News Summary
Generated by OK AI. Editorially reviewed.- कतारमा नोभेम्बर १९ देखि २९ सम्म हुने राइजिङ स्टार्स एसिया कपमा नेपाल समूह ‘बी’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँग परेको छ।
- नेपालले समूह चरणमा नोभेम्बर २० मा भारत ‘ए’, २२ मा यूएई र २४ मा पाकिस्तान ‘ए’ सँग खेल्नेछ।
- प्रतियोगिताको तालिका नेपाल प्रिमियर लिगसँग जुधेकाले नेपालले कुन टोली पठाउने भन्ने केही दिनमा तय हुने छ।
७ कात्तिक, काठमाडौं । कतारमा नोभेम्बर १९ देखि २९ सम्म हुने राइजिङ स्टार्स एसिया कपमा नेपाल भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँगै समूह ‘बी’ मा परेको छ।
समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन्। प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले ‘ए’ टोली खेलाउनेछन् भने नेपाल, यूएई र हङकङले राष्ट्रिय सिनियर टोली उतार्न सक्नेछन्।
नेपालले समूह चरणको पहिलो खेल नोभेम्बर २० मा भारत ‘ए’ सँग खेल्नेछ। त्यसपछि नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ।
दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल नोभेम्बर २९ मा हुनेछ।
राइजिङ स्टार्स एसिया कपको तालिका एनपीएलसँग पनि जुधेको छ। नेपाल प्रिमियर लिग नोभेम्बर २१ अर्थात् मंसिर ५ गतेसम्म चल्नेछ। नेपालले भारत ‘ए’ सँग खेल्ने दिन एनपीएल जारी रहनेछ।
त्यसकारण नेपालले प्रतियोगिताका लागि कुन टोली घोषणा गर्छ त्यो भने केही दिनमा थाहा हुनेछ ।
नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेर राइजिङ स्टार्स एसिया कप र एसिया कप दुवैका लागि छनोट भएको थियो ।
प्रिमियर कपमा दोस्रो र तेस्रो भएका यूएई र हङकङ पनि राइजिङ स्टार्स एसिया कपमा छनोट भएका थिए।
प्रतिक्रिया 4