News Summary
Generated by OK AI. Editorially reviewed.- तिलोत्तमा–८ का छमबहादुर खत्री ६७ वर्षको उमेरमा पनि गाईपालन र २५ कठ्ठा खेतको खेतीपातीमा दिनको १२ देखि १४ घण्टा श्रम गर्छन् ।
- भारतीय सेनाबाट २००४ मा अवकाश पाएका खत्रीले उच्च रक्तचापपछि चिकित्सकको सल्लाहअनुसार सक्रिय जीवनशैली अपनाएका छन् र २९ वर्षदेखि औषधि खाँदै आएका छन् ।
- खत्रीका छोरा दक्षिण कोरियामा कम्प्युटर इन्जिनियर छन्, दुई छोरीको अध्ययन पनि पूरा भएको छ, र उनले विकल्प डेरीको अध्यक्षसहित सामाजिक जिम्मेवारी पनि सम्हालेका छन् ।
९ कात्तिक, तिलोत्तमा (रुपन्देही) । बिहानको उज्यालो फैलिन नपाउँदै तिलोत्तमा नगरपालिका–८, दीपनगरका छमबहादुर खत्रीको दिन गाईको स्याहारसुसारबाट सुरु हुन्छ । दाना–घाँस खुवाउने, दूध दुहुने र डेरीसम्म पुर्याउने काम सकिएपछि उनी खेततिर लाग्छन् । २५ कठ्ठा जमिनमा खेतीपाती गर्नु उनको अर्को दैनिकी हो ।
उमेरले ६७ वर्ष पुगेका छमबहादुर दिनमा १२ देखि १४ घण्टासम्म श्रम गर्छन् । अहिले उनको गोठमा तीनवटा जर्सी गाई छन् । उमेरले सात दशक छुन लाग्दा पनि उनको दिनचर्या भने धेरै युवाको भन्दा कम व्यस्त छैन ।
छमबहादुरले यसरी काम गर्नु जीविकोपार्जनको बाध्यता होइन । भारतीय सेनाबाट अवकाश पाएका उनी मासिक ६० हजार रुपैयाँ पेन्सन बुझ्छन् । दक्षिण कोरियामा कम्प्युटर इन्जिनियरका रूपमा कार्यरत छोराको कमाइ पनि राम्रो छ । आफ्नै कमाइबाट उनले पक्की घर, २५ कठ्ठा खेत, ५० लाख रुपैयाँभन्दा बढी मूल्यको कार र स्कुटरलगायत सम्पत्ति जोडेका छन् । उनको खेतको मूल्य नै करोडौं पर्छ ।
यति हुँदाहुँदै पनि उनी दिनभर घरमा बसेर आराम गर्न चाहँदैनन् । बरु गोठ र खेतमा पसिना बगाउनुलाई नै स्वस्थ र अर्थपूर्ण जीवनको आधार मान्छन् ।
‘मैले पैसा नपुगेर काम गरेको होइन,’ उनी भन्छन्, ‘पेन्सन छ, सम्पत्ति छ भन्दैमा चोकचौतारामा गफ चुटेर, खाएर–पिएर दिन बिताउनुभन्दा काम गर्दा म स्वस्थ छु । गाईपालनबाट मासिक ४०–४५ हजार रुपैयाँ आम्दानी पनि गरेको छु ।’
उनका अनुसार काम गर्नु बाध्यता मात्र होइन, शरीर र मनलाई सक्रिय राख्ने माध्यम पनि हो ।
एउटा चिकित्सकको सल्लाह, जीवनभरको अभ्यास
छमबहादुरको सक्रिय जीवनशैलीको पछाडि एउटा पुरानो घटना छ । भारतीय सेनामा कार्यरत रहँदा उनी ३५ वर्षको उमेरमा उच्च रक्तचापको समस्याबाट पीडित भए । गाउँघरमा हुर्किएका उनलाई रक्तचापबारे त्यतिबेला खासै जानकारी थिएन । पल्टनमै रक्तचाप बढेर ढलेपछि उनी निकै डराए ।
आफ्नो स्वास्थ्यभन्दा उनलाई परिवारको भविष्यको चिन्ता बढी थियो । श्रीमती र छोराछोरी सानै थिए । आफूलाई केही भइहाले उनीहरूको जीवन कसरी चलाउने भन्ने प्रश्नले उनलाई सताउन थाल्यो ।
‘त्यतिबेला मलाई आफ्नो स्वास्थ्यभन्दा परिवारको भविष्यको चिन्ता बढी लाग्यो । श्रीमती र छोराछोरी सानै थिए । आफूलाई केही भइहाले परिवार कसरी चलाउने, छोराछोरीलाई कसरी हुर्काउने र पढाउने भन्ने प्रश्नले सताउन थाल्यो,’ उनी विगत सम्झन्छन् ।
परिवारको भविष्य सम्झेर उनले सेनाबाट अवकाश लिएर घर फर्किने निर्णय गरे । यद्यपि उनी अझै केही वर्ष सेनामा सेवा गर्न सक्ने अवस्थामा थिए ।
त्यही कठिन समयमा पल्टनका एक सैनिक चिकित्सकले उनलाई दिएको सल्लाह जीवनको मार्गदर्शन बन्यो । चिकित्सकले स्वास्थ्य समस्यालाई लिएर अत्यधिक चिन्ता नगर्न, शरीरलाई निष्क्रिय नराख्न र नियमित शारीरिक गतिविधिमा संलग्न भइरहन सुझाएका थिए ।
छमबहादुरले त्यही सल्लाहलाई आफ्नो जीवनशैलीमा उतारे । अवकाशपछि खेतीपाती र गाईपालनमा सक्रिय रहे । त्यसयता श्रम उनको दैनिकीको अभिन्न हिस्सा बनेको छ ।
२९ वर्षदेखि औषधि, श्रमप्रतिको उत्साह उस्तै
