News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी बाढीमा कागजात हराएका प्रभावितलाई काठमाडौंका होल्डिङ सेन्टरबाट नागरिकताको प्रतिलिपि वितरण सुरू गरिएको छ।
- जिल्ला प्रशासन कार्यालय रसुवा र गोसाइँकुण्ड गाउँपालिकाको समन्वयमा आवेदन सङ्कलन, प्रमाणीकरण, प्रिन्ट र हस्तान्तरणको व्यवस्था मिलाइएको छ।
- नुवाकोटको होल्डिङ सेन्टरमा रहेका बाढीपीडितका लागि पनि प्रमुख जिल्ला अधिकारीसहितको टोलीले आवश्यक कागजात मिलाएर प्रतिलिपि उपलब्ध गराउने व्यवस्था गरेको छ।
६ कात्तिक, रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण महत्त्वपूर्ण कागजात गुमाएका रसुवाका बाढी प्रभावितलाई काठमाडौंस्थित होल्डिङ सेन्टरहरूबाटै नागरिकताको प्रतिलिपि वितरण गर्ने प्रक्रिया सुरु गरिएको छ ।
गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको थियो । बाढीका क्रममा सर्वसाधारणका महत्त्वपूर्ण कागजात तथा नागरिकतासमेत हराएका वा नष्ट भएका थिए ।
नागरिकता नहुँदा राहत, पुन:स्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक कार्यमा ढिलाइ नहोस् भन्ने उद्देश्यले काठमाडौँमा रहेका सम्बन्धित होल्डिङ सेन्टरहरूमा पुगेर प्रत्यक्ष सेवा दिन थालिएको हो । जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वय तथा गोसाइँकुण्ड गाउँपालिकाको विशेष पहलमा यो सेवा सुरु गरिएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिए ।
नागरिकहरूलाई सहज सेवा दिन होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपिको आवेदन फाराम सङ्कलन गर्ने, जिल्ला प्रशासन कार्यालय रसुवामा ल्याएर प्रमाणीकरण गर्ने, नागरिकता प्रिन्ट गर्ने र पुन: होल्डिङ सेन्टरमै लगेर हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको अध्यक्ष तामाङले बताए ।
गाउँपालिकाका अनुसार पहिलो चरणमा नागरिकताको प्रतिलिपि वितरणलाई तीव्रता दिइएको छ भने प्रभावितहरूको आवश्यकतालाई ध्यानमा राख्दै अन्य आवश्यक प्रशासनिक सेवाहरू पनि क्रमश: उपलब्ध गराउँदै लगिनेछ ।
यसै गरी, नुवाकोटस्थित होल्डिङ सेन्टरमा रहेका बाढी पीडितहरूका लागि आइतबार रसुवाका प्रमुख जिल्ला अधिकारी सहितको टोली त्यसतर्फ गई टोलीले पीडितहरूको अनुसूची टिपोट गर्ने तथा आवश्यक कागजातहरू मिलाएर नागरिकताको प्रतिलिपि उक्त ठाउँमा नै गराउने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए । रासस
प्रतिक्रिया 4