धित निकाय तथा सरोकारवालाले उपलब्ध गराउनुपर्ने बताए।
‘उपल्लो डोल्पा भौगोलिक रूपमा टाढा होला, तर यहाँका नागरिक राज्यका लागि टाढा हुनुहुँदैन। विकासको पहुँच दुर्गम बस्तीसम्म पुग्नुपर्छ,’ डाँगीले भने।
स्थानीयको पहलमा हिउँ पन्छाउने काम सुरु भए पनि सडक पूर्ण रूपमा सञ्चालनमा आउन बाँकी छ। उच्च हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुन सक्ने भएकाले हिउँ हटाउने र सडक सञ्चालन गर्ने काम चुनौतीपूर्ण छ।
प्रतिक्रिया 4