उच्च रक्तचापको समस्या देखिएपछि छमबहादुरले दैनिक औषधि सेवन गर्न थाले । अहिले २९ वर्ष बितिसक्दा पनि उनी नियमित रूपमा औषधि लिइरहेका छन् । उनका अनुसार चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्दै आएका छन् र हालसम्म औषधिको मात्रा बढाउनुपर्ने अवस्था आएको छैन ।
तर उनी आफ्नो स्वास्थ्यको आधार कामलाई मात्र मान्दैनन् । चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने र सक्रिय जीवन बिताउने अभ्यासलाई निरन्तरता दिँदै आएका छन् ।
उमेर बढ्दैमा मानिस निष्क्रिय हुनुपर्छ भन्ने मान्यता उनलाई स्वीकार्य छैन । शरीरले साथ दिँदासम्म आफूले सक्ने काम आफैँ गर्ने उनको अठोट छ ।
उनका लागि गाईपालन आम्दानीको स्रोत मात्र होइन, दिनचर्यालाई व्यवस्थित बनाउने माध्यम पनि हो । २५ कठ्ठा जमिनमा हुने खेतीपातीले गाईका लागि आवश्यक घाँस व्यवस्थापनमा समेत सहयोग पुर्याउँछ ।
सुरुमा उनले ६–७ वटासम्म गाईभैंसी पालेका थिए । पछिल्ला वर्षमा उमेर र व्यवस्थापनलाई ध्यान दिँदै संख्या घटाएर तीनवटामा सीमित गरेका छन् । गाईपालनमा श्रीमतीको पनि साथ छ ।
उनको अनुभवमा श्रमले मानिसलाई व्यस्त मात्र राख्दैन, आफूलाई उपयोगी महसुस गराउन पनि मद्दत गर्छ । त्यसैले आर्थिक सम्पन्नतालाई निष्क्रिय जीवन बिताउने कारण बनाउनुको सट्टा सक्रिय रहने अवसरका रूपमा उपयोग गर्नुपर्ने उनको मान्यता छ ।

आफूले धेरै पढ्न पाएनन्, सन्तानलाई पढाए
बागलुङको गलकोटमा जन्मिएका छमबहादुर १७ वर्षको उमेरमा भारतीय सेनामा भर्ती भएका थिए । उनले सन् २००४ मा सेनाबाट अवकाश लिए । औपचारिक रूपमा उनको अध्ययन आठ कक्षासम्म मात्र भयो ।
तर शिक्षाको महत्त्व राम्ररी बुझेका उनले आफ्ना सन्तानलाई उनीहरूको इच्छाअनुसार पढाए । उनका छोरा भलबारीस्थित लुम्बिनी इन्जिनियरिङ कलेजबाट बीई अध्ययन पूरा गरी दक्षिण कोरियामा कम्प्युटर इन्जिनियरका रूपमा कार्यरत छन् ।
दुई छोरीमध्ये एकले बुटवलको लिट्स कलेजमा सीएमए अध्ययन गरेकी छन् भने अर्कीले कक्षा १० सम्म पढेकी छन् ।
आफूले सीमित अवसर पाए पनि सन्तानको भविष्यका लागि गरेको मिहिनेतले उनलाई सन्तुष्टि दिएको छ । छोराको कमाइ र आफ्नो पेन्सनले परिवारको आर्थिक अवस्था सहज बनाएको छ । त्यसैले अहिले उनले काम गर्नुपर्ने कुनै बाध्यता छैन ।
तर उनको जीवनको प्राथमिकता आर्थिक आवश्यकतामा मात्र सीमित छैन । आफूले सक्ने काम आफैँ गर्ने र श्रमप्रति सम्मान कायम राख्ने बानीलाई उनले निरन्तरता दिएका छन् ।
गोठ र खेतबाहिर पनि सक्रिय
छमबहादुरको सक्रियता घर, खेत र गोठमा मात्र सीमित छैन । उनी सामाजिक गतिविधिमा पनि संलग्न रहँदै आएका छन् ।
उनले विकल्प डेरीको अध्यक्षका रूपमा करिब १० वर्ष काम गरे । दीपज्योति मार्गको उपाध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरेका उनले विभिन्न सहकारी संस्थामा काम गरेको अनुभव बटुलेका छन् ।
उनको कर्मशील जीवनशैलीबाट प्रभावित हुनेहरू पनि उत्तिकै छन् । देवदह नगरपालिकाका पूर्वमेयर हिराबहादुर खत्री छमबहादुरको मेहनतबाट आफूले पनि प्रेरणा लिएको बताउँछन् । उनी आफैँ पनि दुग्ध व्यवसायमा सक्रिय छन् ।
‘हामी सबैले उहाँले जस्तै मिहिनेत गर्ने हो भने मात्रै देश कम्तीमा कृषिमा आत्मनिर्भर बन्न सक्छ । उहाँको कर्मशील जीवन हामी सबैका लागि प्रेरणा हो,’ खत्री भन्छन्, ‘उहाँको जीवनको सबैभन्दा सकारात्मक पक्ष भनेको सम्पन्नताका बीच पनि स्वास्थ्यप्रतिको सचेतना र श्रमप्रतिको सम्मान हो ।’
छमबहादुरका छिमेकी दामोदर घिमिरे पनि उनको मिहिनेत र सरल जीवनशैलीलाई अनुकरणीय मान्छन् ।
‘उहाँ साँच्चिकै मिहिनेतको पर्याय हो,’ घिमिरे भन्छन्, ‘उहाँको कर्मशील जीवनशैलीलाई चिन्न र सम्मान गर्न सक्नुपर्छ ।’
प्रतिक्रिया 4